विश्व स्वास्थ्य

यसकारण मैले बन्ध्याकरणलाई गोप्य राखेँ : माइकल

 एस्ली लिमे

बिबिसी- बन्ध्याकरण गराउने थोरै अफ्रिकी पुरुषमध्ये माइकल एक हुन्।

तर त्यसबारे कुरा गर्न उनलाई लाज लाग्छ। अफ्रिकामा सांस्कृतिक विश्वासले पुरुषहरूलाई बन्ध्याकणबारे कुरा गर्न कसरी गाह्रो बनाएको छ भन्नेबारे उनले बीबीसीलाई सुनाए। केही विज्ञहरूका अनुसार अफ्रिकी महादेशमा भइरहेको जनसंख्या वृद्धिलाई रोक्ने उपाय पुरुष बन्ध्याकरण पनि हुनसक्छ।

'मैले आफ्नी श्रीमतीलाई एउटा उपहार दिन चाहेँ, उनको लागि एउटा त्याग गर्न चाहेँ,' माइकल भन्छन्, 'उनलाई म कति माया गर्छु भन्ने कुरा प्रमाणित गर्न र कुन हदसम्म जानसक्छु भन्ने देखाउन मैले त्यसो गरेँ।'

३४ वर्षीय माइकल (परिवर्तित नाम) ले केही महिनाअघि मात्रै बन्ध्याकरण गराएका हुन्। तर यो कुरा श्रीमतीबाहेक कसैलाई पनि उनले बताएका छैनन्।

'अरू कसैले थाहा पाए भने त म पूरै रिसाउनेछु। यसबारे यहाँ कुरा गर्न रुचाइँदैन र म चाहन्न कसैले मेरोबारे धारण बनाउन अथवा मेरो निजी जिन्दगीमा कुनै प्रकारको दखल दिऊन्,' आफ्नो नाम नखुलाउनुको कारणबारे बताउँदै उनले भने।

युरोपेली मुलुकहरू र अमेरिकामा जस्तो अवस्था छैन, कैयौँ अफ्रिकी मुलुकहरूमा त पुरुष बन्ध्याकरणले एक प्रकारको डर निम्त्याउँछ।

भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) चिकित्सकीय विधि हो जसअन्तर्गत महिलामा स्थायी रुपमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषको शुक्रवाहिनी नली छेदन गरिन्छ वा बाँधिन्छ।

पुरुषहरूलाई चेतना शून्य बनाएर उक्त शल्यक्रिया गरिँदा होसमा भए पनि उनीहरूले पीडा महसुस गर्दैनन् र त्यो गर्न १५ मिनेट जति लाग्छ।

उक्त विधि गर्भ रहन नदिनमा ९९ प्रतिशतभन्दा बढी प्रभावकारी रहिआएको बताइन्छ।

भ्यासेक्टोमीले पुरुषको यौनक्षमता अथवा यौनसन्तुष्टिमा कुनै असर गर्दैन।

भ्यासेक्टोमी गराएका पुरुषहरू पनि उत्तेजित र स्थलित हुनसक्छन्। फरक यति हो स्खलित भए पनि शुक्राणु आउँदैन।

यौनसम्बन्धबाट हुने संक्रमणलाई चाहिँ पुरुष बन्ध्याकरणले रोक्न सक्दैन। त्यसका लागि कण्डमको प्रयोग सबैभन्दा उत्तम अर्थात् ९८ प्रतिशत प्रभावकारी मानिन्छ।

सन् २०१३ को संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदन अनुसार शून्य दशमलव १ प्रतिशत अफ्रिकी पुरुषले मात्रै बन्ध्याकरण गराएको पाइएको थियो।

अफ्रिकामा पुरुष बन्ध्याकरणबारे आजको मितिसम्म त्यति विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको त्यो नै पहिलो हो।

दक्षिण अफ्रिका र नामिबियामा चाहिँ यो दर केही बढी रहेको छ। दक्षिण अफ्रिकामा शून्य दशमलव ७ प्रतिशत छ भने नामिबियामा शून्य दशमलव ४ प्रतिशत रहेको छ।

विश्वभरि करिब २ दशमलव २ प्रतिशत पुरुषले मात्रै बन्ध्याकरण गराएको तथ्याङ्क छ जबकि बन्ध्याकरण गराउने महिलाको संख्या १८ दशमलव ९ प्रतिशत रहेको छ।

तर माइकल भन्छन्, परिवार नियोजनको सुई लगाउँदा मेरी श्रीमतीलाई हुने पीडाबाट मुक्ति दिलाउन म संस्कृतिलाई बीचमा आउन दिन्न।

तीन सन्तानका पिता माइकललाई थप बच्चा पाउने रहर अब छैन।

उनले भने, "सुई लिएपछि तिघ्रा उचाल्दा दुख्ने जस्ता कैयौँ समस्या उनीमा देखियो। उनको छाला सुक्खा र खस्रो भइरहेको थियो। तौल पनि निकै छिटो घट्यो।"

उनकी श्रीमती अनिच्छित बच्चा पाउनसक्ने डरबाट अब मुक्त भएको बताउँछिन्।

तर उनलाई डर छ कुनैदिन आफ्ना श्रीमान्‌ले बन्ध्याकरण गराएको थाहा अरूले नपाऊन्। त्यहीँ कारणले उनले त्यो राजलाई अहिलेसम्म राजमै सीमित राखेकी छन्।

श्रीमान्‌ले बन्ध्याकरण गराएको थाहा पाएर शुरूमा उनी आफैँ आश्चर्यमा परिन्।

उनले बीबीसीलाई भनिन्, "अफ्रिकी पुरुषहरूले खासै बन्ध्याकरण नगराउने भएकोले उनले मेरो लागि गराउँछन् भन्ने मलाई विश्वास नै थिएन।"

"हामी जहाँका हौँ त्यहाँका मानिसहरू भन्छन् जति सकिन्छ बच्चा जन्माउनुपर्छ।"

विज्ञहरूका अनुसार अफ्रिकी पुरुषहरूले बन्ध्याकरण नगराउनुको ठूलोमध्येको एउटा कारण हो-उनीहरूले त्यसलाई बेवास्ता गर्नु र बन्ध्याकरणबारे गलत जानकारी हुनु।

यौन स्वास्थ्यसन्बन्धी एउटा गैरसरकारी संस्था फेमिली हेल्थ अप्सन्स केन्या (एफएचओके) का लागि कार्यरत डा. चार्ल्स ओचिएङ भन्छन्, "कतिपय मानिसले अण्डकोष झिकिने कार्यसँग बन्ध्याकरणको तुलना गर्छन्। उनीहरूलाई लाग्छ पुरुष अङ्ग नै काटेर फालिन्छ र उनीहरू पनि महिलाजस्तै हुन पुग्छन्।"

केन्यामा चलाइएको एउटा निःशुल्क अभियान अन्तर्गत थुप्रै पुरुषहरू बन्ध्याकरण गराउन आए।

एफएचओके बन्ध्याकरण गर्न अमेरिकाबाट स्वयंसेवक चिकित्सहरूको एउटा टोली झिकाएको थियो।

केन्यामा परिवार नियोजनको जिम्मा महिलाकै काँधमा हुने गरेको पाइन्छ।

तर चारदिने सचेतना अभियान अन्तर्गत एक सयजना 'बहादुर पुरुषहरू' बन्ध्याकरणका लागि अगाडि सरेको उक्त गैरसरकारी संस्थाको भनाइ छ।

करिब ७० जना उपस्थित भए जसमध्ये अधिकांशले आफूहरूको पहिचान बाहिर नल्याउन आग्रह गरे।

र, गत वर्ष राष्ट्रसंघले गरेको एउटा प्रक्षेपण अनुसार सन् २०५० सम्ममा अफ्रिकी महादेशको जनसंख्या दोब्बर पुग्ने भएकोले यसबारे अफ्रिकीहरूले चिन्ता गर्नैपर्छ।

जनसंख्यासम्बन्धी राष्ट्रसंघीय निकायका निर्देशक जन विलमोथ भन्छन्, "अति गरीब देशहरूमा हुने जनसंख्या वृद्धिले बेग्लै प्रकारका चुनौतीहरू देखाउँछ।"

"त्यसले गरिबी तथा असमानता हटाउन, भोकमरी एवम् कुपोषणको समस्यासँग जुझ्न र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउन झन् कठिन बनाउनेछ।"

माइकल सम्झन्छन्, उनका बुवाआमाले उनी र तीन भाइबहिनीलाई तीन छाक खाना पुर्‍याउन सक्दैनथिए।

"हाम्रो ठूलो परिवार थियो र हामीलाई हुर्काउन आमाबुवाले ठूलो संघर्ष गर्नुपरेको थियो। त्यहीँ बाटोबाट म पनि गुज्रिन चाहन्न।"

"म चाहन्छु हाम्रो परिवार यस्तो होओस् जसलाई मैले सहज ढङ्गले सम्हाल्न सकूँ।"

तीन सन्तानका पिता माइकल भन्छन्, मलाई बन्ध्याकरण गराउन २० मिनेट पनि लागेन र दुखाइ पनि सामान्य नै थियो।

कतिसम्म भने बन्ध्याकरण गराएको दिन उनी कार्यालय पनि गए।

माइकल भन्छन्, बन्ध्याकरण गर्नुअघि पुरुषहरूलाई त्यसबारे पूर्ण जानकारी दिनुपर्छ।

"केही मानिसहरूलाई लाग्छ बन्ध्याकरण गराएपछि पुरुषत्व बाँकी रहँदैन।"

डा. ओचिएङ भन्छन्, पुरुष बन्ध्याकरणका केही बेफाइदा पनि छन्। तर बेफाइदाको तुलनामा फाइदाको पल्ला भारी हुन्छ।

उनी थप्छन्, बन्ध्याकरण गराएको केही घण्टासम्म कतिपयले दुखाइ महसुस गर्दछन् र दुई वा त्यो भन्दा केही दिन बढी उनीहरूलाई गह्रुँगो सामान नउठाउन सुझाव दिने गरिन्छ।

तर अफ्रिकन पपुलेशन एन्ड हेल्थ रिसर्च सेन्टर (एपीएचआरसी) का अनुसार शल्यक्रियाका थोरै मात्रामा जोखिम अथवा जटिलता पनि छन्।

पुरुष बन्ध्याकरण गर्न विरलै ३० मिनेटभन्दा बढी समय लाग्छ।

थोरै मात्रामा मात्रै पुरुष बन्ध्याकरण असफल हुने गर्छ र काटिएको शुक्रवाहिनी नली विरलै पुनः जोडिन पुग्छ।

आफ्ना पुरुष साथीले भ्यासेक्टोमी गराएको वर्षमा ५०० जनामध्ये एकजना महिलामा मात्रै अनिच्छित गर्भधारण हुन गएको पाइएको छ।

पछिल्ला वर्षमा गरिएका सर्वेक्षणहरूले धेरै अफिक्री पुरुषहरूलाई भ्यासेक्टोमी परिवार नियोजनको एउटा प्रभावकारी उपाय भएको कुरा थाहा नभएको देखाएका छन्।

यो क्यानाडा जस्ता सम्पन्न देशहरूको तथ्याङ्कसँग विपरीत छ।

जहाँ सन् २०१३ को एउटा राष्ट्रसंघीय प्रतिवेदन अनुसार प्रजनन उमेर भएका २२ प्रतिशत महिलाका श्रीमान् वा पुरुष साथी परिवार नियोजनका लागि भ्यासेक्टोमीमा भर पर्दछन्।

संयुक्त अधिराज्यमा त्यो दर २१ प्रतिशत, न्यूजिल्याण्डमा साढे १९ प्रतिशत र अमेरिकामा ११ प्रतिशत पाइएको छ।

सन् २०१४ मा केन्यामा गरिएको एउटा सर्वेक्षण अनुसार त्यहाँका ३८ प्रतिशत विवाहित महिला र ४८ प्रतिशत विवाहित पुरुषलाई मात्रै भ्यासेक्टोमी परिवार नियोजनको एउटा साधन हो भन्ने कुरा थाहा भएको पाइएको थियो।

नाइजेरियामा सन् २०१३ मा गरिएको सर्वेक्षणले १६ प्रतिशत विवाहित महिला र २७ प्रतिशत विवाहित पुरुष मात्रै भ्यासेक्टोमीबारे जानकार रहेको देखाएको थियो।

सन् २०१३ मै लाइबेरियामा गरिएको सर्वेक्षणले २० प्रतिशत विवाहित महिला र पुरुषलाई भ्यासेक्टोमीबारे जानकारी रहेको देखाएको थियो।

सानो भूपरिवेष्ठित मुलुक रूवाण्डाले जनसंख्या वृद्धि रोक्न सन् २०११ यता पुरुषहरूलाई बन्ध्याकरण गराउन प्रोत्साहित गर्दै आएको छ।

तर यस्ता प्रोत्साहनका बावजुद ठूलो संख्यामा अफ्रिकी पुरुषहरू बन्ध्याकरण गर्न थाल्नेमा माइकल विश्वस्त देखिँदैनन्।

उनी भन्छन्, "पुरुषहरूमा बन्ध्याकरणविरुद्धको सोचले जरा गाडेको छ। अतः उनीहरूको चित्त बुझाउने काम चाहिँ त्यति सहज छैन।"

-बिबिसी नेपाली

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने