विचार/ब्लग

डा केसीलार्इ एक शुभचिन्तकको खुला पत्र: मित्ररूप धारण गरेर आक्रमण गर्नेबाट जोगिनुहोला

इन्द्र मगर

आदरणीय सत्याग्रही प्राध्यापक डा गोविन्द केसीज्यू,
सादर नमस्कार ।

सर्वप्रथम तीन करोड नेपालीको स्वस्थ भविष्य निर्माणार्थ १५औं शृङ्खलाको यहाँको सत्याग्रह प्रति सम्मान प्रकट गर्दछु । सत्याग्रहको शिलशिलामा यहाँको स्वास्थ्य अवस्था कतिपनि कमजोर नहोस् भन्दै यहाँको सत्याग्रह प्रति एक्यवद्धता समेत जनाउँदछु ।  तपार्इंले गर्नुभएको त्यागप्रति यदाकदा लाग्ने गरेका कपोकल्पित लान्छना बाहेक सिङ्गो राष्ट्र यहाँको साथमा छ भन्ने विश्वास दिलाउन पनि चाहन्छु । हाल सत्तामै रहेका सत्ताधारी र उनीहरूका समर्थकहरू पनि यहाँको माग प्रति सहमत छन् । तथापी, केही असहज तत्वहरूका कारण वाध्यवश गुपचुप रहेका देखिन्छन् । एउटा सभ्य समाजका लागि यो शोभनीय कदापि होइन, तापनि हामी यस्तै परिस्थितिबाट गुज्रिरहेका छौ, हाम्रो बिडम्बना । जे होस्, यहाँको माग गरिब, निमुखा र दूरदराजका शालिन नागरिकहरू जो हिजो, आज र भोलि राज्यका तर्फबाट सँधै शोषित, पिडित र सिमान्तकृत भएर बस्न बाध्य छन्, उनीहरूको सुनौलो स्वस्थ भविष्यपरक छन्, यसमा कुनै दुइमत छैन । तसर्थ, ति तमाम नेपाली नागरिकहरूको तर्फबाट यहाँलार्इ साधुवाद एवं शुभकामना ।

आदरणीय डा केसीज्यु, तपार्इंले गरिरहेको सत्याग्रहलार्इ भावी पुस्तासमेतले उदाहरणको रूपमा लिउन् र यही कारण कसैको आँशु नबगुन् भन्नका खातिर यो पत्र लेख्ने दुस्साहस गरेको छु । स्वास्थ्य क्षेत्रका बेथितिहरूको वर्णन गर्दा इन्द्रको अगाडि स्वर्गको बयान गरे सरह हुने हुनाले त्यता तर्फ लागिनँ।

आफ्नो सत्याग्रहका कारण विद्यार्थि, कर्मचारी वा सर्वसाधरणले दुख नपाउन् भन्ने अभिप्रायले पन्ध्र पटकको अनशनका क्रममा जुम्लाबाट काठमाडौं जाने निर्णयले यहाँको महान् मनमष्तिकको उदाहरण प्रस्तुत गरेको छ । लगत्तै काठमाडौंमा यहाँले कुनै पनि स्वास्थ्य जाँच नगर्न र उपचार नलिन गर्नुभएको निर्णयले यहाँको निस्वार्थि सेवाभावको उचाइ अझ प्रगाढ र सर्वोच्च भएको छ।

