प्रोफाइल

पाइजामा लगाउँदा राणाको धम्की खानेदेखि आफ्नो रमाना पत्र आफैं लेख्ने डाक्टर द्वारिकानाथ रेग्मी


नक्साल नारायणचौरको पूर्वपट्टीको साँघुरो गल्लीमा रहेको घरमा नेपाली चिकित्साको वृहत अनुभवहरुको जिउँदो संग्रह छ। त्यही संग्रह हुन्, डा. द्वारिकानाथ रेग्मी। ८९ वर्षका डा. रेग्मीलाई कोही भेट्न  पुग्दा उनी स्वागतका लागि आफैं नारायणचौरसम्म निस्किन्छन्। यो उमेरसम्म पनि शारीरिक तन्दुरुस्ती कायम राखेका उनमा आलस्य पटक्कै छैन। बढ्दो उमेरसँगै स्मरणशक्ति घट्ने प्राकृतिक नियमलाई समेत गलत साबित गरिदिएका छन्। उनीसँग नेपाली चिकित्साको मात्रै होइन, नेपालकै इतिहास छ। 

विन्ध्याचल नक्सालमा जन्मेका उनी नेपालको चिकित्सा सेवा र चिकित्सा शिक्षाको जग हाल्ने मध्येमा पर्छन्। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का संस्थापक सहायक डीन र महाराजगञ्ज क्याम्पस प्रमुखका रुपमा चिकित्सा शिक्षालाई प्रवद्र्धन गर्न उनले ठूलो भूमिका निर्वाह गरे। अनि, स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा चिकित्सा सेवालाई व्यवस्थित र विस्तार गर्नमा भूमिका निर्वाह गरे। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव र लोकसेवा आयोगका सदस्यजस्ता नीति निर्माण गर्ने ठाउँमा पुगेर उनले आफ्नो विज्ञता देशका निम्ति खर्चिएका छन्। 

सडक बनाउन विदेशीको सवारी ’
चिकित्सा क्षेत्रमा डा. रेग्मीका अनुभवहरु सुन्न जाँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने कुराले माहोल गर्माएको थियो। मोदी जाने ठाउँका साँघुरा सडक फराकिला र जीर्ण सडक चिल्ला हुँदै थिए। यही सन्दर्भमा डा. रेग्मीले सम्झिए उनले पहिलोपल्ट काठमाडौंका सडक रातारात फराकिला बनाइएको क्षण। २०१७/०१८ सालतिरको कुरा हो, जुनबेला उनी नुवाकोट जिल्ला अस्पतालमा कार्यरत थिए। एकदिन छुट्टीमा उनी काठमाडौं आउँदै थिए, लैनचौर आइसकेपछि हेरेको हेर्‍यै भएछन्। ‘कान्तिपथ त आश्चर्यजनक रुपमा फराकिलो भएको थियो। शहरभित्र जति पस्दै गएँ, त्यति नै बाटाघाटा चौडा भएको भेटें। काठमाडौंका सडक रातारात यसरी कायापलट हुनुको कारण रहेछ बेलायती महारानी एलिजावेथ द्वितियाको प्रथम नेपाल भ्रमण,’ उनी त्यो क्षण सम्झिन्छन्। 

केही दिनपछि कमलादीमा बस्ने उनका साथीकहाँ पुगे। साथीका बुवाको टिप्पणी थियो, ‘एलिजाबेथ आइदिनाले हाम्रा सडक चौडा र राम्रा भए।’ सडक बनाउने नेपालको सरकारसँग होइन, उताकी महारानीसँग जनता अनुग्रहित थिए। एलिजाबेथ नेपाल आएका झन्डै ६० वर्षपछि डा. रेग्मीसँग कुराकानी गर्न जाँदा सामाजिक सञ्जालमा सोही प्रकृतिका प्रतिक्रिया लेखिएका थिए, ‘मोदी हामी बस्ने ठाउँसम्म आइदिनुप¥यो। कम से कम सडक त बन्थ्यो।’

बाल्यकाल र पढाइ
वर्तमान अवस्थासँग जोडेर एउटा महत्वपूर्ण इतिहास स्मरण गरेपछि उनी आफ्नो बाल्यकालतर्फ फर्के। जीवनका पूर्वाद्र्ध सम्झिँदा उनी त्यसै पुलकित भए। नक्सालको नारायणचौरमै हुर्के। कखरा उनले मावलीका हजुरबासँग सिके। झण्डै ४ वर्ष मावलीमै बिताए। तर, मावली उनको घरभन्दा ५ मिनेट टाढा मात्रै रहेछ। सम्झँन्छन्, ‘म दुई वर्षको उमेर पुगेपछि बुवाआमा काममा जाँदा मलाई घरमै डोरीले बाँधेर राखिएको रहेछ। सायद त्यो समयका सबै बच्चालाई त्यसै गरिन्थ्यो। मावलीका हजुरबुबाले देखेर आफूसँगै लैजानुभयो।’

केही लेखपढ गर्न जान्ने भएपछि उनी दरबार हाइस्कुल भर्ना भए।  २००४ सालमा सोही स्कुलबाट एसएलसी पास गरे र त्रिचन्द्र कलेजबाट आइएससी गरे। 

जर्नेल सुर र नेपाली चिकित्सा
उनका पिता राणाका पुरोहित थिए। त्यसैले श्री ३ वीर शमसेरका नाति र वैज्ञानिक गेहन्द्र शमसेरका कान्छा छोरा जर्नेल सुर शमसेरसँग रेग्मी परिवारको सम्बन्ध थियो। एकदिन पिताले जर्नेल सुरशमसरसँग ‘आफ्नो छोराले राम्रो अंकसहित आइएस्सी पास गरेको’ बिन्ति चढाए। जर्नेलले आफ्नो कोटामा उनलाई चिकित्सा पढाउने कुरामा सहमति जनाए। 

जर्नेल सुरले अनपेक्षित चन्दा प्रदान गरेकाले उनका नाममा कलकत्तास्थित कर्माइकल मेडिकल कलेजले एउटा कोटा छुट्याएको थियो। सोही सिटमा सन् १९५२ मा डा. रेग्मीले पढ्न पाए। 

जर्नेल सुरलाई उक्त कोटा दिइनुको रोचक कहानी रहेछ। सन् १९४७ मा एक प्रतिष्ठित सरदार कलकत्तामा आफ्नो छोरालाई चिकित्सा पढाउन भनेर जर्नेल सुरकहाँ भनुसुन गराइमाग्न आए। संयोगले त्यो समय कलकत्तामै रहेका जर्नेल आफ्ना सेक्रेटरीलाई लिएर उक्त मेडिकल कलजेका डा. एल.एम. बनर्जीलाई भेट्न पुगे। उक्त दिन कलेजको बोर्ड बैठक पनि रहेछ। बैठकमा नेपालका प्रतिष्ठित व्यक्तित्व कसैलाई चिकित्सा पढाउन एक सिट माग्न आएको खबर पुग्यो। बोर्ड बैठकले निर्णय गरेछ, ‘एक सिट त दिने तर त्यसवापत केही आर्थिक सहयोग पनि माग्ने।’

