नेपालमा मिर्गौला प्रत्यारोपण सहज भएपनि यसमा विभिन्न चुनौतीहरु रहेका छन्। सर्वप्रथम त देशभरी नै यो सेवा फैलाउनुपर्दछ। एक दुई ठाउँबाट मात्रै मिर्गौला प्रत्यारोपण सेवा दिन सकिदैन। सरकारले पनि अब काठमाडौं केन्द्रीत प्रत्यारोपण होइन, सातवटै क्षेत्रमा मिर्गौला प्रत्यारोपण गर्ने केन्द्र बनाउने पहल थाल्नुपर्छ।
किनकि मिर्गौला रोगीहरु बढिरहेका छन् । सरकारले प्रत्यारोपण नि:शुल्क गरेपछि धेरैको पहुँचमा समेत प्रत्यारोपण सेवा पुगेको छ तर त्यो अनुसार प्रत्यारोपण केन्द्र र दर बढ्न सकेको छैन।
अर्को कुरा हाम्रो यहाँ डोनरहरु कम छन्। त्यो बढाउनका लागि ब्रेन डेथ भएका बिरामीहरु खोज्ने भन्ने बढिरहेकोछ । त्यसलाई चाँडो भन्दा छिटो प्रयोगमा ल्याउनुपर्दछ। हामी (शिक्षण अस्पताल) मा त्यसका लागि एकदम तयार छौँ।
हामीसँग ब्रेन डेथ भएका बिरामीहरु पनि भेटिन्छन्। लिनुपर्ने बिरामीहरु भेटिन्छन् तर दुई चारवटा कानुनी जटिलताले यो सुरु हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको ब्रेन डेथको क्राइटेरियाहरु त पूरा भइसकेको छ। यदि ब्रेन डेथ भएको बिरामीहरु शिक्षण अस्पतालमा छ र यहीँका बिरामीलाई मिर्गौला प्रयोग गर्न दिइयो भने पनि हामीले ५ दिनमै यो सेवा सुरु गर्न सक्छौँ। त्यतिसम्म हाम्रो टिम सक्षम भएको छ।
पहिला धेरैजना बाहिर भारततिर गएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। तर अहिले यहाँ पनि भारतका बिरामीहरुको लाइन लागिरहेको छ।
हामीले सबैको गर्न सकिरहेका छैनौँ। नेपाललाई मेडिकल हब बनाउने हो भने कानुनी कुरामा अलि ध्यान दिनुपर्ने हुन्छ। कानूनमा नाता प्रमाणित गरेकाले मात्र मिर्गौला दिन पाउने भन्नु कुरा छ। नेपालमा त सजिलै छ, हामी नागरिकता हेर्छौँ, नेपाल नागरिक हो या होइन कन्फर्म गर्छोँ। तर हामीले विदेशीलाई चाहिँ कसरी नाता प्रमाणित गर्ने? भारतबाट आउँछन् फलानोका नाता भन्दै त्यो हामीले कसरी छुट्याउन सक्छौँ? यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर सरकारले त्यो नियम बनाउनुपर्छ। विदेशीको प्रत्यारोपण कसरी गर्ने त्यो क्राइटेरिया बनाइदिए सजिलो हुन्थ्यो।
हामीसँग चाहिने उपकरणका लागि पनि भारतमै भर पर्नुपरेको छ । मिर्गौला प्रत्यारोपण गर्दा खेरि टिस्यु म्याच गर्ने, क्रस म्याच गर्ने ल्याबहरु नेपालमा छैन।त्यो धेरै ठूलो महंगो पनि होइन त्यो किनेर टिचिङ अस्पतालमा राखिदियो भने पनि सजिलो हुन्छ । नेपालभर पनि धेरै ठाउँमा चाहिँदैन। एउटा मात्र ल्याब भएपनि पूरै देशलाई पूग्छ।
(शिक्षण अस्पतालको युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण सर्जन डा ज्ञवालीसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)