काठमाडौं- ठेकेदारको ‘लोभ’का कारण चितवनस्थित भरतपुर अस्पतालको ‘ट्रमा एण्ड डाइग्नोष्टिक ब्लक’ निर्माण कार्य रोकिएको छ।
२०७४ जेठ २८ गते ३० महिनाभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौता भएको थियो।
‘आशिष श्याम सुन्दर प्रतिष्ठान’ले २४ करोड २४ लाख ४२ हजार ३२० रुपियाँमा भवन निर्माणको ठेक्का पाएको थियो। सम्झौता भएको १४ महिनामा भवनको डिपिसी मात्र भएको छ।
भवन निर्माणमा ढिलाई भएको भन्दै अस्पतालले ४ पटक पत्र काटिसकेको छ। तर, निर्माण कम्पनी एकपछि अर्को बहाना थपिरहेको छ। अस्पतालले २०७४ असोज २२, २०७४ मंसीर २८, २०७४ चैत १ र २०७५ बैशाख २८ गते गरी ४ पटक भवन निर्माणको विषयलाई लिएर पत्र काटेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविन खड्का भन्छन् – ‘पटक पटक पत्राचार गर्दा पनि ठेकेदारले विभिन्न बहानामा काम टार्दै गरेको देखिएको छ।’
अस्पताल प्रशासनले बढी रकम दाबी गर्ने उद्धेश्यले काममा ढिलाई गरेको जनाएको छ। अस्पताल प्रशासनले २०७५ बैशाख २८ गते ठेकेदार कम्पनीलाई गरेको पत्रमा ‘काममा ढिलाई गर्ने अनि म्याद थपका लागि लबिइङ र बढी रकम दाबी गर्ने मनसायबाट काममा ढिला गरेको महशुस गरिएको छ। यसर्थ यस प्रकारको ढिलाइले नेपाल सरकारलाई क्षति पुग्ने देखिन्छ।’ लेखिएको छ।
ठेकेदार कम्पनीले भवन निर्माणका लागि ४ करोड ४२ लाख ४४ हजार रुपैयाँ पेश्कि समेत लिइसकेको छ। भवन निर्माणमा ढिलाई गर्दा आर्थिक फाइदा लिन सक्ने लोभका कारण सरकारी भवन निर्माणमा अलपत्र हुने गरेको हो।
इन्जिनियर उपेन्द्र सुवेदी पनि सन्तोषजनक काम नभएको बताउँछन्। ‘जति काम सम्पन्न हुुनुपर्ने हो त्यति काम भएको छैन। अहिलेसम्म जम्मा २० प्रतिशत जति मात्र काम सकिएको होला,’ उनले भने, ‘सम्झौता अनुसार जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो भएको छैन। कामको यो गति हेर्दा सन्तोष गर्ने ठाँउ छैन।’