डक्टर्स आर्टिकल

मोबाइल, ट्याब तथा ल्यापटप चलाउनेलाई हुने ‘टेक्स्ट नेक’ समस्या के हो ?

 डा विप्लव सापकोटा

प्रविधिको विकास र अत्यधिक प्रयोगसँगै आजकाल अधिकांस मानिस काँध र पिठ्युँको मांसपेशी दुख्ने समस्याबाट पीडित छन्। बाध्यतावश होस् या लतका कारण, मोबाइल, ल्यापटपमा घण्टौं झुण्डिरहने जमात बढ्दो छ। 

अष्ट्रेलियामा हालै गरिएको एक अध्ययनमा मोबाइल फोन प्रयोग गरेका बेला अधिकांशको गर्धन र पिठ्युँ झुक्ने गरेको र त्यसबाट शरीरका कयौं भागमा पीडा सुरु हुने गरेको पाइएको थियो। यसलाई ‘टेक्स्ट सिन्ड्रोम’ या ‘टेक्स्ट नेक’ भनिन्छ। 

अध्ययनकर्ताका अनुसार यो समस्याबाट पीडित बिरामीको संख्या विश्वभर तीब्र गतिमा बढ्दो छ। स्मार्टफोनको लगातार प्रयोगका कारण ५० प्रतिशत मानिसहरू यो समस्याबाट पीडित भएको आँकलन गरिएको छ। मानिसहरू गर्धन दुख्ने समस्या रहेको भन्ने गर्छन्। तर आफू ‘टेक्स्ट नेक’ को शिकार भएको उनीहरूलाई थाहा हुँदैंन। 

लगातार मोबाइल फोन चलाउँदा स्पाइन र गर्धनमा थकान हुन्छ। यहीकारण ऐंठन पनि हुन्छ। 

मेरुदण्डलाई सन्तुलनमा राख्न हड्डी र मांशपेसीको बराबर भुमिका हुन्छ। जब मानिस लगातार निहुरिएर केही काम गर्छन्, त्यसबाट  उसको मांशपेसीमा अधिक भार पर्न गई मांशपेसी सिथिल हुन्छ। र, यसका कारण हड्डीले बढी भार बहन गर्नैपर्ने हुन्छ। यही असन्तुलनबाट दुखाई उत्पन्न हुन्छ। 

सामान्य अवस्थामा मानिस सिधा बसेर काम गर्दा टाउकाको भार मेरुदण्ड हुँदै तल जान्छ। यो अवस्थामा मांशपेसीमा कम भार पर्छ। तर, जब निहुरिएर लगातार काम गर्छन् त्यो अवस्थामा टाउकाको भार मेरुदण्डभन्दा अगाडि जाने हुन्छ र त्यसको भार मांशपेसीले बहन गर्छ। फलस्वरुप मांशपेसी कमजोर हुँदै जान्छ। 

मांशपेसीका रेसामा साना–साना चिरा पर्छन् र आराम नपाएको अवस्थामा ती चिरा जालो बन्दै पुरिन्छ र त्यसले मासुमा साना–साना डल्ला बनाउँछ। यी डल्ला बिरामीले समेत छामेर महसुस गर्छन्। यही कारण हो बिरामीले चिकित्सकलाई दुखाई रहेको स्थानलाई सहजै देखाउन सक्ने। यी डल्लाहरू कालान्तरसम्म दुखिरहन्छन्।

भारतमा एक व्यक्ति औसत ३ घण्टा मोबाइलमा बिताउँछ भने अमेरिकामा यो अवधि ५ घण्टासम्मको छ। चिनियाहरू भने ३ देखि ४ घण्टा मोबाइलमा बिताउँछन्। नेपालमा पनि मोवाइल चलाउनेको संख्या बढ्दो छ। यस्तो अनुसन्धान नेपालमा नभए पनि ‘टेक्स्ट नेक’ भएका समस्या लिएर अस्पतालमा आउनेको संख्या बढिरहेको छ।

टेक्स्ट सिण्ड्रोमको समयमै उपचार नगर्ने हो भने माथि भनेजस्तै थकित मांशपेसीले टाउकाको भार बहन गर्न नसकेको अवस्थामा सबै भार मेरुदण्डको हड्डीमा जान्छ। जसले गर्दा हड्डी छिटो खिइने र हड्डीहरू पलाएर नसा च्यापिने समस्या आउन सक्छ। जसका कारण विस्तारै हातहरू झम्झमाउने साथै कमजोर पनि हुनसक्छ।

निरन्तरको झुकाई र खराब बसाईका कारण गर्धन र ढाडको हड्डीमा बारम्बार तनाव पर्दा हड्डीको समस्या बढ्न  थाल्छ। सुरुमा टाउको पछाडीको तल्लो भाग र काँधको दुखाई हुन्छ। बिस्तारै ढाडको हड्डीमा टेढोपन आउन सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘लस अफ सरभाइकल लोर्डोसिस’ भनिन्छ। यदि सुरुमै ध्यान नदिने हो भने स्लिप डिस्क (मेरुदण्डको दुई हड्डीको बिचमा हुने कुरकुरे हड्डी बाहिर आउने) समस्या पनि हुन सक्छ। 

उपचार
टेक्स्ट नेक समस्याको सबैभन्दा पहिलो उपचार भनेको नै मोबाइल, ल्यापटप, ट्याब लगायतका प्रविधिको कमभन्दा कम प्रयोग गर्ने नै हो। समस्या देखिइसकेको बिरामीको हकमा औषधि र फिजिओथेरापी प्रारम्भिक उपचार हो। तर केही अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।

हाम्रो समाजमा केही दिन औषधि र फिजियो गरेपछि समस्या पूर्ण रुपमा समाधान भयो भन्ने सोच्ने गरिन्छ। जसका कारण बिरामीमा समस्या पटक–पटक बल्झिने गरेको देखिन्छ। फलस्वरुप बिरामीले उपचारका लागि चिकित्सक फेर्दै हिँड्ने गरेको पाइन्छ। त्यसकारण बिरामीले चिकित्सकको सल्लाह बमोजिमकै औषधि र फिजियोथेरापी अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ। 

-हाडजोर्नी, नसा तथा स्पाइन रोग विशेषज्ञ डा सापकोटा ट्रमा सेन्टर (वीर अस्पताल)मा कार्यरत छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने