काठमाडौं– सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालत उपस्थित भएका उनी आजै महोत्तरी जिल्ला अदालतवाट साधारण तारेखमा रिहा भएका हुन् ।
सोमबार बिहान अदालतमा उपस्थित भएपछि दिनभर साधारण तारेखमा छोड्ने कि थुनामै राख्ने विषयमा थुनछेक चलेको थियो । सरकारी वकिल र राज्यमन्त्रीको पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश गरेको हो । महोत्तरी जिल्ला अदालत एक नम्बर इजलाशले उनलाई सामान्य धरौटी समेत नलिई रिहा गर्ने आदेश गरेको हो ।
याधीश ब्रजेश प्याकुरेलको इजलाशले हत्या जस्तो गम्भीर अभियोग लागेका मन्त्रीलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । राज्य मन्त्री शर्माको पक्षबाट तीनजना कानून व्यवसायीले वहश गरेका थिए ।
जिल्ला अदालतका अनुसार अधिवक्ताहरु रमेशकुमार पाण्डे, ज्ञानेन्द्रलाल कर्ण र देवेन्द्र ठाकुरले मन्त्री शर्माको पक्षबाट बहस गरेका थिए । सरकारी पक्षले उनलाई साधारण तारेखमा रिहा गर्न नमिल्ने जिकिर गरेपनि न्यायाधीशले पक्षका कानुन व्यवसायीको तर्कका आधारमा छोडेका हुन् ।
२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। सोही मुद्दाका फरार अभियुक्त शर्माले सोमबार आत्मसमर्पण गरेका थिए ।
उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफु अदालत समक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरि उच्च अदालतमा मुद्दा विचाराधिन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो।
सपथ लगत्तै उच्च अदालत धनुषाले उनलाई अदालत उपस्थित हुन नत्र पक्राउ गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो । उच्च अदालतको आदेश प्राप्त भएपछि आफू अदालत उपस्थित भएको उनको निवेदनमा जिकीर गरेका थिए ।
शर्मा राष्ट्रिय जनता दलका नेता हुन्।