काठमाडौं– सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत दिइँदै आएको भत्ता दोब्बर गरेको छ । बजेटमा भएको व्यवस्थाअनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले दिइँदै आएको भन्दा दोब्बर भत्ता दिन पत्रचार गरेको छ। सरकारले गर्भवती जाँच भत्ता र सुत्केरीलार्इ यातायात खर्च दिँदै आएको छ।
अबदेखि हिमाली क्षेत्रका महिलाले सुत्केरी ३ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि १ हजार ५ सय रुपैयाँ थियो । पहाडि क्षेत्रका सुत्केरीले २ हजार रुपैयाँ पाउनेछन्, यसअघि एक हजार थियो भने तराई क्षेत्रका सुत्केरीले १ हजार रुपैयाँ पाउनेछन् । यसअघि ५ सय रुपैयाँ पाउँथे।
स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराए वापत दिइने गरेको भत्ता पनि दोब्बर पारिएको छ । प्रोटोकल अनुसार गर्भ जाँच गरेपछि भत्तास्वरुप यस वर्षबाट ८ सय रुपैयाँ पाउनेछन् । यसअघि ४ सय थियो।