काठमाडौंमा १४ औं सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन सुरु भएकाे छ। सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन्।
पुर्व राष्टपति डा रामवरण यादवले बिहिबार सम्मेलनकाे उदघाटन गरेका हुन्। सम्मेलन अाइतबारसम्म चल्ने छ। सम्मेलनमा नयाँ प्रविधि तथा उपकरणबाट उपचार गर्ने ज्ञान र विचार अादनप्रदान छ।
सम्मेलनमा नेपाल र सार्क क्षेत्रका देश सहित अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चिन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायतका देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनमा ६०० जनाको सहभागिता रहने छ। सम्मेलनमा आँखाका विभिन्न विधा जस्तै पेडियाट्रिक अफ्थाल्मोलोजी (बाल आँखा रोग तथा डेढो आँखा), कर्निया (आँखाको नानी), क्याट्र्याक्ट (मोतीविन्दु), रिफ्र्याक्टिभ सर्जरी, युभिया, न्यूरो अफ्थाल्मोलोजी (आँखाको नशा), रेटिना (आँखाको पर्दा), ग्लोकमा (जलविन्दु), अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक), एडभोकेसी, अस्पताल प्रशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल गरिनेछ ।
यसका साथै नेपाल मात्र नभई सार्क क्षेत्रमा नै आँखा स्वास्थ्य सेवामा अमूल्य योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। यस्तो सम्मेलन हरेक दुई वर्षमा एक पटक हुँदै आइरहेको छ। अहिलेसम्म नेपालमा २ पटक सन् १९९१ मा र सन् १९९९ मा काठमाडौंमा सम्मेलन भएको छ। यसपटकको सम्मेलन याक एण्ड यति होटलमा भइरहेको छ।