नर्सिङ

बिरामीको आफन्तलाई सम्झाउँदा सम्झउँदै मेरो आँखामा पनि आँशु आयो : नर्स सिर्जना


सिर्जना भट्टराई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत छिन्। 

दुई वर्षअघि। पोस्टनियोटल वार्डमा उनको रात्रि ड्युटी परेको थियो। त्यहाँ भर्खरै सुत्केरी भएकी आमा र बच्चालाई राखिएको थियो।

३० जना बिरामी हेर्नुपर्ने जिम्मा थियो उनमा। त्यसक्रममा बच्चाले राम्रोसँग दूध खाएका छन् कि छैनन्, बच्चालाई न्यानो पारिएको छ कि छैन भनेर एकछिन सबैतिर हेरिन्, आमा र बच्चाका आफन्तलाई सम्झाइन्। ‘केही प¥यो भने खबर गर्नुहोला’ भन्दै उनी आराम गर्नतिर लागिन्। 

एकछिनपछि एक बिरामीका आफन्त ‘बच्चा चिसो भयो रुँदा पनि रुँदैन’ भन्दै आए। उनी गएर चेक गर्दा बच्चा मरिसकेको रहेछ। तीन छोरीपछि जन्मिएको छोरा थियो। तर दुर्भाग्यवश मृत्यु भयो। पछि थाहा भयो, आमाको दूध नपुगेर मृत्यु भएको रहेछ। त्यतिबेला उनले सार्‍है नराम्रो अनुभूति गरिन्।

रोइरहेका आफन्तलाई सम्झाउन लागिन्।

तर यो घटनाले उनको भित्री मन छोयो। आफन्त सम्झाउँदा–सम्झाउँदै उनका आँखामा पनि आँसु आयो।  

०००

एकजना बिरामी दिउँसो सामान्य रगत बगेर भर्ना भएकी थिइन। त्यो रात उनी ड्युटीमा एक्लै थिइन्।

त्यो दिन पनि अरुदिन जस्तै सामान्य जाँच गरेर रेस्ट गर्दै थिइन् । दिउँसो भर्ना भएकी बिरामीको एक्कासी धेरै रगत बगन थाल्यो।

रातीको समय जेनरल वार्डमा २४ घण्टा डाक्टर पनि नआउने, आफू एक्लै के गर्ने भनेर अन्यौलमा परिन्। बिरामी सकमा जान थाल्यो, उनी नर्भस भईन्।

त्यो सबै अवस्था ह्याण्डल गर्ने जिम्मा उनमा थियो। बल्लतल म्यानेज गरिन्। उनी त्यस दिनदेखि सधैं सजक भएर बस्न थालिन्।

चुनौतिको सामना कसरी गर्ने भनेर उनलाई त्यो घटनाले सिकायो। 

०००

२०६६ सालदेखि थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा कार्यरत जोरपाटीकी सिर्जना भट्टराईले यस्ता अनेकौं परिस्थितिको सामना गरिसकेकी छन्।

र, तिनलाई कुशलतापूर्वक पार लगाएकी पनि छिन्। सेवा सुरु गरेयता उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन्।

केन्द्रीय अस्पताल भएका कारण सेवाका दौरानमा उनले देशभरका विभिन्न थरीका बिरामीको सेवा गर्ने मौका पाइन।

यसबीचमा उनले विभिन्न खालका बिरामी भेटेकी छन्। कोही हँसिलो, कोही रिसाहा तथा कोही मिलनसार र सहयोगी बिरामीसँगको सम्पर्कले उनलाई धेरै कुरा सिकाएको पनि छ। 

भन्छिन्, ‘कुनै बिरामी जे भने पनि मान्ने खालका ज्ञानी हुन्छन्, तर केही भने धेरै प्रश्न गर्ने र जति बुझाएपनि बुझ्दै नबुझ्ने, झगडा गर्ने खालका हुन्छन्। 

आफूले जस्तो व्यवहार गर्‍यो अरुले पनि त्यस्तै व्यवहार गर्छन् भन्ने मान्यता छ उनको। त्यसैले बिरामी, तिनका आफन्त तथा अरुलाई नराम्रो व्यवहार गर्दिनन् उनी। सधै बिरामीसँग हाँसीहाँसी बोल्ने, बिरामीको रोगका बारेमा बिरामीसँगै बुझ्ने ग¥यो भने छिटो निको हुन्छ भन्ने विश्वास छ उनको। तर, यति गर्दा पनि नसलाई गाली गर्दा भने कहिलेकाँही दुःख लाग्ने बताउँछिन्। 

नर्स भनेको जति गरे पनि जस नपाउने पेसा हो भन्ने उनले बुझेकी छिन्। त्यसैले अहिले आफ्नो जिम्मामा रहेको काम इमानदार भएर गर्छिन् ।  त्यसमा कसैको चित नबुझ्न सक्छ, कसैको नपर्न सक्छ। सानातिना कुरामा चित्त दुखाउनु हुँदैंन भन्ने राम्रोसँग थाहा छ उनलाई। 

उनी नर्स मात्र होइनन् एउटी आमा हुन्, बुहारी हुन् र पत्नी हुन्। उनलाई आफ्नो भूमिका राम्रोसँग थाहा छ। परिवारको साथ नपाएको भए आफू कुनै पनि काम गर्न नसक्ने बताउँछिन् उनी। ‘छोरा सानो छ, अस्पताल हिँड्ने बेला भएपछि आमा अस्पताल नगएहुन्थ्यो जस्तो गर्छ तर परिवारको सहयोगले गर्दा उहाँहरुले बच्चालाई हेरिदिनुहुन्छ’, उनले आफ्नो बाध्यता स्पष्ट पारिन्। 

‘नर्स भएपछि बिहान र दिउँसो मात्र काम गर्छु भनेर हुँदोरहेनछ कहिलेकाहि रातिको डिउटी पनि पर्छ। छोरालाई १४ महिनादेखि नै छाडेर र नाइटडिउटी गरेकी हुँ, त्यसैले उसलाई पनि थाहाँ भसक्यो ममी मलाई छाडेर काम गर्न जान्छ भनेर। 

सानैमा नर्स बन्छु भन्ने सोच र अहिले आएर यही पेसा रोजेकाले पनि होला उनलाई कहिल्यै यो पेशाप्रति झर्को लागेन। विभिन्न समस्या आउँदा पनि हिम्मत हारेकी छैनन्। 


नोट: तपार्इहरुसँग पनि यस्ता थुप्रै अनुभव हुनसक्छन्। तपार्इ आफ्ना अनुभव हामीसँग सेयर गर्न सक्नुहुनेछ। आफ्ना अनुभव हामीलार्इ हाम्रो इमेल healthnewspaper@gmail.com मा पठाउन सक्नुहुनेछ। 

धन्यवाद।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने