आँखा स्वास्थ्यका क्षेत्रमा भएका नयाँ प्रविधिको विकास र उपचारका विषयमा जानकारी दिन काठमाडौंमा १४ औं सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन हुने भएको छ।
सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलन आगामी बिहिबारदेखि आइतबारसम्म चल्ने छ। सम्मेलनमा नेपाल र सार्क क्षेत्रका देश सहित अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चिन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायतका देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनका बारेमा जानकारी दिन आज तिलगंगा अस्पतालमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार सम्मेलनमा ६०० जनाको सहभागिता रहने छ। सम्मेलनमा आँखाका विभिन्न विधा जस्तै पेडियाट्रिक अफ्थाल्मोलोजी (बाल आँखा रोग तथा डेढो आँखा), कर्निया (आँखाको नानी), क्याट्र्याक्ट (मोतीविन्दु), रिफ्र्याक्टिभ सर्जरी, युभिया, न्यूरो अफ्थाल्मोलोजी (आँखाको नशा), रेटिना (आँखाको पर्दा), ग्लोकमा (जलविन्दु), अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक), एडभोकेसी, अस्पताल प्रशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल गरिनेछ ।
यसका साथै नेपाल मात्र नभई सार्क क्षेत्रमा नै आँखा स्वास्थ्य सेवामा अमूल्य योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। यस्तो सम्मेलन हरेक दुई वर्षमा एक पटक हुँदै आइरहेको छ। अहिलेसम्म नेपालमा २ पटक सन् १९९१ मा र सन् १९९९ मा काठमाडौंमा सम्मेलन भएको छ। यसपटकको सम्मेलन याक एण्ड यति होटलमा हुँदैछ।
सिमारहित दृष्टि विषय आधारित सम्मेलनमा २० औं नेपाल अफ्थाल्मिक सोसाइटीको वार्षिक वैठक समेत हुने आयोजक समितिका अध्यक्ष प्रा.डा.सुमन थापाले जानकारी दिए। उनका अनुसार सार्कका देशहरु (नेपाल, भारत, पाकिस्तान, अफ्गानिस्तान, बगंलादेश, माल्दिभ्स, भुटान र श्रीलंका) मा आँखाको समस्याहरु एकै खालको हुन्छ । भौगोलिक, आर्थिक, वातावरणीय हिसाबले पनि प्राय एकै हुनाले आँखाको समस्या एकै खालको देखिने गरेको छ । सार्क लगायत विश्वका अन्य विभिन्न देशबाट आएका नेत्रचिकित्सक, मध्यमस्तीय आँखा स्वास्थ्यकर्मी लगायत अन्यद्धारा आँखा स्वास्थ्य सम्बन्धी अनुसन्धान, सार्कमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिको आविष्कार, आँखामा हुने दुर्लभ रोग, अन्धोपन न्यूनिकरण र आँखामा हुने विभिन्न प्रकारको रोगहरुलाई उपचार तथा निर्मूल लगायतका विषयमा अनुभव आदानप्रदान हुने उनले जानकारी दिए।
सम्मेलनका साइन्टीफिक कमिटिका सचिव डा इली प्रधानका अनुसार आँखा स्वास्थ्यसँगै शिक्षा, आर्थिक, सामाजिक र भौगोलि विकटता रहेको यी देशहरुमा सर्वसुलभ ढंगबाट बिरामीहरुलाई आँखाको उपचार विधि अपनाउने विषयमा पनि बृहत छलफल हुनेछ। इसका साथै बदलिदों वायु प्रदुषण, वायुमण्डलको प्रभाव, मानिसहरुको बदलिदो जिवनशैली र त्यसले आँखा स्वास्थ्यमा पार्ने असर, बढ्दो स्मार्ट ग्याजेट÷मोबाइल बाट आउनसक्ने समस्याका विषयमा पनि छलफल हुनेछ।
आयोजक समितिका सचिव प्रा.डा. सबिना श्रेष्ठका अनुसार सम्मेलनमा २४ भन्दा बढी देशका आँखा स्वास्थ्य क्षेत्रको प्रमुख नेतृत्वकर्ता, वैज्ञानिक, अनुसन्धानकर्ता, शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सक, अस्पताल प्रशासन प्रमुख आदि लगायतको सहभागी रहनेछ । मूख्य कार्यक्रम बाहेक अन्य विषय सम्बन्धि अन्तरक्रिया, लेक्चर र पोस्टरको माध्यममाबाट जानकारी दिइनेछ ।