काठमाडौं– केपी ओली नेतृत्वको सरकारले ५ महिनाको अवधिमा भएका उपलब्धि सार्वजनिक गरेको छ। यो अवधिमा भएका उपलब्धिलाई सरकारले मन्त्रालयगत आधारमा छुट्याएर सार्वजनिक गरेको छ।
स्वास्थ्य क्षेत्रमा यो अवधिमा तीन वटा मात्र उपलब्धि भएको विवरण सरकारले सार्वजनिक गरेको छ। तर, सार्वजनिक भएका तीन वटै उपलब्धि भने अघिल्ला सरकारका पालामा भएका काम हुन्। यो आधारमा हेर्दा वर्तमान सरकारले उल्लेख गर्न लायक कुनै पनि उपलब्धि हासिल गर्न नसकेको प्रष्ट हुन्छ।
सरकारले सय दिनको अवधिमा ६ वटा उपलब्धि हासिल गरेको सार्वजनिक गरेको थियो। तर, ५ महिनाको उपलब्धिमा तीन वटा उपलब्धि घटेर जम्मा तीन वटामा मात्र आएको छ।
यी हुन् केपी ओली सरकारले ५ महिनामा दावी गरेको उपलब्धि
१. औषधीको मूल्य निर्धारण सम्बन्धी कार्यविधि तयार गरिएको छ । यसका आधारमा देशका सबै भूभागमा बसोबास गर्ने नागरिकलाई सर्वसुलभ रुपमा औषधी उपलब्ध गराउन सकिने छ ।
२. नेपालगञ्ज र जनकपुरमा शहिद गंगालाल हृदय केन्द्र अन्तर्गत मुटुरोगसम्बन्धी सेवा विस्तार गरिएको छ ।
३. नागरिकको स्वास्थ्य विमाका लागि लक्षित ४२ जिल्लाहरूमध्ये ३६ जिल्लामा विमा कार्यक्रम सञ्चालन भई ९ लाख ५१ हजार ३३९ जना विमित भएका छन् । त्यस मध्ये १ लाख २६ हजार ८३१ ज्ना अति विपन्न वर्गका नागरिकलाई सरकारद्वारा प्रिमियमको समेत व्यवस्था गरी विमित गरिएको छ।
सरकारले दावी गरेका यी तीन वटै उपलब्धि विगतका सरकारका पालामा नै भएका उपलब्धि हुन्। तीन नम्बरमा भएको बिमा गर्नेको संख्या ५ महिनाको अवधिका केही हजारको संख्यामा थपिएको बाहेक अरु कुनै उपलब्धि छैन। बिमा कार्यक्रम नियमित चलिरहेका कारण प्रधानमन्त्री तथा मन्त्री नै नहुँदा पनि नियमित कार्यक्रम अन्तर्गत बिमा गर्नेको संख्या स्वत बढ्ने थियो।
औषधिको काम पनि पुरानै सरकारका पालामा भएको थियो।
प्रधानमन्त्री ओलीको उपलब्धिमा सहिद गंगालाल हृदय केन्द्रबाट नेपालगञ्ज र जनकपुरमा मुटुरोग सम्बन्धी सेवा विस्तार गरिएको उल्लेख छ। यो सेवा तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको हो। सेवा विस्तारका लागि बजेट समेत उपलब्ध गराइएको थियो।
मुटुरोग सेवा विस्तार गर्न गंगालाल र भेरी अञ्चल अस्पतालबीच २०७३ फागुन २७ गते सम्झौता भएको थियो। स्वास्थ्य मन्त्रालयकी तत्कालीन प्रमुख विशेषज्ञ डा किरण रेग्मीको रोहबरमा भएको सम्झौतामा भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्द र गंगालाल राष्ट्रिय ह्रदयरोग प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा ज्योतिन्द्र शर्माले हस्ताक्षर गरेका थिए। केन्द्रीय अस्पतालहरुले अति विशिष्टकृत सेवाहरु देशका अन्य अस्पतालहरुमा विस्तार गर्ने सरकारको नीति अनुरुप यो सम्झौता भएको हो।
यस्तै, जनकपुर अञ्चल अस्पतालसँग ०७४ बैसाख २१ गते मुटु रोगको सेवा विस्तार गर्ने सम्झौता भएको थियो। दुई अस्पतालबीच सहकार्यमा १० वर्ष सेवा दिने सम्झौता भएको हो।