काठमाडौं– सरकारले संघीय संरचना अनुसार मन्त्रालय, विभाग तथा माताहतका कार्यालयहरुको नयाँ संगठन संरचना तयार पारेको छ। जसअनुसार स्वास्थ्य मन्त्रालय र माताहतका कार्यालयहरुको पनि नयाँ संगठन संरचना बनेको छ।
सरकारले बनाएको नयाँ संरचना अनुसार विगतमा स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका बाल र परिवार स्वास्थ्य महाशाखा मर्ज भएका छन्। विगतमा दुई वटा छुट्टै माहाशाखा रहेकोमा अहिले दुवै मर्ज भएर परिवार कल्याण महाशाखा भएको छ। विगतमा मातृ स्वास्थ्य सम्बन्धी काम परिवार स्वास्थ्य महाशाखाले गर्दै आएको थियो भने नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषणसम्बन्धी काम बाल स्वास्थ्य महाशाखाले हेर्दे आएको थियो।
आमा र बच्चाको स्वास्थ्यलाई हेर्ने एउटै महाशाखा बनाइएको विषयलाई स्वास्थ्य क्षेत्रमा लामो समय काम गरिरहेका विज्ञहरुले कसरी लिएका छन्? भन्ने विषयमा स्वास्थ्यखबरले कुराकानी गरेको छ। प्रस्तुत छ उनीहरुले व्यक्त गरेको विचार :
डा रीता थापा
सुरुमा १९५३– १९५४ मा मातृ तथा शिशु कार्यक्रम सँगै थियो। तत्कालिन सरकारले आमा र बच्चा भनेका अभिन्न अंग हुन्, उनीहरुलाई छुट्याउनु मिल्दैन अन्याय हुन्छ भनेर नै एकै स्थानमा राखेको थियो। आमासँगै बच्चा भएमा धेरै कुराको जोखिमबाट बचाउन सक्छ। त्यसकारण कार्यक्रम पनि सँगसँगै हुनुपर्छ भन्ने नै हो। त्यतिबेला सँगै हुँदा राम्रै नतिजाहरु आइराखेका थिए। बीचमा गएर फेरि कसरी टुक्र्याइयो थाहा भएन। छुँट्टिदा मन दुखेको थियो। अहिले फेरि मर्ज भएको भन्ने कुरा छ, त्यसले म निकै हर्षित छु।
पहिला त्यति धेरै मातृ मृत्यु दर बढेको थियो। अहिले अहिले धेरै घटिसकेको अवस्था छ। आमा र बच्चालाई एउटै थलोबाट सेवा दिएमा सजिलो पनि हुन्छ। वैज्ञानिक किसिमले भन्नुपर्दा यो एकिकरणले धेरै राम्रो फाइदा हुन्छ। खोप र पोषणका कुरामा पनि धेरै सहयोग पुग्छ। खोपका लागि आमा नै त आउँछन् नी बच्चा साथमा लिएर। सँगै एउटै शाखामा रहँदा दादुरा समेत उन्मुलन हुन सफल भएको थियो। खोपमा पनि अहिले ७७ प्रतिशतमा घटेको छ। एकीकरण भएपछि राम्रो हुन्छ। मैले जहिल्यै पनि नछुट्याउनुस् भनेर अनुरोध गर्दे आएको कुरा हो। अहिले राम्रो काम भएको छ।
डा बद्रीराज पाण्डे
धेरै वर्ष पहिले म परिवार ताथ मातृ शिशु कल्याण परियोजनामा काम गर्दा दुवै एउटैमा थियो। आमा र बच्चालाई छुट्याउनु भनेको एकदम कृत्रिम जस्तो लाग्छ। नवजात शिशु स्वास्थ्य त बच्चा पेटमा रहेदेखि नै आवश्यक हुन्छ। त्यसैले धेरै स्याहार सुसार चाहिन्छ। त्यसकारण बाल र परिवार स्वास्थ्यलाई एकै ठाँउमा राख्नु राम्रो निर्णय हो। आमा र बच्चाको यस्तो सम्बन्ध हुन्छ कि त्यसलाई छुट्याउन एकदम गाह्रो छ। बलस्वास्थ्यमा खोपमात्र बढी केन्द्रित भएको भन्ने कुरा भनिन्थ्यो तर पोषणको कुरा पनि उत्तिकै महत्वपूर्ण छ।
पोषणको अवस्था आमा र बच्चाको दुवैको हेर्नुपर्छ। ऋामाको पोषण अवस्था ठिक छैन भने बच्चाको पोषणमा पनि असर पर्छ। लामो समयदेखि छुट्टै रहेको शाखा अब एउटै हुँदा केही समय कामले गति लिन समय लाग्न सक्ला। तर, अन्तत यसले सकारात्मक प्रभाव नै पार्छ। किनकी परिवार नियोजन र शिशु कल्याण भन्ने चिजलाई छुट्याउन मिल्दैन। यी एउटा सिक्काका दुई पाटा हुन्। परिवार नियोजन भयो भने आमाको स्वास्थ्यमा पनि सुधार आउँछ अनि परिवार नियोजनको पाटोमा पनि सहयोग पुग्छ।
डा सेनेन्द्रराज उप्रेती
दुई वटा महाशाखालाई एकीकरण गर्नु राम्रो कुरा हो। नेपालको मातृ तथा शिशु मृत्यु दरमा कमी आएको छ, त्यो राम्रो कुरा हो। दुई वटा महाशाखा मर्ज हुँदा व्यवस्थापकीय समस्या आउन सक्छ। तर, व्यवस्थापकीय हिसाबले चुनौती थपिए पनि मर्ज भएको कुरालाई नराम्रो भन्न मिल्दैन।
डा नरेशप्रताप केसी
परिवार र बाल स्वास्थ्य महाशाखा मिलाउँदा आमा र बच्चालाई एकै ठाउँमा राख्न मिल्ने भएका हुनाले अहिले भएको कामलाई राम्रो नै मान्नुपर्छ। तर, त्यसमा समूह छुट्याएपछि समूह अनुसार गर्नुपर्ने कुरा भने भएको देखिँदैन। त्यसकारण समूहलाई प्रष्ट पारेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ।