प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी परेका छन् । बिरामी उनको आफ्नै निवासमा उपचार भइरहेको छ । मंगलवारदेखि नै ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएपछि भट्टलाई बुधवार विहानै उपचारका लागि धनगढीको सेती अञ्चल अस्पतालमा लगिएको थियो । अस्पतालमा विशिष्ट व्यक्तिका लागि ‘राम्रो बेड’को व्यवस्था नभएको भन्दै निवासमा ल्याएर उपचार थालिएको हो।
सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका इन्चार्ज कृष्ण बहादुर बोहराले भने, ‘मुख्यमन्त्री भट्ट बिहानै अस्पताल आउनुभएको थियो । अस्पतालमा राम्रो वेड नभएपछि उहाँकै निवासमा उपचार सुरु गरिएको छ।’
इन्चार्ज बोहरानै मुख्यमन्त्रीको उपचारका लागि निवासमा गएका थिए । ‘चेकजाचको क्रममा ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको छ । रगत र पिसाव जाँचका लागि पठाएका छौं । उहाँलाई सलाइन लगाएर राखेका छौं । ल्याब जाँचको रिपार्ट आएपछि उहाँको थप उपचार थालिनेछ,’ उनले भने।
उनको अल्ट्रासाउण्ड गर्नुपर्ने भएपनि विहानै मुख्यमन्त्री भट्टले खाजा खाएका कारण विहिवार मात्रै गरिने उनले जानकारी दिए।