काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाकटर र स्वास्थ्यकर्मीलाई बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिएको छ । यो मौसममा प्राकृतिक प्रकोप, बाढि, पहिरो र सरुवा रोगको संक्रमण हुने हुँदा देशभरिका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन निर्देशन दिइएको बताइएको छ।
मन्त्रालयले बिहीबार उक्त निर्देशनात्मक आदेश देशभर पठाएको छ । मन्त्रालयको निर्देशन नमानेर बिदामा बस्ने, बन्द र हड्तालमा उत्रिने गरेमा कारबाही हुने स्पष्ट पारेको छ । भनिएको छ, ‘उल्लेखित क्रियाक्लाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिनेछ।’
जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलित हुने योजना बनाइरहेका बेला यस्तो आदेश आएको हो । डा केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी डाक्टर र स्वास्थ्यकर्मीका संगठनले दिएका छन्।