प्रवास

इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीले बिरामीको पैसा र समय जोगाउँछ

 डा वसन्त पाठक

नेपाल चिन्ता 
हामी अमेरिकामा ५ सयभन्दा बढी डाक्टर छौं। हामीले नेपाली समाज र चिकित्सा क्षेत्रका लागि आफ्नो तर्फबाट योगदान पुर्‍याउन यो संस्था खोलेका हौं। भूकम्पको समयमा हामीले विभिन्न जिल्ला र काठमाडौंका अस्पताललाई यसमार्फत सहयोग ग¥यौं। हामीले त्यो समय १५ लाख अमेरिकी डलर उठाएका थियौँ। यसका लागि हामीले कोष वृद्धि कार्यक्रम गर्‍यौं।

रोटी, सेल र ब्रेड घरमा बनाएर बेच्दै सहयोग उठाएका थियौं। डा. भगवान कोइराला, डा अर्जुन कार्कीहरुले धेरै वर्ष पहिले सुरु गर्नु भएको यो संस्थाको उद्देश्य राम्रो छ। यहीमार्फत् विदेशमा रहेर पनि नेपालको सेवा गर्न सकिन्छ। 

हामी नेपालको चिकित्सा क्षेत्रका लागि केही नयाँ सेवा सुरु गर्ने योजना बनाइरहेका छौं। यहाँ सुरु भएका नयाँ उपचार प्रणाली र विभिन्न समस्याका विषयमा स्काइप र भिडियोमार्फत् सीप–ज्ञान आदानप्रदान गर्ने प्रणाली विकास गर्न खोजिरहेका छौं। हामी आफैं भौतिक रुपमा नेपाल आउन नसकेपनि यहाँको अवस्थामा सुधार ल्याउन सधैं चिन्तित हुन्छौं। आफूले सिकेका नयाँ कुरा नेपालमा पनि लागू गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। साथीभाइसँग यस विषयमा कुरा गर्ने प्रणालीको विकास हामीले गर्न खोजिरहेका छौं। 

उपचारमा चेतना 
उपचारका विषयमा जनमानसमा चेतना फैलाउन जरुरी छ। कुन उपचारका लागि विदेश जानुपर्दैन वा कुन उपचार यहाँ र विदेशमा गर्नुमा फरक पर्छ भन्ने विषयमा चेतना छैन। त्यसैले कतिपय सामान्य उपचारका लागि पनि नेपालीहरु विदेशिइरहेका छन्। 

कुन–कुन उपचार यहाँ हुन्छ र कुन हुँदैन ? कुन समस्या पर्दा कहाँ पुग्ने ? भन्ने विषयमा पनि शिक्षित वर्गमै चेतना छैन। अहिले पनि मलाई साथीहरुले ग्याष्ट्रिकको समस्या हुँदा कहाँ गएर जँचाउने भनेर फोन गर्नुहुन्छ। 

रिफरल सिस्टम 
हाम्रो देशमा बिरामीलाई रिफर गर्ने सिस्टम बसेको छैन। रिफर गर्‍यो भने आफू नजान्ने वा सानो ठहरिने चिन्ता हुन्छ, चिकित्सकमा। रिफर नजानेर होइन, थप प्रभावकारी उपचारका लागि हो भन्ने बुझ्न जरुरी छ। 

अहिले उपचार सेवाको दायरा यति फराकिलो भयो कि सबै बारे जानकारी लिएर साध्य छैन। कसैले मैले सबै जानेको छु भन्यो भने ऊ झुट बोल्दैछ। हामीले पढ्दै गर्दा सबै बिषयमा अलि– अलि ज्ञान त हासिल गर्छाैं। तर, त्यो प्रभावकारी उपचारका लागि प्रशस्त होइन। यही कारणले संसारमा उपचारका साना–साना क्षेत्र छुट्याएर केन्द्रीकृत हुने प्रचलन छ। हरेक अंगको विशेषज्ञ हुनुको कारण यही हो। 

विकसित देशमा त हरेक अंगको पनि भागमा मात्रै केन्द्रीत विशेषज्ञ बन्न थालिसके। जस्तो एउटै आँखाको पनि कर्नियाको छुट्टै र रेटिनाको छुट्टै विशेषज्ञ हुनसक्छ। सानो क्षेत्र लिएर विशेषज्ञता गर्नेको जति अर्कोलाई त्यसबारे ज्ञान हुँदैन। 

प्रणालीको विकास 
अमेरिका लगायतका विकसित देशमा बिरामी अस्पताल पुग्नेदेखि लिएर बाहिरिनेसम्मको एउटा प्रणाली हुन्छ। एउटा बिरामी उपचारका लागि आउँदा सुरुमा नर्सले दर्ता प्रक्रियामा लैजान्छन्। उनीहरुको रक्तचाप नाप्नेदेखि बिरामीसँग सामान्य प्रश्नको उत्तर लिइसकेका हुन्छन्। यही क्रममा धेरै कुरा आइसकेको हुन्छ। डाक्टरले ती कुरालाई प्रमाणित गर्न आफूलाई शंका भएको समस्याका विषयमा निक्र्यौलमा पुग्न बिरामीसँग कुरा गर्छन्। प्रारम्भिक जाँच गरेपछि निदानको प्रक्रिया आरम्भ हुन्छ। जसले बिरामीको उपचार प्रक्रियालाई छरितो र सहज बनाइरहेको छ। 

नेपालमा पनि यो सुरु हुन त थालेको छ तर अझै नियमित छैन। इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)को प्रवेश हुनै बाँकी छ। 

इएमआरको अभावमा रिफर गएर अर्को डाक्टरकोमा बिरामी जाँदा फेरि सुरुबाट प्रक्रिया थाल्नुपर्छ। त्यसले पैसा र समय दुवै बढी खर्च हुन्छ। इएमआर प्रणालीको विकास गर्न सकियो भने बिरामीमा आर्थिक भार कम हुन्छ र डाक्टरको समयको पनि बचत हुन्छ। दोहो¥याएर परीक्षण गराउनुका पनि साइडइफेक्ट छन्। कतिपय परीक्षण पटक–पटक गराउँदा रेडियसन वा यस्तै हानिकारक तत्वले शरीरमा हानी पुर्‍याइरहेको हुन्छ। 

जथाभावी औषधिको प्रयोग 
नेपालमा देखेको अर्को समस्या भनेको जथाभावी औषधि प्रयोग हो। पैसा तिरेपछि औषधि सजिलै पाइने भएकाले गलत प्रयोग भइरहेको छ। आफूखुशी औषधि प्रयोग गरेका कारण धेरैले स्वास्थ्य समस्या बेहोरिरहेका छन्। अहिले एन्टीबायोटिको रेसिस्टेन्स दर यसले बढ्दै गइरहेको छ। कतिपय अवस्थामा साना रोगलाई पनि जटिल खालको औषधि प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

हाम्रो आन्द्रामा धेरै ब्याक्टेरियाहरु हुन्छन्। ती ब्याक्टेरिया सबै हानिकारक हुँदैनन्। अनावश्यक रुपमा औषधिको प्रयोगबाट कहिलेकाहिँ असल ब्याक्टेरियामा क्षति पुग्छ र हाम्रो शरीरको सन्तुलन बिग्रिन्छ। यो विश्वव्यापी समस्या हो, तथापि हाम्राजस्ता मुलुकमा अझ बढी समस्या छ। 

अमेरिकामा एन्टिबायोटिक औषधि चलाउनुअघि रोग प्रमाणित गर्नुपर्छ। हाम्रो नेपालमा भाइरल रुघाखोकी लाग्दा पनि एन्टिबोयोटिक दिइन्छ। भाइरल त आफैं पनि निको हुन्छ तर एन्टिबायोटिकका कारण असल ब्याक्टेरिया मर्दा अन्य संक्रमण हुन्छन्। 

बिदेशतिर एन्टिबोयोटिक प्रयोग गर्नुपर्ने अवस्थामा पनि राम्रा ब्याक्टेरिया रहिरहुन् भनेर प्रोबायोटिक प्रयोग गर्न थालिएको छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने