विराटनगर– प्रहरी र प्रशिक्षार्थीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारका लागि प्रदेश प्रहरी तालिम केन्द्र रानीमा निर्मित स्वास्थ्य उपचार केन्द्रको बुधबार उद्घाटन गरिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले भवनको उद्घाटन गरेका हुन्।
१० लाख ७४ हजारको लागत तथा प्रहरी र कर्मचारीहरुको श्रमदानबाट निर्मित भवनमा जाँच गर्ने कोठा, अब्जरभेसन कक्ष, ल्याबोरेटरी तथा एक्स–रे कक्ष रहेका छन्।
उपचार केन्द्रको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक रिजालले तालिम केन्द्र परिसरभित्र स्वास्थ्य उपचार केन्द्रको स्थापनासँगै प्रहरी कर्मचारीहरुको मनोबल अभिवद्धिका साथै कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे।
केन्द्रमार्फत प्रहरी कर्मचारीहरुको नियमित स्वास्थ्य परीक्षणदेखि उच्च स्तरको स्वास्थ्य सेवासमेत उपलब्ध हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
कार्यक्रममा तालिम केन्द्रका सह–समादेशक रमेशकुमार बस्नेतले भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए।