काठमाडौं– सेप्सिसको उच्च जोखिममा रहदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ।
रातको २ बजे आसपास अचानक छातीमा असह्य पिडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए। सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६० , श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो।
गएराति बाटै डा केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ यसकिसिमका एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन्।
'यसरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत हो,' उपचारमा संलग्न चिकित्सक डा. धिरज गुरुङले भने, 'यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनकुनै बेला पनि बन्द हुनसक्छ।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखेको भएतापनि डा. केसीलाइ सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियुमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधासम्पन्न सेन्टरमा रिफर गर्नुपर्ने हुनसक्छ।