अस्पताल परिसरमा सार्वभौम नागरिकमाथि राज्यले मच्चाएको उदण्ड शैली र व्यवहारको चर्चा गरेर समय खेर फाल्न जरूरी देख्दिनँ, तसर्थ त्यता पट्टि नलागौं । त्यसैगरी, यहाँले नाम तोकेर आजसम्म कसैलार्इ स्वास्थ्य माफिया भन्नुभएको जस्तो लाग्दैन तर पनि “चोरको खुट्टा काट्छु” भन्दा चोरले खुट्टा उचालेको जस्तो केही व्यक्तिहरू स्वघोषित रूपमा माफिया भन्यो भनेर कोकोहोलो गर्दैछन्, उनीहरूको बर्णन गरेर यहाँको अमूल्य समय खर्चिन पनि चाहन्नँ। धमिलो पानीमा माछा मार्न र राजनीतिक स्वार्थ पूरा गर्न केही राजनीतिक आवरणमा घुसपैठ गरी अशान्ति मच्चाउन उद्धत छन्, यी विचराहरूको व्याख्या गरिरहनु पनि जरूरी देख्दिनँ।

व्याख्या तिनीहरूको गर्न जरूरी छ, जसका लागि यहाँले आफ्नो अमूल्य जीवनलार्इ दाउमा राखिरहनु भएको छ । समय तिनको लागि खर्चिन खोजिरहेको छु, जसले सामान्य सिटामोलको आशामा कलकलाउँदो जीवनबाट बिश्राम लिन बाध्य पारिएको छ । दाहिने खुट्टाको समस्या हुँदा देब्रे खुट्टा काटिएको छ, सुत्केरी हुन नसकेर छटपटाहटमा मृत्युवरण स्वीकार्न बाध्य पारिएको छ । ५०० को उपचारका लागि ५०,००० खर्च गराइएको छ अर्थात्, असहाय, निमुखा जनताको रगत र पसिनामाथि पौडी खेलिएको छ । हो, तिनै गरिब निमुखा जनताको बारेमा केही लेख्ने प्रयास गरेको छु, जसको आवाज बुलन्द पार्नका लागि यहाँको त्याग र बलिदानले सत्य र असत्यको महासंग्राममा अटल विश्वासकासाथ संघर्ष गरिरहेको छ।

आदरणीय  डा के.सि.ज्यू, म यहाँलार्इ एक दशक अघिको नेपालको राजनीतिक द्वन्दको स्मरण गराउन चाहन्छु । सर्वहारा जनताको नाममा हजारौं निरपराध नेपाली दाजुभार्इ दिदीबहीहरूले बलिदान गरेको स्मरण गराउन चाहन्छु । तत्कालिन राजनीतिक द्वन्दका टाउके हिमायतीहरूको नीति के थियो ? मलार्इ थाह हुने कुरा भएन तर “बुर्जुबा शिक्षाको काम छैन, जनवादी शिक्षाका लागि बन्दुक समाऊ र जनसत्ता स्थापना गरौं” भनेर कलम कापी समाइरहेका तिनै दूरदराजका कलिला हातहरूमा बन्दुक थमाउँदै उनीहरूको भविष्य अन्धकार पार्ने तत्वहरू कतैबाट छिपेका छैनन् ।
ति निर्दोष सोझा निमुखा जनताको बलिदानबाट प्राप्त सत्ताको भरपुर उपभोग गरेर बिलासित 18बाट तिनै शहिदका सन्तति तथा परिवारलार्इ कुरी–कुरी गरेर गिज्याइरहेका छन्, तथाकथित सर्वहाराका नेताहरू । आज तिनै सामन्तपरस्त सोचमग्न मुट्ठीभर व्यक्तिहरूमा जनताको सेन्टिमेन्ट माथि खेलवाड गर्दै सत्तारोहण गर्ने सुअवसर पनि प्राप्त भएको छ । उनिहरूको नियत नै यही हो यसमा खोट लगाउनु पनि बेकार छ।

गल्ति हामीले गर्यौं, सही जनप्रतिनिधि छानेर पठाउन सकेनौं, पश्चाताप गरेर पनि केही फाइदा छैन, भविष्यमा विवेक प्रयोग गरौं, हजुर मार्फत् सबैमा हार्दिक अपिल गर्दछु । त्यो बेलाको जनयुद्दको नाममा गरिएको नरसंहार र अहिले यहाँले गर्नुभएको लोकतान्त्रिक सत्याग्रह किन तुलना गर्न खोजिरहेको छु भने, जसले राजनीतिक नाममा त्यतिका नरसंहार गर्यो, तिनै व्यक्ति पुन यहाँको सत्याग्रहलार्इ राजनीतिक आवरणमा पक्ष विपक्षमा विभाजित गर्ने प्रयास गरिरहेका छन्।

यसको ज्वलन्त उदाहरण पछिल्लो घटना जुम्लाको अस्पतालमा भएको घुसपैठ एवं तनावलार्इ लिन सकिन्छ । अब, धमिलो पानीमा माछा मार्नेहरूको मनोबल बढिसकेको छ । सत्याग्रहको स्थानबाट पक्ष विपक्ष विभाजन गरिकन, भिडन्त गराउने र तपार्इं जस्ता निडर, निस्वार्थी योद्धालार्इ गलाउने।

यो रणनीति खेल्नेहरूलार्इ सायद सरकारले साथ नदेला भन्न सकिने अवस्था रहेन, किनकि सरकार जनभावनामाथि दुर्इ तिहाइ बहुमतको शक्ति प्रदर्शन गरेर बलमिच्याइँ गर्न अग्रसर छ । यदि यस्तो हुन गयो भने, फेरि पनि शिक्षण अस्पताल, वीर अस्पताल जस्ता सरकारी अस्पतालहरूमा तनाव श्रृजना गराइन्छ र निमुखा जनताहरूनै चेपुवामा पर्न वाध्य पारिन्छ । यहाँलार्इ अवगत नै होला, मुलुकका कस्ता कस्ता मानिसहरू शिक्षण अस्पताल, वीर अस्पतालमा उपचारका लागि आउँछन् । पूरा राज्यको ध्यान आकर्षित गर्ने सत्याग्रहीको त जुम्लामा उपचार हुन सक्दैन भनेर राजधानी ल्याइयो भने अरू सर्वसाधरणको के हालत होला ? त्यति टाढा–टाढा बाट उपचार गर्न राजधानी धाउँदा कत्रो धनराशी खर्च भयो होला ? यहाँलार्इ विधितै छ।

 अनि, हड्तालको नाममा उपचार गर्न नपाएर छट्पटिनु पर्दा कस्तो पिडावोध होला, यो हजुरलार्इ राम्रोसँग अवगत छ किनकि, यही नहोस् भनेर हजुर संघर्षरत हुनुहुन्छ । यदि यस्तो भयो भने खेतबारी बन्धक राखेर उपचार गर्न आएका बिरामीहरू पुन सरकारी अस्पतालको हडतालसँग आजित भएर तिनै महंगा अस्पताल र कहिँकतै माफियाहरूको जालमा फसेर, सारा घरखेत तमाम पार्न बाध्य हुनेछन् । यस हदमा यहाँको सत्याग्रह माफियाहरूको लागि फलिफाप सिद्ध हुनेछ र ती निमुखा जनताहरू पुन एक पटक नराम्ररी रूनेछन् । जसका लागि लडिरहनु भएको छ, उनीहरूले दुःख पाएको हेर्न नसकी, अनशन तोड्छु, भन्ने दिन नआओस् । यसका लागि जनहित गर्ने मागहरू पुरा गर्न केही कुरामा ध्यान दिनैपर्ने देखिन्छ।

हालसालै जापानमा सवारी चालकहरूले एउटा यस्तो अचम्मको आन्दोलन गरे । उनीहरूले सवारी साधन थन्क्याएर विरोध गरेनन्, बरू सारा यात्रीलाइ नि:शुल्क सेवा दिएर आन्दोलन गरे । सभ्य समाजमा यस्ता बिरोधका कार्यक्रम हुँदा रहेछन् । त्यही जापानमा धेरै पहिला जुत्ता कारखानाका मजदुरहरूले आन्दोलन गरे रे, दाहिने जुत्तामात्र उत्पादन गरे, देब्रे जुत्ता उत्पादन रोके । पछि, हरेक जुत्ताका देब्रे जोडि बनाए।

यस्ता रचनात्मक संघर्षमा सेवाग्राहीको कहिल्यै अहित नहुने र अन्तत्वगत्वा राज्यलार्इ हानी पनि नहुने साथै आन्दोलनको मर्म बमोजिम सरोकारवलाहरूले सुन्नैपर्ने परिस्थिति पनि श्रृजना हुने रहेछ । हाम्रो देशमा स्वास्थ्य क्षेत्र सुधारका लागि लागिरहनुभएको व्यक्तिलार्इ स्वास्थ्य माफियाहरूले बाधा व्यवधानका रूपमा लिएका छन् । सत्याग्रहीको जीवनमाथि धावा बोलिरहेका छन्, यसबाट डा.केसीलार्इ तलमाथि केही भयो भने तीनै माफियाहरूको पक्षमा गोल हुन्छ र निमुखा जनताका आवाज अझ कैयौं बर्ष बन्द हुनेछ । तसर्थ, डा. केसी तपार्इं बाँच्नै पर्छ । तपार्इ बाच्नका लागि तपार्इले केही कठोर निर्णय गर्नैपर्ने हुन्छ । जसका लागि तपार्इंले स्वास्थ्य उपचार र औषधि लिनैपर्छ।

पहिला तपार्इं स्वस्थ हुन जरूरी छ । त्यसपछि, सत्याग्रहलार्इ समर्थन गर्ने नाममा राजनीतिक घुसपैठ रोक्नैपर्छ । एउटा विज्ञप्ति निकालिदिनुहोस् कि गरिब जनतालार्इ सेवा दिने सरकारी अस्पतालहरू कुनै पनि बहानामा बन्द नगरियोस् । बरू तपार्इंको समर्थनमा स्वास्थ्यकर्मी, कर्मचारी कालोपट्टी बाँधेर सेवा प्रदान गरून्, सरकारी औषधि तथा अन्य सबै सेवा नि:शुल्क प्रदान गरून्, ताकि सरकारी कोषबाट बिरामीहरू उपचार लिन सकुन् । तोकिएको समय भन्दा धेरै समय अस्पतालमा सेवा प्रदान गरून्।

एउटा टीमले माइतिघर मण्डलामा स्वास्थ्य परीक्षण तथा उपचार गरिराखोस् । विद्यार्थिहरू दैनिक २० घण्टा लगातार पढिराखुन्, प्राध्यापकहरू पढाइराखुन् । सार्वभौम सम्मानित संसदमा पनि यहाँले उठाएका मागहरू सम्बोधन होस् भनेर केही जन प्रतिनिधिहरूले लोकतान्त्रिक विधिबाट संसद अवरोध गरिरहनु भएको छ । राजनितिक स्वार्थबाहिर आएर जनभावनाको कदर स्वरूप संसद अबरोध गरिएको हो भने ती जनप्रतिनिधिहरूलार्इ सलाम छ।

लोकतन्त्रको शत्रु भनेको अराजक तत्वहरूको घुसपैठ हो । यस्ता घुसपैठहरू कहिलेकाँहि मित्ररूप धारण गरेर सत्यमाथि आक्रमण गरिरहेका हुन्छन् । समयमै सचेत हुन जरूरी छ । तसर्थ, जब रहेका बाँस न तब बजेगा बाँसुरी, डा. साहेब हजुर जस्तो विद्वान व्यक्तित्वलार्इ सुझाव दिन खोजेको कदापी होइन, मात्र हजुर जस्तो योद्धाको जीवन रक्षा रोजेको हो । युग–युगसम्म यहाँको नेतृत्व खोजेको हो । आशा छ, मनन गर्नु हुनेछ ।

यहाँको शुभचिन्तक
नेपाली नागरिक

 

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live