काठमाडौं– सर्वोच्च अदालतले परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको छ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पुगेका खोपहरु मात्र प्रयोगमा ल्याउनुपर्ने भन्दै सर्वोच्चले परीक्षण नगरिएका औषधिहरु रोक लगाउन भनेको हो। सर्वोच्चले फैसलामा खरिद गरेदेखि वितरण गर्दासम्मको हरेक तहमा परीक्षण गरेर मात्र खोप र औषधि प्रयोगमा ल्याउन भनेको छ।
खोपहरुको परीक्षणबिना नै प्रयोग गरिँदा विभिन्न स्थानमा बालबालिकाको ज्यान गएको भन्दै सर्वोच्चले नेपाल भित्रिएका खोप र औषधिहरुको मापदण्ड सही र गुणस्तरीय भएको ग्यारेन्टी भएपछि मात्र वितरण र प्रयोगमा ल्याउन आदेश दिएको छ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश जारी गरेको हो।
गत बिहीबार भएको फैसलामा सर्वोच्चले जथाभावी खोप लगाउँदा मृत्यु हुनेका पीडितलाई क्षतिपूर्ति दिन र खोपका भायलका कारण बिरामी परेका अन्यलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयको नाममा परमादेश जारी गरेको छ। मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति तीन महिनाभित्र दिलाउन परमादेश जारी गरिएको हो।
बझाङका दलबहादुर धामी र अधिवक्ता जितेन्द्रबहादुर मडैले दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले तीन वटा निर्देशनात्मक आदेश सरकारको नाममा जारी गरेको छ।
सरकारले दादुरा विरुद्धको खोप लगाउने योजना अनुरुप डोटी जिल्लाको काडामाडौं लगायतका स्थानमा चार बालबालिकाको मृत्यु भएपछि उनीहरुका लागि क्षतिपूर्ति र परीक्षणका नाममा आउने खोपमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘असावधानीपूर्वक खोप लगाएका कारण डोटी जिल्लामा नाबालकहरु मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको भोलिपल्ट मृत्यु हुन गएको जिल्ला जनस्वास्थ्य कार्यालयको लिखित जवाफबाट देखियो।’
आगामी दिनहरुमा खोप तथा औषधिको बिक्री-वितरणमा ध्यान दिनू भन्दै सर्वोच्चले तीन वटा निर्देशनात्मक आदेश जारी गरेको छ।
यस्ता छन् निर्देशनात्मक आदेश:
– स्वास्थ्य सम्बन्धी खोप तथा औषधिको वितरण गर्नुपूर्व खरिददेखि वितरण गर्दासम्मको हरेक तहमा परीक्षण गरी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उक्त खोप तथा औषधि सही र गुणस्तरीय भएमा मात्र वितरण गरी वितरण कार्यलाई सुरक्षित बनाउनका लागि आवश्यक सामग्री तथा दक्ष जनशक्तिको उचित प्रबन्ध गरेर मात्र वितरण प्रकिया अगाडि बढाउनू,
– खोप कार्यक्रम सञ्चालन गर्दा खोपको प्रयोगबाट हुनसक्ने नकारात्मक परिणामलाई रोकथाम गर्न विस्तृत पूर्वतयारी गरी खोप तथा औषधिको वितरणपूर्व यसका प्रयोगकर्ताहरुलाई सो सम्बन्धमा पर्याप्त जानकारी दिई सोको प्रयोग गर्न अनुमति दिएको अवस्थामा मात्र प्रयोग तथा वितरण गर्ने गर्नू,
– खोप तथा औषधिको वितरण कार्यक्रम उचित तवरबाट सञ्चालन भएको छ र कुनै किसिमको प्रदूषण छैन भन्ने कुरा सुनिश्चित गर्नका लागि प्रभावकारी अनुगमनको व्यवस्था गरी खोप तथा औषधिको प्रयोगबाट प्रयोगकर्ता नागरिकलाई कुनै प्रकारको हानि पुग्न गएमा तत्काल नि:शुल्क उपचारको व्यवस्था गरी कानुन बमोजिम उचित क्षतिपूर्ति समेतको व्यवस्था गर्न आवश्यक प्रबन्ध गर्नू।