चन्दाबाट चल्ने उक्त मेडिकल कलेजको अस्पतालमा डाक्टर पनि निःशुल्क काम गर्थे। त्यसैले सर्जिकल ब्लकमा लिफ्ट जडान गर्न आर्थिक समस्या परिरहेको रहेछ। जर्नेल सुरले सोधेछन्, ‘कति पर्र्ला त्यो लिफ्टको ?’ उनीहरुले अन्दाजी १० हजार भारतीय रुपैयाँ लाग्ने बताए। जर्नेल सुरले सेक्रेटरीसँग चेकबुक माग्दै लेखे, ‘एक लाख ११ हजार एक रुपैयाँ।’ एक लाख १० हजार आफ्नो र १ हजार एक रुपैयाँ सेक्रेटरीका तर्फबाट भन्दै उनले चन्दा दिए। ‘सुनको भाउ तोलाको ५० रुपैयाँ भएको त्यो समय एक लाख ११ हजार निकै ठूलो रकम थियो,’ डा. रेग्मीले सुनाए, ‘जब डा. बनर्जीले चेक समाए उनी हेरेका हेर्‍यै भए। त्यहाँ भएका अरु ७/८ जनाले पनि चेक दोहोर्‍याएर हेरे।’

त्यसपछि उनीहरुले सल्लाह गरेर जर्नेल सुरलाई बंगाली भाषामा भने,  ‘हजुरले हामीले चाहेको भन्दा धेरै टत्र्mयाइबक्स्यो। हामी उपहारस्वरुप केही दिन चाहन्छौं। हजुरको के छ विचार ?

जर्नेल सुरको जवाफ उद्धृत गर्दै डा. रेग्मी भन्छन्, ‘डाक्टर बाबु, मेरो देश नेपालमा बिरामीहरुको अनुपातमा डाक्टर एकदमै कम छन्। यदि मिल्ने भए वर्षमा एक नेपाली विद्यार्थी पढ्ने व्यवस्था गरिदिनुभए अनुग्रहित हुने थिएँ।’ त्यसपछि सोही दिन हरेक वर्ष उनकै सिफारिस र उनको शेषपछि उनका हकवालाको सिफारिसमा एक नेपाली विद्यार्थी पढ्न पाउने तारतम्य मिल्यो। ‘हालसम्ममा ५० भन्दा बढीले उक्त सिटमा अध्ययन गरेर डाक्टर बनिसकेका छन्,’ डा. रेग्मी भन्छन्।

पहिलो जागिर नुवाकोट र ‘डाक्टर सुवेदार’
२०१६ सालमा एमबीबीएस सकेपछि उनले ६ महिना क्लिनिकल पोष्ट ग्य्राजुएट त्यही कलेजमा गरे। ‘निकै न्युन चिकित्सक भएको त्यो समय पास गरेर आउनेबित्तिकै आफैंले सबै रोगका बिरामी हेर्नुपथ्र्यो। मलाई सर्जरीमा रुची थियो। त्यसैले निकै प्रयास गरेर सर्जरी विभाग प्रमुख एन के सेनअन्तर्गत ९ महिना काम गरेर नेपाल फर्कें,’ उनले भने। 

नेपाल फर्केपछि उनको चाहना आर्मीको अस्पतालको काम गर्ने थियो। तर, उनका एक आफन्तले निरुत्साहित गरे। स्वास्थ्य सेवाअन्तर्गत काम गर्दा राम्रो हुने भन्दै फर्काए। उनकै सल्लाहअनुसार स्वास्थ्य सेवा विभागमा काम गर्न दरखास्त हालेर आफ्ना इञ्जिनियर काका लेखनाथ रेग्मीको उपचारका लागि कलकत्ता लागे। 

केही महिनापपछि फर्केर स्वास्थ्य सेवा विभाग पुगे। विभागका तत्कालिन निर्देशक डा. रघुवरवीर वैद्य र सहायक निर्देशक डा. दिनेशानन्द वैद्य थिए। उनलाई दिनेशानन्द वैद्यसँग कुरा गर्न भनियो। डा. वैद्यले दुईवटा विकल्प दिए उनलाई, चितवन अस्पताल वा पश्चिम नं १ डिस्पेन्सरी नुवाकोटमध्ये एक ठाउँ जाने। उनले नुवाकोट रोजे। नुवाकोट जाँदा टेबल, मेच र दराज लिएर जानुपर्ने बताइएपछि उनले खास व्यवस्था नरहेको बुझिसकेका थिए। 

‘नुवाकाटमा एउटा सानो घर डिस्पेन्सरी (अस्पताल)का रुपमा सञ्चालन थियो। जहाँ एकजना ‘डाक्टर सुवेदार’ कार्यरत थिए। खासमा उनी नेपाली सेनाका सुवेदार भएपनि अस्पतालका ड्रेसरसँग काम गर्दै सिकेछन्। पछि जनशक्ति अभावमा सरकारले उनलाई ड्रेसरको जिम्मेवारी दिएछ,’ उनले सम्झिए।

पाइन्ट लाउँदा विदेशी डाक्टर
उनी भर्खरै कलकत्ताबाट आएका थिए र सिधै नुवाकोट पुगेका थिए। कलकत्तामा बस्दा लगाएको पाइन्ट–सर्ट नै लगाएर नुवाकोटमा काम गर्न थाले। पाइन्ट लगाउने भएकै कारण उनी विदेशी डाक्टर भएको धेरैले लख काटे। कतिले उनलाई समेत सोधे। किनभने त्यो समय एकदमै कमले मात्रै पाइन्ट सर्ट लगाउँथे। 

पहिरनले मान्छेको प्रकृति अनुमान गर्ने त्यो समयको प्रचलनको अरुका घटना पनि सम्झिरहेका छन् उनी। त्यो उनी अलि सानै हुँदाको घटना थियो। पाइजामा लगाएकै कारण उनी र उनका दाईलाई राणाहरुले लछारपछार गरेका थिए। ‘हामी नक्सालमा हिँडिरहेका थियौं। अचानाक दुईजनाले हामीलाई समात्दै भने–फटाहा पाइजामा लगाउन कसले भन्यो तँलाई ?’ उनी सम्झिन्छन्। लछारपछार गर्नहरु तत्कालिन राणा शासनका सरकारी व्यक्ति थिए। 

उनका दाजु अघिल्लो दिनमात्रै कलकत्ताबाट आएको हुँदा त्यहीँ पाइजामा किनेर ल्याएका थिए। सोही कुरा अवगत गराए। जाँदाजाँदै उनीहरुले चेतावनी दिए, ‘एकचोटीलाई छाडिदिन्छौं। फेरि नलगाउनू।’ पछि उनले थाहा पाए, भारतमा अँग्रेजविरुद्ध लड्नेहरुले धोतीको सट्टा पाइजामा लगाएका रहेछन्। राणाहरु पनि पाइजामा लगाउनेलाई विद्रोही ठान्दा रहेछन्।

आफैंले श्रीमतीको ज्यान जोखिममा पार्दा 
उनी नुवाकोटमै कार्यरत थिए। उनकी श्रीमतीको दाहिने चोरऔंलाको टुप्पोमा एउटा मुसा पलाएको रहेछ। मुसाले गर्दा काम गर्न समस्या भएकाले उनले काटिदिन डा. रेग्मीलाई बारम्बार आग्रह गरिरहेकी थिइन्। उनले एकदिन काटिदिने सुर कसे। उनी डिस्पेन्सरी जान ठिक्क परेका बेला मुसा काट्ने विचार गरे। दाह्री खौरने ब्लेडले खुर्किने विचार गरे। उनलाई लागेछ, ‘यत्तिकै खुर्किन थाल्यो भने दुख्छ। उनको औंलाका फेदमा नभोकेन नामक सुई मात्रै के लगाएको थिएँ, उनी त कमेरो जस्तो फुस्रो भइन्। नाडी र श्वास दुवै बन्द भएको पाएँ।म किंकर्तव्यमुढ भएँ।’

नुवाकोट जिल्लाभरि उनी एक्लै डाक्टर थिए। कसैको सहारा लिने अवस्था रहेन। त्यसपछि केही समयमै उनले आफूलाई सम्हाले। दुई पाखुरामा अरु दुईटा सुई दिएर छातिमा मुटु चलाउने मसाज गर्न थाले। यसो गर्न थालेको केही समयपछि श्वास चल्न थाल्यो। उनी भन्छन्, ‘झन्डै आफ्नै गल्तीले श्रीमतीको ज्यान गएन। पछिसम्म पनि यो घटना सम्झिदा डर लागिरह्यो।’

बिनाउपकरण मोलेको जोखिम
नुवाकोटपछि  उनलाई २०१८ सालमा सर्लाही सरुवा गरियो। डाक्टरको निकै अभाव रहेको त्यो समय नुवाकोट जस्तै सर्लाही पुग्ने पनि पहिलो डाक्टर पनि उनै भए। त्यहाँ रहँदा केही जोखिमयुक्त उपचार सेवा दिए। तीमध्ये डाँकाले हानेको गोली निकाल्दाको क्षण भुल्दैनन्। एकदिन ४/५ जना गाउँलेलाई डाँकाको गोली लग्यो। तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भयो र बाँकी अस्पताल ल्याइपु¥याए। एकजनाको छातिको देब्रेपट्टीबाट गोली भित्र छिरेको तर बाहिर ननिस्किएको देखे । देब्रे पिठ्युँ फुलेका कारण उनलाई गोली निकाल्न सकस प¥यो। त्यसैमा उपकरण र सहयोगीको समेत अभाव हुने त्यो समय प्रयास जोखिमयुक्त हुने नै भयो। 

फोक्सोमा रगत जमेर त्यस्तो अवस्था आएको उनले महसुस गरे। १५ दिनपछि फुलेको ठाउँ सामान्य हुँदै गयो। उनी सम्झँन्छन्, ‘पिठ्यँुबाट गोली रहेको ठाउँ अन्दाज गर्न सकियो। जे सामान थिए तिनैले पिठ्यँुबाट छाति खोलेर गोली निकालें। प्रयास खेर गएन। बिरामी निको भएर घर फर्र्र्किएँ।’

बिरामी हेर्न जाँदा आफैं मृत्युको मुखमा
जिल्लाभरिमा एक्लै डाक्टर भएपछि रातविरात भन्न पाउँदैनथे उनी। बिरामीका आफन्तले बोलाएपछि कुदिहाल्नुपर्ने अवस्था थियो। यसरी जाँदा दुईपल्ट मृत्युको मुखमा पुगेर फर्किएको अनुभव छन् उनीसँग। 

एकदिन राति उनलाई करेत सर्पको मुखबाट बिरामीका आफन्तले जोगाए। राति हिँड्दा सधैं उनी गमबुट लगाउँथे। एकदिन चप्पल मात्रै लगाएर बिरामीका आफन्तको अघि लागेर हिँडिरहेका थिए। एक्कासी पछाडिबाट बिरामीका आफन्तले उनलाई ताने। किन तानियो भनेर उनले भेउ पाएका थिएनन्, ती व्यक्ति भुइँमा लट्ठी बजार्न थाले। 

सर्प भागेपछि ती व्यक्तिले भने, ‘डाक्टरबाबु एउटा करेत सर्प तपाईंको खुट्टानेरै पुग्न लागेको थियो।’

बिरामी जाँच्न पुगेका उनी डरले आफैं बिरामी भए। बिरामीका आफन्तकोमा पुगेपछि उनले केही समय आराम गरेर मात्रै उपचार थाल्न सकेछन्। 

महाराजगञ्जस्थित अहेब स्कुल (हालको आइओएम)मा काम गर्थे। धेरै डाक्टर र स्वास्थ्य संस्था नभएकाले आफन्त बिरामी पर्दा डाक्टर बोलाउने प्रचलन थियो। एकदिन उनको घरमा फोन आयो। फोनमा बिरामीका आफन्त आत्तिएको र बिरामी कराइरहेको सुने। 

