नेपालगन्ज– वर्षातको शुरुवातसँगै सर्पको टोकाइ (सर्प दंश) बाट बिरामी हुनेको संख्या पनि बढ्दै गएको छ।
पछिल्ला दिन दैनिक २ देखि ३ जना सर्पदंशका बिरामी उपचारका लागि नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउन थालेका छन्।
सर्पदंशपछि उपचारका लागि नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने क्रममा अस्पताल नपुग्दै बाटोमै १० जना र अस्पतालमा उपचारका क्रममा १ जना गरी वैशाखयता ११ जनाको मृत्यु भएको उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका डाक्टर कृष्ण आचार्यले बताए।
पश्चिम नेपालको महेन्द्रनगर, धनगढी, सुर्खेत र दाङबाट समेत सर्प दंशका बिरामी रिफर भएर नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने गरेका छन्।
भेरी अञ्चल अस्पतालको आइसियूमा ४ जना र बार्डमा २ जना गरी अहिले ६ जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ।
यो वर्ष वैशाख १ देखि हालसम्म उपचारका लागि आएका १ सय ९ जना सर्पदंशका बिरामीमध्ये ४१ जनालाई विषालु सर्पले डसेको अस्पतालले जनाएको छ।
उपचारका लागि आउने अधिकांश बिरामीले राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको बताउने गरेका छन्।
बाँके, बर्दिया र कन्चनपुरका राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएका गाउँका बासिन्दा सर्पको टोकाइबाट बढी पीडित हुने गरेका छन्।
सर्पको टोकाइबाट बच्न खाटमा झुल लगाएर सुत्ने, घर नजिकै दाउरा, ढुंगा आदिको थुप्रो नराख्ने, शौचालय जाँदा टर्चको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्।