अन्तर्वार्ता

क्यान्सरका बिरामीको गणनाले रोकथाम तथा उपचार कार्ययोजना बनाउन सहयोग पुग्छ : रञ्जिता सुवेदी

 

नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन। जनसंख्यामा आधारित क्यान्सरका बिरामीको गणना नहुँदा संख्या किटान हुन नसकेको हो। कुन अंगको क्यान्सरका बिरामी कुन ठाउँमा बढी छन् भन्ने विवरण नहुँदा नेपाल सरकारले सञ्चालन गर्दै आएका कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

विदेशका मुलुकहरुमा निकै अगाडिदेखि क्यान्सर रोगीको तथ्यांक राख्ने चलन भए पनि नेपालमा भने लामो समयको पहलपछि जनवरी २०१८ देखि बिरामीको गणना सुरु भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा यो काम भइरहेको छ। 

जनसंख्यामा आधारित क्यान्सरका बिरामीको गणनाबारे यसै कार्यक्रमकी फोकल पर्सन अनुसन्धान अधिकृत रञ्जिता सुवेदीसँग स्वास्थ्यखबरले गरेको कुराकानीः

जनसंख्यामा आधारित क्यान्सरका बिरामीको गणना भनेको के हो? 
यो क्यान्सरका बिरामी तथा क्यान्सरबाट मृत्यु भएका मानिसहरुको गणना गर्ने पद्धति हो। यसमा बिरामी तथा मृत्यु भएका मानिसको सम्पूर्ण तथ्यांक र उनीहरुको रोगसम्बन्धी विवरण राखिन्छ।

नेपालमा यस्तो गणना गर्ने चर्चा दशकौं अगाडिदेखि चले पनि ६ महिनाअघि मात्र सुरु भयो। ढिलाइ हुनुको कारण के हो? 
हो, जनसंख्यामा आधारित सर्भे गर्ने कुरा ३०/४० वर्षदेखि नै उठिरहेको थियो। कुरा उठे पनि विभिन्न कारणले हुन सकेको थिएन। पटकपटकको पहलपछि यो सम्भव भएको हो। 

यसै विषयमा हामी तालिम लिन भारत जाँदा पनि तालिम लिन मात्र आउँछन्, काम सुरु गर्दैनन् भनेर त्यहाँ पत्याएका थिएनन्। तर, हामी फर्केर आएपछि ६ महिना अघिदेखि गणना सुरु गरियो। यो काम सुरु गरेपछि नियमित चल्ने भएकाले तयारीबिना गर्न सम्भव पनि थिएन। ढिलै भए पनि सुरु भएको छ। अब हामी छिटै ६ महिनाको रिपोर्ट सार्वजनिक गर्नेछौं।

यस्तो गणना गर्न किन आवश्यक छ?  
हामीकहाँ क्यान्सर रोगीको संख्या दिनदिनै बढ्दो छ भनिन्छ। यसै कारण मृत्यु हुनेहरुको संख्या पनि उच्च रहेको अस्पतालमा आधारित रेकर्डमा भर पर्नुपर्ने अवस्था छ। नेपाल सरकारले क्यान्सरमा अर्बौं रकम खर्च गरिरहेको छ। तर, देशमा कति जना क्यान्सरको जोखिममा छन्, कति बिरामी छन्, कतिको मृत्यु भयो भन्ने यकिन तथ्य पाइँदैन। यस्तो तथ्य अध्ययन वा गणनापछि मात्र थाहा हुन्छ। 
क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउने र रोकथाम तथा उपचार सम्बन्धी कार्ययोजना बनाउन कुन–कुन क्षेत्रमा के–कस्ता किसिमको क्यान्सरको प्रकोप छ भन्ने तथ्यांक आवश्यक हुने भएकाले यस्तो गणना महत्वपूर्ण हुन्छ। यसबाट कुन भौगोलिक क्षेत्रमा कुन उमेरमा कुन क्यान्सर बढी छ भन्ने जानकारी भएर कस्ता खालका कार्यक्रम ल्याउनुपर्छ भन्ने प्रस्ट भइन्छ। यसका साथै, गणनाका आधारमा स्थानीय तथा केन्द्रीय सरकारका माध्यमबाट चेतना अभिवृद्धि तथा क्यान्सर रोकथाम गर्न, उपचार कार्ययोजना बनाउन तथा सरकारले क्यान्सरको उपचार खर्चवापत दिँदै आएको विपन्न नागरिक सेवा निश्चित बिरामीले पाएका छन् कि छैनन् भन्ने पनि यकिन हुन्छ।

क्यान्सरका बिरामीको गणना कुन–कुन स्थानबाट कसरी गरिन्छ? यसमा को–को सहभागी हुन्छन्?
विश्वका विकसित मुलुकहरुमा जस्तै इन्टरनेसनल फर रिसर्च अन क्यान्स (आइएआरसी)सँग समन्वय गरी बनाइएको फारम अनुसार क्यान्सर अनुसन्धानकर्तासँगै अस्पतालका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाले तथ्यांक संलकनको काम गरिरहेका छन्।
क्यान्सर लागेको भनी प्रमाणित भइसकेका बिरामीको तथ्यांक तथा क्यान्सरका कारण मृत्यु भएकाहरुको विवरण क्यान्सर रोग उपचार गर्ने विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार, राष्ट्रिय पञ्जीकरण विभागबाट संकलन गरिन्छ। यसरी संकलित सम्पूर्ण विवरण क्यान्सरको प्रकार अनुसार छुट्टाछुट्टै सफ्वेयरमा राखी रिपोर्ट तयार गरिन्छ। यसरी तयार गरिएको रिपोर्टमा कुनै पनि व्यक्तिहरुको गोपनीयता भंग नहुनेगरी छुट्टै कोड प्रयोग गरिन्छ।  
यसका लागि म बाहेक अरु ३ जना असिस्टेन्ट रिसर्चर अफिसर हुुनुहुन्छ। उहाँहरु  फिल्डमा खटिनुहुन्छ। स्थानीय स्तरमा रहेका महिला स्वास्थ्य स्वयंसेविका पनि यो काममा सहभागी हुनुहुन्छ। रेकर्ड कसरी लिने भनेर उहाँहरुलाई तालिम दिन हामी आफैं जान्छौं। 

यो सर्भे अहिले कहाँ–कहाँ भइरहेको छ? 
काठमाडौबाट सुरु भएको सर्भे कार्यक्रम अहिले भक्तपुर, ललितपुर, कास्की, रुकुम, सिरहा, सप्तरी र चितवनमा विस्तार भएको छ। क्रमैसँग सबै जिल्लामा विस्तार गर्ने योजना छ।  

यसरी तथ्यांक लिने काम जटिल छ। ६ महिनाको अवधिमा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
धेरैको सहयोग चाहिने भएकाले यो सुरु गर्न निकै गाह्रो थियो। अस्पतालमा जाँदा निर्देशकको मात्र सहयोग भएर पुग्दैन, त्यहाँका इन्चार्च, मेट्रोन लगायतको सहयोग चाहिन्छ। एकै संस्थाका चार–पाँच जनाको सहयोग आवश्यक हुन्छ। 

यसबारे बताउन समुदायमा जाँदा पनि बुझाउन निकै समस्या थियो। कसैले निकै सहयोग गर्नुहुन्छ, कतिपय ठाउँमा भने त्यस्तो सहयोग पाउन गाह्रो छ। 
अर्को कुरा, हाम्रो देशमा रेकर्ड राख्ने सिस्टम एकदमै कमजोर छ। कतिपय आवश्यक रेकर्ड पाउन समस्या भयो। तर, हामीले सर्भे सुरु गरेसँगै ६ महिनाको अवधिमा अस्पतालले सबैखाले तथ्यांक र विवरण राखिदिन थालेका छन्। 

हामीलाई बिरामीको हिस्ट्रोप्याथोलोली रिपोर्ट अनिवार्य चाहिन्छ। त्यो अहिले सबैले राख्दिनुहुन्छ। बिरामीको फोन नम्बर पनि राख्दिनुहुन्छ। नपुगेका कुरा हामी आफै फोन गरेर जानकारी लिन्छौं। 
त्यसबाहेक हामीले अस्पतालमा रेकर्ड राख्न रजिस्टर पनि बनाएका छौं। महिला स्वास्थ्य स्वयंसेविकाका लागि बुझिनेगरी नेपालीमा फारम बनाएका छौं।

अन्त्यमा के भन्न चाहनुहुन्छ?
यो काम सुरु गर्न गाह्रो भए पनि बिस्तारै सिस्टम बस्न थालेको छ। लामो समयदेखिको प्रयास कार्यान्वयनमा गएको अवस्थामा सबैको साथ–सहयोग आवश्यक छ। सर्भेको काम निश्चित समयका लागि नभई निरन्तर चलिरहने प्रक्रिया भएकाले हामीले सधैं अपडेट रहनुपर्ने आवश्यकता छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने