जीवनशैली

एमबाप्पेले विश्वकपको सबै कमाइ उपचाररत र अपांगता भएका बालबालिकालाई सहयोग गर्ने


काठमाडौं– फ्रान्सलाई रसियामा सम्पन्न विश्वकप २०१८ को उपाधि जिताउन युवा फरवार्ड केलियन एमबाप्पेको भूमिका उत्कृष्ट रह्यो। १९ वर्षीय स्टार एमबाप्पेले ७ खेलमा ४ गोल गर्दै फ्रान्सलाई विश्वविजेता बन्न मात्र सघाएनन्, व्यक्तिगत रुपमा उनी फुटबलका महान् खेलाडी पेलेपछि विश्वकपमा गोल गर्ने दोस्रो युवा खेलाडीसमेत बने।

सन् २०१७ मा जर्मन क्लब पेरिस सेन्ट जर्मेनमा १ सय ६६ मिलियन पाउण्ड लोनमा आवद्ध भएका एमबाप्पेको खेलले पिएसजी समर्थकलाई पनि खुसि तुल्याएको छ। आगामी सिजनमा भने उनी पूर्णरुपमा क्लबसँग जोडिनेछन्।

विश्वकपको ट्रफीसहित स्वदेश फर्किंदा फ्रान्सेली टोलीलाई भव्य स्वागत गरिएको थियो। सो लगत्तै उनले विश्वकपका दौरानमा आफूले कमाएको सबै रकम उपचाररत तथा अपांगता भएका बालबालिकाहरुलाई सहयोग गर्ने घोषण गरेका छन्। विश्वकपमा आफ्नो खेलकौशलका माध्यमबाट फुटबलप्रेमीको मन जितेका एमबाप्पेको यो घोषणापछि उनको थप चर्चा चुलिएको छ।

उनले ‘प्रिमियर डे कोर्डे’ च्यारिटी संसस्थामार्फत करिब ३ लाख ८४ हजार पाउन्ड सहयोग गर्ने बताइएको छ। फ्रान्सेली पत्रिका ‘लिकुइप’का अनुसार उक्त च्यारिटी संस्थाले शारिरिक रुपमा अशक्त बालबालिकाहरुका लागि निशुल्क रुपमा खेलकुदसम्बन्धी तालिम दिने गर्दछ।

‘स्पोट्र्स इलुस्ट्रेटेड’ का अनुसार विश्वकपमा खेलिएका प्रत्येक खेलमा एमबाप्पेको तलब १७ हजार पाउन्ड तोकिएको थियो। यसका अलावा सबै खेलहरुमा उनले छुट्टै २ लाख ६५ हजार पाउण्ड बोनस प्राप्त गरेका थिए। एमबाप्पेले खेलेका ७ खेल तथा बोनससहितकाे हिसाब गर्दा उनले ३ लाख ८४ हजार पाउण्ड सहयोग गर्नेछन्।

एमबाप्पेले सन् २०१७ देखिनै उक्त संस्थालाई सहयोग गर्दै आएका थिए। विश्वकप जितेपछि उनले गरेको यस घोषणाले मानवीय कारण अपांगता भएकाहरुका लागि अझै राम्रोसँग सेवा दिन सकिने ‘प्रिमियर डे कोर्डे’ ले जनाएको छ।

विश्वकपमा भएको आफ्नो पुरा कमाइ सहयोग गर्ने बताएका एमबाप्पेले बालबालिकाहरुसँगै फुटबल खेल्ने पनि च्यारिटीले जनाएको छ। एमबाप्पेको उक्त घोषणासँगै उक्त च्यारिटीका व्यवस्थापक सेविस्टियन रफिनले एमबाप्पे महान् व्यक्ति भएको बताएका छन्। फ्रान्सेली पत्रिका ‘लि पेरिसियन’सँगको कुराकानीमा उनले भने,‘एमबाप्पेको बालबालिकासँग निकै राम्रो सम्बन्ध छ। उनले बालबालिकाहरुमा सकारात्मक भावना प्रवाह गरिरहन्छन्। उनको समयतालिकामा केही फुर्सद मिल्ने बित्तिकै हामी एकसाथ खुसि मनाउने छौँ।’

एमबाप्पेको यस कार्यले फ्रान्सेली टोलीका अन्य सदस्यहरुलाई पनि प्रेरणा मिलेको बताइएको छ। फ्रान्सेली पत्रिका ‘लिकुइप’का अनुसार केही खेलाडीहरुले आफ्नो कमाइको केही हिस्सा बोन्डीस्थित जेन रिनोइर कलेजका २५ विद्यार्थीकाे रसियामा शैक्षिक भ्रमणका लागि सहयोग गर्नेछन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने