काठमाडौं- संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’माथि दफावार छलफल सुरु भएको छ। समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’माथि दफावार छलफल सुरु गरिएको हो।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका छन्। कांग्रेसका सांसदद्वय गगन थापा र दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका हुन्।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुनेगरी आयोगको क्षेत्राधिकार तोक्नुपर्ने माग गरे। उनले विधेयकमा आयोगको क्षेत्राधिकारभित्र उच्च शिक्षा अन्तर्गतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै त्यसमा सहमत हुन नसकेपछि आफूले संशोधन प्रस्ताव हाल्नुपरेको पनि स्पष्ट पारे।
अर्का सांसद बडुले आयोगमा सदस्य मनोनीत गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग गरे। सदस्य मनोनयन आयोगको निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गरेको उनको भनाइ थियो।
यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर ल्याइएको विधेयक भन्दै सरकारको बचाउ गरेका थिए। नेकपा सांसद कृष्णभक्त पोखरेलले विधेयकले राष्ट्रिय आवश्यक्तालाई सम्बोधन गरेको उल्लेख गर्दै त्यसलाई खुला छलफल गरेर अघि बढाउन उपयुक्त हुने तर्क गरे।
सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार सरकारले अघि बढाएको विधेयकमा केदारभक्त माथेमा आयोगको भावनालाई पनि समेटनुपर्नेमा जोड दिएका थिए।
बैठकमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समिति समक्ष आग्रह गरेका थिए।
समितिको अर्को बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको छ।