काठमाडौं- सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच मंगलबार भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ।
शिक्षा मन्त्रालयमा राति ९ बजेबाट सुरु भएको वार्ता करिब पौने घन्टासम्म भएको थियो। सो क्रममा सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन नसकेको डा केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बताए।
'उहाँहरुले डा केसीलाई काठमाडौं ल्याउनुपर्ने कुरा मात्र एकोहोरो राख्नुभयो', डा सिंहले भने, 'वार्तामा सरकारी टोली गम्भीर रुपमा प्रस्तुत भएको देखिएन।'
यसअघि मंगलबार बिहान भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो। सोमबार रातिको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो।
मंगलबार बिहानको वार्तामा सरकारी वार्ता टोलीका सदस्यले डा केसीका मागलाई भन्दा पनि जुम्लाबाट रेस्क्यु र उपचारका विषयमा कुरा गर्न आफूलाई पठाइएको बताएपछि डा केसी पक्षधर वार्ता छोडेर हिँडेका थिए।
डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए।
चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका मागसहित डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्।