काठमाडौं– पाँच वर्षअघि स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ पाँच युवा आपसमा छलफल गरिरहेका थिए । समुहमा थिए, भर्खरै मात्र बाथरोग विषयमा अध्ययन सकेर फर्केका डा विनित वैद्य । उनले वाथरोगको तथ्याकंका विषयमा साथीलाई जानकारी दिए ।
‘11 संगठनको तथ्यांकअनुसार कुल जनसंख्याको १० प्रतिशतमा बाथ रोग हुने गर्छ । यसअनुसार नेपालमा करिब ३० लाखलाई बाथ रोग छ । तर, यसबारे नेपालमा उतिसा¥हो जानकारी छैन । त्यसकारण हामी किन यही क्षेत्रमा काम नगर्ने ?’ डा वैद्यले छलफलमा रहेका साथीहरूलाई भनेका थिए । उक्त छलफलमा डा वैद्यसहित रोशन कक्षपति, रुपाल जोशी, ऋतेश श्रेष्ठ र सुनिल बजिमय थिए ।
त्यसपछि पाँचै जनाले निर्णय गरे ‘बाथरोगको उपचार सेन्टर स्थापना गर्ने र यो रोगका बारेमा देशभर जनचेतना फैलाउने ।’ यो निर्णयसँगै उनीहरुले वाथ रोगका विषयमा आम नागरिकको धारणा बुझ्न सर्भेसमेत अगाडि बढाए । त्यसक्रममा उनीहरुले भेटे, ‘हाडजोर्नी दुख्ने, गोलीगाँठा दुख्ने समस्याको उपचार गर्ने भनेको हाडजोर्नी विशेषज्ञ डाक्टरले नै हो ।’ अधिकांश नागरिकमा वाथ रोगको समस्या, उपचार र यसले गर्ने असरका विषयमा जानकारी नभएपछि उनीहरुले रातोपुलमा ‘नेसनल बाथ रोग सेन्टर’ भनेर उपचार केन्द्र स्थापना गरे ।
सेन्टर स्थापना भएको पाँच वर्ष पुगिसकेको छ । यस अवधिमा उनीहरुले ८३ हजार बिरामीको उपचार गरिसकेका छन् भने देशका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम पनि गरिरहेका छन् । अस्पतालले वर्षमा १५ वटा वाथ रोगको निःशुल्क उपचार शिविरसमेत गर्दै आइरहेको छ । ‘नेपालमा मुटु, न्युरो, क्यान्सर, लगायतका रोगको उपचारका लागि विशिष्टिकृत अस्पताल वा उपचार सेन्टर थिए,’ सेन्टर स्थापना कुरा सम्झँदै प्रबन्ध निर्देशक कक्षपतिले भने, ‘तर, ३० लाखभन्दा बढी बिरामी रहेको बाथको उपचार गर्ने छुट्टै संस्था थिएन । त्यही भएर हामीले यसको स्थापना गरेका हौँ ।’
उनले बाथरोगका धेरै प्रकार हुने र यसले हाडजोर्नीमा मात्र नभई शरीरका महत्वपूर्ण अंग मिर्गौला, छाला, नसा लगायतमा समेत असर गर्ने भएकाले सेन्टरमा वाथरोग विशेषज्ञसहित मिर्गौला, छाला, नसा, हाडजोर्नी रोगका विशेषज्ञ डाक्टरसहितको टिमसमेत रहेको जानकारी दिए ।
यसका साथै बाथ रोगका बिरामीलाई फिजियोथेरापी र पोषणका विषयमा जानकारी दिन फिजियोथेरापिष्ट र डाइटिसियनसमेत बिरामीको सेवामा खटिइरहेका छन् ।
‘बाथरोग र यसबाट पर्ने अरु सबै समस्याको उपचार तथा निदान एउटै छातामुनी गर्न सक्नेगरी सेन्टरले जनशक्ति र अन्य पूर्वाधारको व्यवस्था गरेको छ,’ कक्षपतिले भने, ‘यहाँ आएपछि बाथ रोगको समस्या भएका बिरामीले अन्यत्र फेरि जानुपर्ने बाध्यता नरहोस् भनेर विशेषज्ञ डाक्टरहरुको टिम नै बनाइएको हो ।’ कक्षपतिका अनुसार टिमवर्कका कारण नै सेन्टरले प्रगतिका सिढी उक्लिरहेको हो ।
उनले एउटै छातामा रहेर बाथ तथा बाथ रोगसम्बन्धी सम्पूर्ण उपचार, अनुसन्धान एवं सर्वसाधारण जनतामा बाथ रोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेसनल बाथ रोग सेन्टर स्थापना भएको जानकारी दिए । उनका अनुसार सेन्टरमा उपचारसँगै बाथ रोग पहिचानका लागि अत्याधुनिक प्याथोलोजी, रेडियोलोजी सेवा छ । बाथ रोगका बिरामीले समस्याका आधारमा औषधि सेवन गर्नुपर्ने भएकाले उनीहरुलाई आवश्यक पर्ने सबै औषधि उपलब्ध हुने फार्मेसीसमेत यहाँ राखिएको छ ।
रातोपुलस्थित सेन्टरले सुरुवाती पाँच वर्षमा वाथरोगका विषयमा चेतना फैलाउने लक्ष्य लिएको थियो । ‘हाम्रो लक्ष्यमा सफल हुँदै गइरहेका छौं,’ कक्षपतिले भने, ‘अब आगामी पाँच वर्षमा हामी सेन्टरलाई अस्पतालका रुपमा विस्तार गर्ने योजनामा छौं।’
आउँदो पाँच वर्षभित्र संस्थाले केन्द्रमा अस्पताल र देशका मुख्य शहरमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । कक्षपतिका अनुसार २०६९ सालमा फार्मेसीको रुपमा सुरु भएको संस्थाले २०७० यता बाथरोग सेन्टरका रुपमा सेवा दिइरहेको छ । बाथरोग सेन्टरले हाल काठमाडौको रातोपुलसहित ललितपुरको जावलाखेल, भक्तपुर एवं पोखरामा समेत सेवा विस्तार गरिसकेको छ । आगामी वर्षमा वर्षको एउटा जिल्लामा सेवा विस्तार गर्ने उद्देश्य रहेको निर्देशक कक्षपतीले जानकारी दिए।
‘जनचेतना बढाउने र उपचार गर्नेसहित अब हाम्रो जोड दक्ष जनशक्ति उत्पादनमा छ’ उनले भने, ‘यसका लागि हामीले स्वास्थ्यकर्मीलाई तालिम तथा क्षमता अभिवृद्धिका काम पनि अगाडि बढाइरहेका छौं ।’ उनका अनुसार सेन्टरले काठमाडौंसहित चितवन, रामेछाप, पोखरा, बुटवल, लगायतका १६ स्थानमा तालिम चलाएको छ।
समुदायमा आधारित अनुसन्धानमा जोड
सेन्टरले बाथ रोगको क्षेत्रमा अनुसन्धानको कामसमेत अगाडि बढाएको छ । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट स्विकृतिसमेत लिइसकेको छ । ‘आगामी पाँच वर्षमा हामीले समुदायमा आधारित अनुसन्धानका आधारमा बाथरोगीको मौलिक तथ्यांक पत्ता लगाउने कार्यक्रम गर्ने छौं,’ उनले भने, ‘अहिलेसम्म हामी 11 संगठनको तथ्यांकलाई आधार मानेर वाथरोगीको अनुमान गरिरहेका छौं । तर हामी नेपालमा यसको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धानमा लाग्ने भएका छौं।’
उनले सेन्टरले दुर्गम क्षेत्र तथा उपत्यकाबाहिर पनि वाथ रोगको विशेषज्ञ सेवा प्रदान गर्न टेलिमेडिसिन सेवालाई विस्तार गर्ने, वेबबेस्ड तालिमलाई विस्तार गर्ने, विराटनगर, बुटवल लगायत पाँचवटा शहरमा शाखा विस्तार गर्ने लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए।