विश्व स्वास्थ्य

केमोथेरापीको डोज पुरा भएपछि मेरो जिन्दगी कता जाने हो पत्ता लाग्छ : अभिनेता इरफान खान

 

एजेन्सी– क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खानको स्वास्थ्य अवस्थामा सुधार आइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

५१ वर्षीय अभिनेता खान केही महिनायता बेलायतमा रहेर ‘न्युरोन डोक्रिन ट्युमर’को उपचार गराइरहेका छन्।

उपचाररत रहेको अवस्थामा हालै मात्र उनले एसोसिएटेड प्रेस(एपी)मा आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा छोटो अन्तर्वाता दिएका छन्।

इरफानले उक्त अन्तर्वाताका क्रममा आफूले केमोको ४ डोज लिइसकेको उल्लेख गरेका छन्।

‘क्यान्सरको एक उपचार पद्धति केमोथेरापीअन्तर्गत हालसम्ममा ४ पटक केमोको डोज लिइसकेको छु। यसको ६ वटा डोज पुरा भएपछि पुनः क्यान्सर स्क्यान गर्नु पर्दछ।’, केमो चढाएपछि आफ्नो शरिरमा देखिएको सुधारका बारेमा उनले भने, ‘यसअघि केमोको तेस्रो चरण पुरा भएपछिको परिक्षणमा केही सुधार देखिएको थियो। तर पुरा सुधारको अवस्था थाहा पाउन छैटौं चारणपछिको नतिजा कुर्नुपर्ने हुन्छ। यसैबाट मेरो जिन्दगी कता जाने हो पत्ता लाग्छ।’

उनले आफ्नो स्वास्थ्यावस्था ठिक नभएकोमा नैरास्यता देखाउँदै भनेका छन्, ‘कोही पनि मानिसको जीवनको कुनै ग्यारेन्टी हुँदैन। त्यसैले म बिरामी छु र म केही महिनामा अथवा केही वर्षपछी मर्न सक्छु। अथवा मैले अहिले भनेका यी सबै कुरा बिर्सीएर नयाँ जीवन जिउन पनि सक्छु।’

उनले आफ्नो जीवन कतातिर गइरहेको आफूलाई थाहा नभएको पनि बताएका छन्।

उनी भन्छन्, ‘म अन्धकारमय जीवन जिउन बाध्य छु। तर पनि लाग्छ, जीवनले मलाई साँच्चै बारम्बार मौका दिइरहेको छ।’

इरफानका पछिल्ला अभिव्यक्ति सुन्दा उनले उपचारका क्रममै आफ्नो जीवन देखि हार खाइरहेको भान हुन्छ।

अन्तर्वातामा उनले जिवनको अर्को पाटो कति असहज हुन्छ भन्नेसमेत प्रस्ट पारेका छन्।

‘तपाई सोच्न छोड्नुहोस्, योजना बनाउन छोड्नुहोस् र शान्त रहनुहोस्। अनि, थाहा पाउनु हुनेछ, जीवनको अर्को पाटो।’, उनले थपे,‘त्यसैले अब मेरो साथमा धन्यवाद भन्नुबाहेक अरु केही शब्द छैनन्। कुनै माग छैन। अनि कुनै अनुरोध पनि छैन।’

इरफानले पछिल्लो समय फिल्मका स्क्रिप्टसमेत नहेर्ने गरेको खुलाएका छन्।  आफू योजनाबिहिन भएको बताउँदै उनले भने,‘आजकाल म योजनाबिहिन छु। म कुनै स्क्रिप्ट पढ्दिन। किनकी जीवनको वास्तविकता र झुटका बारेमा आँफै महशुस गरिरहेको छु।’ 

उनले यो समयमा आफूले जीवनको रहस्यको बारेमा बुझ्ने अवसर पाएको र त्यसपछि झनै प्रेम गर्न थालेको बताएका छन्।

‘जुन दुनियामा हामी आम मानिस बाँचेका छौं। यहाँ सबै भविष्यका योजनाहरुले भरिभराउ छौं। तर जीवन धेरै नै रहस्यमयी रहेछ। यसलाई हामीले कसैले पनि प्रयास गर्दैनौँ। तर म चाँही यही रहस्यमयी जीवनलाई प्रेम गर्न थालेको छु।’

इरफानलाई लागेको रोग इन्डोक्राइन ट्युमर अर्थात एक दुर्लभ किसिमको रोग हो, जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। यस सम्बन्धमा इरफानले आफू एक दुर्लभ रोगबाट ग्रसित भएको भन्दै पहिलोपटक मार्च ५ मा ट्विट गरेका थिए। यसपछि मात्रै उनलाई क्यान्सर भएको कुरा प्रकाशमा आएको थियो।

बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत चर्चित, अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा समेत लिने गरिन्छ।

हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।

इरफानले फिल्म ‘पान सिंह तोमर’का लागि सन् २०१३ मा भारतको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका छन्। स

न् २०१३ मा नै फिल्म ‘लन्च बक्स’का लागि क्यानिज फिल्म फेस्टिबलमा उनले ‘भ्युअर चोइस अवार्ड’ पनि प्राप्त गरेका थिए।

(प्रस्तुति : मनाेज न्याैपाने)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने