विचार/ब्लग

बंगलादेशको मेडिकल शिक्षाका विषयमा छानबिन होस्

बंगलादेशको मेडिकल शिक्षालाई लिएर अहिले विभिन्न टिप्पणी भइरहेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीसँग जोडिएर आइरहेका विभिन्न हल्ला, शंका र घटना अहिले चर्चाको केन्द्रमा छ।

त्यहाँका छात्राहरूलाई जोडेर अभिव्यक्ति दिएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा नै दिनुप¥यो। एक जना मेडिकल व्यवसायीविरुद्ध सामाजिक सञ्जालमा कारबाहीको माग भइरहेकै छ। उनीहरू दुवैको अभिव्यक्ति बंगलादेशमा अध्ययनरत छात्रा, उनीहरूका अभिभावक र बंगलादेशमा रहेको स्वास्थ्य शिक्षाको पद्धतिमै नजरअन्दाज थियो।

पूर्वमन्त्री र व्यवसायीले बिनातथ्य बोलेको जस्तै घटना नभए पनि बंगलादेशका कलेजहरूमा स्वास्थ्य शिक्षामा समस्या नभएका होइनन्। त्यहाँका गुणस्तरहीन मेडिकल कलेजहरूमा विद्यार्थीले कामै नलाग्ने स्वास्थ्य शिक्षा लिइरहेका ‘स्वास्थ्य खबरपत्रिका’को स्थलगत रिपोर्टिङबाट देखिएको थियो। त्यहाँका अधिकांश मेडिकल कलेज गुणस्तरहीन रहेको ‘बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल’का रजिस्ट्रारले नै बताएका छन्। मेडिकल शिक्षा पढ्न जाने प्रमुख गन्तव्य बनिरहेको बंगलादेशको त्यस किसिमको चित्र पक्कै पनि आश्चर्यजनक थियो।

तर चित्र जति आश्चर्यजनक छ, उति नै दुःखदायी पनि। त्यहाँका विद्यार्थीले अनेक मानसिक दबाबका बीच अध्ययन कर्म जारी राख्नु परिरहेको छ। गुणस्तरीय शिक्षा नपाउनु त छँदैछ, बेलाबेला कलेजबाट थपिने अनेक तनावलाई व्यवस्थापन गर्न विद्यार्थीलाई हम्मेहम्मे पर्ने गरेको छ। कतिपयले हार खाएर जिन्दगीबाटै विश्राम लिने गरेका छन्। केही दिनअघि त्यहीँ अध्ययन गरिरहेका एक  विद्यार्थीले कलेजका प्रिन्सिपलसँग विवाद बढेपछि आत्महत्या नै गरेको खबर सार्वजनिक भयो। प्रिन्सिपलसँगको विवादकै कारण एमबिबिएस सकेर इन्टर्नसिप थालेका विद्यार्थी आत्महत्या गर्न बाध्य हुन्छन् भने उनी र उनी जस्ता विद्यार्थीले भोग्नुपरेको समस्यालाई हामी अनुमान गर्न सक्छौं।

ती विद्यार्थी केवल एक जना विद्यार्थी मात्रै होइनन्, देशमा सेवा दिन सक्ने एक चिकित्सक पनि थिए। तर अब सम्भावना सकियो। उनले हार खाए। उनका लागि परिवारले गरेको लगानी र राखेको अपेक्षा, उनीसँग जोडिएका कैयौंका सम्झना मात्रै बाँकी छन्।

यतिबेला हामीले उनलाई सम्झने भनेको देशले गुमाएको एक कर्णधार र बिरामीले गुमाएको एक चिकित्सकको रूपमा मात्रै हो। त्यसभन्दा बढी नागरिकले केही गर्न सक्दैनन्। उनकै लागि त राज्यले पनि थप केही गर्न सक्दैन। तर अन्य विद्यार्थीलाई सुरक्षित रूपमा शिक्षा लिएर दक्ष चिकित्सकको रूपमा नेपाल फर्किने वातावरण भने बनाउन सक्छ। त्यसका लागि राज्यसँग बंगलादेशी शिक्षा पद्धति, विद्यार्थीहरू त्यहाँ पुग्ने प्रक्रिया र त्यहाँ रहँदाको उनीहरूको जीवनपद्धतिको बारेमा यथार्थ जानकारी हुनुपर्छ। त्यो जानकारी त्यतिबेला प्राप्त गर्न सकिन्छ, जतिबेला आफ्ना संयन्त्रमार्फत निरन्तर अपडेट भइन्छ। तर हाम्रो राज्य त्यति चलाख भने छैन। हुन्थ्यो भने बंगलादेशमा विद्यार्थीले असहज वातावरणमा शिक्षा लिनुपर्ने बाध्यता नै आइपर्ने थिएन। उसले सहजताका लागि वातावरण बनाउने थियो।

अहिले विद्यार्थीले गरेको आत्महत्याप्रति पनि सरकार मौनप्रायः देखिएको छ। न कुनै छानबिन समिति बनेको छ, न आधिकारिक धारणा नै आएको छ। यो मौनताले हाम्रो राज्यलाई भविष्यको एक चिकित्सकको आत्महत्याले नछोएको अर्थ दिन्छ। एक वर्षअघि पनि बंगलादेशमा एक छात्राले आत्महत्या गरेकी थिइन्। छाटो समयमा नै बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका दुई विद्यार्थीले आत्महत्या गर्दा पनि नेपाल सरकार मौन छ। आफ्ना साथीको आत्महत्याको विषयलाई लिएर संघर्ष गरिरहेका अन्य विद्यार्थीलाई साथ दिने वा ढाडस दिने काम भइरहेको छैन। कूटनीतिक पहल पनि सन्तोषजनक छैन। यो दुर्भाग्य हो हाम्रा निम्ति।

अहिलेको आवश्यकता बंगलादेशको सम्पूर्ण यथार्थ बाहिर ल्याउने र सचेतता अपनाउने सूत्रसमेत पहिल्याउन सक्ने छानबिन समिति गठन हो। यसले विद्यार्थीहरू त्यहाँ पुग्ने बाटो बढी पारदर्शी र सुरक्षित बनाउनेछ। त्यहाँको बसाइ पनि सुरक्षित बनाउन सक्छ। सक्षम जनशक्ति बनेर नेपाल फर्किन सक्छन्। नत्र त, बर्सेनि हाम्रा कैयौं युवा छात्रछात्राहरू त्यहाँ पुगिरहने, दुःख पाइरहने र बल्लबल्ल बाँचेर फर्किने क्रमकै निरन्तरता हुनेछ।

राज्यले आफ्नो दायित्वबोध गरोस्। बंगलादेश पुगेका विद्यार्थीलाई तिमीहरूको साथमा राज्य छ भन्ने महसुस गराओस्।


स्थलगत शृंखला ३ : बंगलादेशका अधिकांश निजी मेडिकल कलेजमा पढ्नु बेकार : राजदूूत डा चोपलाल भुसाल [9]

स्थलगत शृंखला २ : 'ब‌ंगलादेशका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै नेपाली विद्यार्थी पढ्न आउनु नै गल्ती' (9)

स्थलगत शृंखला १ : बंगलादेशमा मेडिकल शिक्षा : ८० प्रतिशत कलेज गुणस्तरहीन, नेपाली विद्यार्थीको भविष्यमाथि गम्भीर प्रश्न

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live