रुपन्देही - आँप पाकेको देखेपछि आँगनकै छेउमा रहेको रुखमा चढेका थिए डोरबहादुर थापा। तर, आँप टिप्न नपाई उनी भुईमा झरे। असार ३१ गते रुखबाट लडेका डोरबहादुरको उपचारका क्रममा शनिबार निधन भयो।
प्युठानका डोरबहादुरलाई रुखबाट लडे लगत्तै उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको शिक्षण अस्पतालमा ल्याइएको थियो। उनको अस्पतालको आइसियुमा उपचार भइरहेको थियो। तर, शनिबार बिहान उनको मृत्यु भएको छ।
उपचारको क्रममा उनको घरमा विक्री हुने जत्ति सबै सम्पति सकिसकेको छ। उनलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको थाहापाएपछि प्युठान जन्मथलो भई भैरहवामा पत्रकारीता गर्दै आएका नरेश केसीले थप उपचारको जिम्मा लिएका थिए।
अस्पतालमा ल्याएको एक हप्तामा डोरबहादुरको परिवारले करिब २ लाख रकम ऋण गरेर ल्याएका थिए। थप उपचारको लागी पैसा नभएपछि घर फर्काउने तयारी गरेको थाहा केसीले थप उपचारको पहल गरेका थिए। त्यसपछि उनको उपचार निरन्तर चलिरहेको थियो।
रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष माधब न्यौपाने, पुर्व अध्यक्ष प्रकाश शर्मासहितको नेतृत्वले रुपन्देहीका विभिन्न संघसंस्था र व्यक्तित्वबाट डेढ लाख रकम संकलन गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका थिए। यसैगरी स्वर्गद्वारी नगरपालिका प्युठानले ५० हजार, स्व. कमलापति गंगादेवी पन्त स्मृति प्रतिष्ठान भैरहवाका चुरामणी पन्थ र भिम अधिकारी सहितले २५ हजार, सुनचाँदी व्यवासयी संघ रुपन्देही सिद्धार्थनगरले साढे २१ हजार, लियो क्लब अफ सिद्धार्थनगरका सुभाष लुइटेल नेतृत्वले १० हजार, युसीएमएस करुण फाउन्डेसनबाट ८ हजार, प्युठान रुपन्देही सम्पर्क मन्चले ५ हजार सहयोग भएको थियो।
थापाको उपचारमा करिब ६ लाख खर्च भएको उनकी श्रीमति विजुला थापाले बताइन्। अन्तिम अवस्थामा अस्पताल प्रशासनलाई तिनुपर्ने करिब २ लाख रकम पछि तिर्नेगरी शब लिएर थापाको श्रीमित शनिबार प्युठान तर्फ गएकी छन्।
अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीले रुखबाट लडेर गम्भिर भएका डोरबहादुरलाई बचाउन हरसम्भव प्रयास गरिए पनि सफल नभएको बताए।
डोरबहादुरको घाँटीको हड्डी भाँचिइ नसा समेच च्यापिएको थियो। उनको अन्य अंगमा समेत असर गरेको थियो।
उनको १२ वर्षिय अपांग छोरा, ८ वर्षिय छोरी र श्रीमति बिजुला छन्।