महोत्तरी– महोत्तरीको रामगोपाल नगरपालिकामा क्यान्सर सेन्टर सुरु भएको छ। विनयतारा फाउन्डेसन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिका महोत्तरीको सहकार्यमा विनयतारा फाउन्डेसनले बुधबारदेखि क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको हो। क्यान्सर स्क्रिनिङ सेवा थालेको अस्पतालले केही वर्षमै सुविधा सम्पन्न क्यान्सर सेन्टर बनाउने लक्ष्य लिइएको छ।
पूर्वी नेपालमा क्यान्सर उपचार सेन्टरको अभाव चिर्न अस्पतालको सुरुवात गरिएको विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष डा राकेश साहले बताए । उनले भने, 'यो क्षेत्रमा क्यान्सरको उपचार गराउने ठाउँ नहुँदा काठमाडौं वा भरतपुर धाउनुपर्ने अवस्था छ । त्यसैले हामीले सामुदायिक क्यान्सर अस्पतालको परिकल्पना गरेर सेवाको सुरुवात गरेका हौं।'
सेवा शुभारम्भकै अवसरमा नगरप्रमुख अशोक कुमार साह र डा ट्रस्टका अध्यक्ष डा राकेशले सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
अस्पताल बनाउने सोच आएपछि काम थालिहालेको अध्यक्ष साह बताउँछन् । 'सोच आउनु ठूलो कुरा होइन, तुरुन्तै कार्यान्वयन गरिएन भने सेलाउन सक्छ भनेर भौतक निर्माण थाल्नुअघिबाटै सेवाको सुरुवात गरिहालेका हौं । यसले हामीलार्इ यो कामबाट भाग्न दिनेछैन,' उनले भने।
हाल भाडाको घरबाट ओपिडी सेवा थालिएपनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको छ । जसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण, क्यान्सर उपचार र निदानका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेसन र ट्रष्टले लिएका छन्। चार वर्षमा भौतिक निर्माण र उपकरण राख्ने काम पूरा गर्ने लक्ष्य लिइएको छ। त्यसअघि भने क्यान्सरको ओपिडि सञ्चालनमा रहनेछ।
फाउन्डेसनको वेवसाइटमा उपलब्ध जानकारी अनुसार सेन्टरका लागि रु ७० करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ। जुन निर्माण, तालिम, उपकरण लगायतमा खर्च हुनेछ। ट्रस्टका अध्यक्ष डा राकेशले राम्रो क्यान्सर उपचार केन्द्र निर्माणमा लागतको सीमा नरहने बताए । 'लागतको सीमा नतोकौं । हामी राम्रो सेन्टर बनाउन चाहिने लागतका लागि कुनै सम्झौता गर्दैनौं,' उनको भनार्इ छ।
स्वास्थ्य सेवाका दृष्टिले पछि परेको क्षेत्रमा सुविधा सम्पन्न अस्पताल खोल्ने फाउन्डेसनको प्रस्तावबाट नगरवासी खुशी भएको रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डलले बताए । अस्पतालका कारण विकासका अन्य बाटाहरु पनि खुल्ने अपेक्षा उपमेयर सीतादेवी साहको छ।
अमेरिकामा रहेर क्यान्सर उपचार सेवा दिइरहेका डा विनय साहको नेतृत्वमा अस्पताल बन्न लागेको हो । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा विज्ञान अध्ययन गरेका साहले अमेरिकाको लंग आइल्याण्ड कलेज अस्पताल, न्यू योर्कमा इन्टर्नल मेडिसिन रेसिडेन्सी तथा इलिनोइस विश्वविद्यालय सिकागोमा हेमाटोलोजी अन्कोलोजी फेलोसिप गरेका छन्।
डा विनयको सोचलार्इ मूर्तरुप दिन ग्रान्डी अस्पतालका जीआइ सर्जन डा राकेश साह र स्थानीय नवीन साहलगायत जुटेका छन्।
स्वास्थ्य सेवामा न्युन पहुँच भएको क्षेत्रलार्इ अस्पताल निर्माणका लागि रोजिएको फाउन्डेसनका अध्यक्ष साह बताउँछन् । उनी भन्छन्, 'यहाँका धेरै बिरामी मुश्किलले डाक्टर भेट्छन् । उपचार केन्द्र टाढा रहेकाले धेरैले क्यान्सर पहिचान र उपचार नपार्इ ज्यान गुमाउँछन्।'
अस्पताल निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर मुनाफामुखी संस्था हो भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा सहयोग गरिरहेको छ।
संस्थाका अध्यक्ष डा साहको नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा पनि महत्वपूर्ण भूमिका छ। सिभिल सर्भिस अस्पताल काठमाडौंमा उक्त प्रत्यारोपण केन्द्र स्थापित गरिएको छ । फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका)स्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको छ। सो तालिममा दुई चिकित्सक र एक नर्स सहभागी थिए। कोलम्बो विश्वविद्यालय (श्रीलंका)मा अध्ययनरत एक चिकित्सकलाई क्लिनिकल जेनेटिक्समा तालिमका निम्ति फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
यसैगरी क्यान्सर केयर नेपालसँगको सहकार्यमा विनयतारा फाउन्डेसनले ललितपूर जिल्लामा होम हस्पिस कार्यक्रम पनि स्थापना गरेको छ । फाउन्डेसनले हस्पिस केयर टीमलाई तालिम दिलाउनुका साथै चिकित्सकिय तथा बिमारीको हेरचाह गर्ने कर्मचारीको तलब, उपकरण, मोटरसाइकल यातायात, एवम् इलेक्ट्रोनिक चिकित्सा रेकर्डको खर्च व्यहोरेर बिमारीको घरैमा निशुल्क सेवा प्रदान गराएको छ।
नेपालमा मात्रै होइन, भारतकफ मध्य प्रदेश र दक्षीण अमेरिकामा समेत फाउन्डेसन क्यान्सर उपचारका क्षेत्रमा काम गरिरहेको बताइएको छ।