काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटनाको छानविन गरेर दोषीलाई कारबाही नगरिए सामूहिक राजिनामा दिने चेतावनी त्यहाँ कार्यरत डाक्टर, नर्स र कर्मचारीले दिएका छन् ।
अस्पताल जस्तो संवेदनशील ठाउँमा विना जानकारी हतियार बर्दिधारी प्रहरी पसेर डाक्टर, नर्स, कर्मचारी र विद्यार्थीमाथि कुटपिट गरेको घटनाको भत्र्सना गर्दै छानविनको माग राखिएको हो । शुक्रवार बसेको सामूहिक बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ड्युटीमा रहेका डाक्टर, नर्स र कर्मचारीमाथि कुटपिट र भौतिक सामग्रीको क्षति बारे ३ दिन भित्र निष्पक्ष छानविन हुनुपर्दछ । छानविनपछि दोषीलाई कारबाही हुनुपर्दछ ।’
उनीहरुले आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता समेत सरकारसँग मागेका छन् । घटनासँग सत्यतथ्य रिपोर्ट सार्वजनिक गर्नुका साथै ज्यादतिको जिम्मेवारी लिइ लिखित माफी माग्न अपिल गरेका छन् ।
उक्त कार्य नभएमा सामूहिक राजिनामा गर्नेसम्मका आन्दोलनका कार्यक्रम अघि सार्ने बताएका छन् ।