‘सिमसिम पानी परिरहेको थियो। मसँग भर्खरै किनेको मोटरसाइकल थियो। वर्षादी ओढें, जाँच्ने सामान लिएर मोटरसाइकलमा जाँदै थिएँ। नक्सालबाट चारढुंगे पुग्दा त दशौं कुकुरहरुले एकसाथ पिछा गर्न थाले। कुकुर होइन, यमदूतजस्ता लागेर मोटरसाइकल जोडले हुइँक्याइएछ। यत्तिकैमा एउटा कुकुरले मैले ओढेको वर्षादी तान्न भ्यायो र म असन्तुलित हुँदै भित्तामा रहेको पोलमा बजारिन पुगें,’ उनले ठूलो दुर्घटनाको क्षण सम्झिए। 

बिस्तारै घर्सँदै उनी नजिकैको घर ढकढक्याउन पुगे। उनीहरुले बोकेर घरमा पु¥याइदिए । हात भाँच्चिएछ । त्यहीकारण धेरै दिन थला परे। उनी अहिले पनि झस्किन्छन्, ‘धन्न टाउको कतै ठोकिएनछ।’

अहेब पढ्ने विद्यार्थी खोज्दै पहाडी जिल्ला
२०१८ सालको सुरुमा सर्लाही सरुवा भएका उनलाई त्यही वर्ष माघ ८ गते काठमाडौंको अहेब स्कुलमा सरुवा गरियो। अहेबलाई पढाउन थालेपछि उनी र वातावरणीय स्वास्थ्य पढाउने दिव्यचरण झालाई समावेशी नभएको महसुस भयो। किनभने त्यो समय अहेब पढ्ने कि काठमाडौं उपत्यकावासी हुन्थे कि तराईका मात्रै। उनीहरु आफ्नै ठाउँमा जान चाहन्थे। उनलाई लाग्यो, ‘पहाडका स्वास्थ्य संस्थामा जनशक्ति अभाव पूरा गर्न त्यहीँका विद्यार्थी पढाउनुपर्छ।’

उनीहरुले पहाडी जिल्लामै पुगेर विद्यार्थीलाई पढ्न प्रोत्साहन गर्ने विचार गरे। डा. रेग्मी र झा पूर्वका धनकुटा, इलामलगायतका पहाडी जिल्लातिर विद्यार्थी खोज्दै पुगे। उनले भने, ‘अलि विकसित र राम्रा स्कुल भएका ठाउँतिरै गएर शिक्षक र विद्यार्थी फकाउन हामी त्यहाँ पुगेका थियौं।’ इलाममा उनीहरुले अभिभावक र शिक्षकको भेला बोलाएर आफ्नो भ्रमण उद्देश्य बताए। अभिभावक र शिक्षक यसका लागि राजी भएपछि उनीहरु फर्र्किन थाले। त्यो समय पहाडी जिल्लाको यात्रा अहिलेजस्तो सहज थिएन। जाँदा जीपमा जसोतसो गएका उनीहरुलाई फर्किन समस्या प¥यो। बाटो बिग्रेका कारण हिँडेरै झापा झर्नु परेपछि दार्जिलिङ, सिलीगुडी हुँदै विराटनगर पुगेको उनी सम्झिन्छन्। 

आइओएमसँगै जोडिने केही नाम
उनी अहेब स्कुलमै कार्यरत थिए। 
२०२९ साउन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले त्यसलाई चिकित्साशास्त्र अध्ययन संस्थान बनायो । अहेब, अनमी, नर्स, आयुर्वेद लगायतका पढाइ सबै सोहीअन्तर्गत रहने निर्णय तत्कालिन श्री ५ को सरकारले गर्‍यो। 

डा. मोइन शाहको नेतृत्वमा आइओएमले हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर हुँदै एमबीबीएस पढाइ सुरुवात ग¥यो। जसमा डा. रेग्मीको पनि ठूलो योगदान छ। 

आइओएमलाई यो अवस्थामा पु¥याउन त्यो समय योगदान दिएका केही नाम उनी सम्झिन्छन्। डा. शाहसँगै डा. भीष्मराज प्रसाई, डा हेमांग दीक्षित, डा शेखरबाबु रिजाल, नवीनप्रकाशजंग शाह, कुमारप्रसाद लामिछाने, सम्पचूडामणि बज्राचार्य, कृष्णप्रसाद आचार्य, श्रीहरि अर्याल, मनोज पौडेल, ध्रुबबहादुर थापाहरुलाई उनी सम्झिन्छन्।

यसैगरी विदेशीहरुले पु¥याएको योगदान भुल्दा ‘पाप लाग्ने’ उनी बताउँछन्। क्यानडाको क्यालगरी विश्विद्यालयका डा मेलविनकर,  मोलिन ब्राउन र कनिस्विन्टनको योगदान उल्लेख्य रहेको उनले बताए। 
राजालाई औंलो सोझ्याएर जमीन देखाउँदा


त्यो वर्ष राजा वीरेन्द्रले मध्यमाञ्चल भ्रमण गर्दै थिए। यही विकास क्षेत्रभित्रको आइओएम भ्रमण गर्ने योजना बन्यो। आइओएमका डीन डा. मोइन शाह, सहायक डिन डा. रेग्मीले त्यही मौकामा संस्थाका विषयमा ‘बिन्ती चढाउने’ तयारी गरे। उनी सम्झिन्छन्, ‘जब राजाको अगाडि परें, आत्मविश्वास नै कमजोर भएर केही समय बोली नै फुटेन।’ राजा मुस्कुराएपछि बल्ल उनले आफ्ना कुरा भन्न सकेछन्। 

जब राजाको ‘फिर्ति सवारी’ हुँदै थियो, उनी पनि संस्थानका बारेमा भन्दै निस्किरहेका थिए। अहिले शिक्षण अस्पताल रहेको ठाउँ त्यो समय आर्मीले अस्पताल बनाउन ओगटेको थियो। दुई सय रोपनी  रहेको जग्गामा अस्पताल बनाउने सुरसारै थिएन, बरु आर्मीले धान लगाउने गरेको थियो। 

‘त्यो ठाउँका बारेमा बेलिविस्तार लगाउँदै अघि लागेर हिँडिरहेको म एक्कासी रोकिन पुगें। म रोकिएपछि राजा र मन्त्रीगणहरु पनि रोकिए। म भने उत्तरतिरको विशाल फाँट देखाउँदै भन्न थालें– हामीलाई यता जग्गा अपुगजस्तो भयो। त्यो निगाह भए सजिलो हुन्थ्यो,’ उनले सम्झिए। 

राजाले ‘मिलाएर लेऊ न’ भनेर उत्तर दिए। पछि डिन डा. शाहले रानी ऐश्वर्यालाई भेटर उक्त जग्गा आइओएमलाई दिइने पक्कापक्की गरे। 

उनको उक्त गतिविधि हेरिरहेको त्यहाँ उपस्थित कसैले भन्यो, ‘राजालाई त्यसरी औंला सोझ्याएर जमीन देखाउनु राम्रो मानिदैन।’ राजाले राम्रो माने पनि नमानेपनि उनको त्यही काम आइओएमका लागि भने फलदायी बन्यो र अहिले अस्पताल र क्याम्पस भवन त्यहीँ अटाएका छन्। 

त्यसो गर्ने आँट उनमा नआएको भए त्रिवि रहेको कीर्तिपुरमा आइओएम हुन्थ्यो। कीर्तिपुरमा प्रशस्त खाली जग्गा भएकाले त्रिवि अन्तर्गतकै आइओएमलाई त्यहीँ सार्ने लगभग पक्का भएको थियो त्यतिबेला। 

आफ्नो रमाना पत्र आफैं
डा. रेग्मी आइओएममा काजमा कार्यरत रहेपनि दरबन्दी भने स्वास्थ्य सेवा अन्तर्गतको थियो। उनी त्यहीँ कार्यरत रहँदा द्वितिय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा भए।  बढुवा भएपछि काज फिर्ताका लागि रमानापत्र मागे। सहायक डीन र क्याम्पस प्रमुख रहेका डा. रेग्मीलाई त्यहाँबाट बाहिर पठाउन डीन डा. शाहले मानेनन्। रमाना पत्रका लागि डा. रेग्मीले गरेको अनुरोध डा. शाहले सुनेको नसुन्यै गरिदिए।  

केही दिनमै डा. शाह एउटा बैठकमा भाग लिन नयाँदिल्ली जानुपर्ने भयो। त्यसपछि उनी नै कार्यवाहक डिन भए। यही मौकामा उनले उपकुलपतिलाई भेटेर आफू स्वास्थ्य सेवाअन्तर्गत नै रमाना हुन पाउनुपर्ने अवगत गराए। ‘मेरो कुरा सुनेपछि उहाँले सकारात्मक संकेत गर्नुभयो र मैले सहायक डिन र क्याम्पस प्रमुखबाट राजीनामा दिएर आफैंले आफ्नो रमाना पत्र लेखेर लिएँ।’

उनको दरबन्दी त्यो समय बुटवल अस्पतालमा थियो। रमाना लिएकै दिन उनी बुटवल पुगे। बुटवल अस्पतालको सुपरिटेन्डेन्टको प्रथम श्रेणीको पदमा उनी हाजिर मात्रै भए। सात दिन त्यहाँ बसेर उनी काठमाडौंको टेकु अस्पताल काजमा आए।

टेकु भर्खरै वीरबाट छुट्टिएर अस्तित्वमा थियो। केही विदेशीहरुले झाडाबान्ता (कलेरा) भएका बिरामीलाई टेकुस्थित पाटीमा उपचार गराउन थालेका रहेछन्। पछि वीरले एक युनिटका रुपमा त्यहाँ डाक्टर र नर्स खटाउने गरेछ। त्यसपछि वीरबाट छुटाएर सरुवा रोग अस्पताल (हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) नामाकरण गरी १०० बेडको बनाउने योजना अघि सारियो। 

डा. रेग्मी काजमा आउँदा २५ बेड सञ्चालनमा थियो भने १०० बेडको बनाउन नयाँ भवनको जग हालिदै थियो। उनी त्यहाँ आएपछि त्यसलाई पूरा गरेर अस्पताललाई गति दिए। 

मेनेन्जाइटिस रोक्न पहल
डा. रेग्मीको सक्रियताका कारण उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइयो। तिथिमिति बिर्सिए उनले। तर, त्यो समय नेपालमा मेनेन्जाइटिस रोगको महामारी फैलिएको थियो। त्यही समय स्वीट्रल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको कार्यकारिणी सभा थियो । उनले उक्त सभामा यसको महामारी रोक्न भ्याक्सिन र प्राविधिक सहयोगका लागि आग्रह गरे। 

उनको आग्रहलाई स्वीकारेर विभिन्न देशबाट तीन लाख डोज भ्याक्सिन चाँडै काठमाडौं आइपुगेको थियो। 

यसमा तत्कालिन सचिव चन्द्रकला किरणले सहयोग गरेकी थिइन्। 

एटलान्टास्थित सेन्टर फर कम्युनिकेवल डिजिजेजले प्राविधिक र फ्रान्सले भ्याक्सिन सहयोग गरेको उनी सम्झँन्छन्। उनले भने, ‘काठमाडौं उपत्यकामै महामारीका रुपमा मेनेन्जाइटिस फैलिरहेको थियो। त्यसैले हामीले एकैपल्ट डेढलाखलाई उक्त भ्याक्सिन दियौं।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने