प्रोफाइल

नेपालकै पहिलो अन्को रेडियोलोजिस्ट, जसलाई महिला डाक्टर भनेर प्रसूति गृहमा पठाइयो


चाहे पहिलो र दोस्रो स्टेजकै किन नहोस्, क्यान्सर शब्द सुन्नेबित्तिकै अत्तालिनेहरूको संख्यामा अझै कमी आएको छैन। निको हुने चरणकै क्यान्सर हुँदा पनि बाँच्ने लत्तै छाड्न खोज्नेहरू प्रशस्तै भेटिन्छन्। जबकि नेपालमा पनि क्यान्सर उपचार सेवा उपलब्ध छ। यसका लागि थुप्रै सरकारी र गैरसरकारी अस्पताल खुलेका छन्। 

कल्पना गरौं त आजभन्दा ४३ वर्षअघि क्यान्सरबारे आमजनमा कस्तो धारणा थियो होला? त्यो समय नेपालमा न क्यान्सरको उपचार सुरु भएको थियो, न क्यान्सरबारे जनचेतना। हो, त्यही समय क्यान्सरमाथि विशेषज्ञता हासिल गर्ने जोखिम उठाउने व्यक्ति हुन्, डा तारा मानन्धर।

त्यो समय प्रायः सबै रोगमा विशेषज्ञको अभाव थियो। जनरल मेडिसिन वा स्त्री रोगमा एमडी गरेकी भए उनलाई काम र दाम दुवै हासिल गर्न सहज हुन्थ्यो। सरकारी सेवाबाट अवकाश प्राप्त जीवन टेकुस्थित आफ्नै घरको पहिलो तलामा रहेको क्लिनिकमा होइन, आफ्नै लगानीको कुनै भव्य अस्पतालमा बिताइरहेकी हुन्थिन्। तर, नेपालकै पहिलो अन्को रेडियोलोजिस्टको इतिहास बनाउन पाउँथिनन्। नेपालको स्वास्थ्य क्षेत्रले सगर्व सम्झिने ‘डा तारा मानन्धर’ हुन्थिनन्।  

उपचारका लागि विदेश जान सक्ने आर्थिक हैसियत नभएका क्यान्सर रोगीको भरोसा बन्दाका सुखानुभूति सगर्व सुनाउने अवसर उनको त्यही आँट दिलाएको हो। नेपालमै क्यान्सरको रेडियोथेरापी सुरु गर्दाको खुसी बाँड्ने मौका त्यही जोखिमपूर्ण निर्णयबाट मिलेको हो र अन्कोलोजीमा नेपालमै विशेषज्ञ तहको पढाइ सुरु गर्ने प्रोफेसरका रूपमा चिनाउने अवसर त्यही कदमबाट प्राप्त भएको हो।

पढाइ क्यान्सरको, काम स्त्रीरोगको
कुनै समय क्यान्सर उपचारकी एक्ली नक्षत्र डा ताराका पथ पछ्याउँदै क्यान्सर रोगमा विशेषज्ञता हासिल गर्नेहरू बढेका छन्। उपचार केन्द्रहरू थपिएका छन्। क्यान्सरको स्तरीय उपचार सेवाका लागि देश छाड्न नपर्ने वातावरण बनेको छ। 

तर उनलाई यो बाटो बनाउन भने सहज भने भएन। २०३५ सालमै क्यान्सरमा विशेषज्ञता हासिल गरेकी उनले ८ वर्ष त क्यान्सरका बिरामीको उपचार गर्ने वातावरण नै पाइनन् भने रेडियाथेरापीबाट उपचार सेवा दिन २०४८ सालसम्म कुर्नुपर्‍यो। किनभने त्यो समय क्यान्सरका विषयमा प्रशस्त जानकारी स्वास्थ्य सेवामा रहेका हाकिमलाई समेत थिएन । त्यसैले क्यान्सर उपचार सेवा दिने वातावरण मिलेन। 

महिला डाक्टर भएका कारण उनलाई प्रसूति गृहमा पठाइयो । उनले तत्कालीन स्वास्थ्य सचिवसँग आफूले क्यान्सर सम्बन्धी विशेषज्ञता हासिल गरेकोे बताएकी थिइन् । त्यही अनुसार उपचार सेवा थाल्ने वातावरण भएको अस्पतालमा पठाइदिन आग्रह गरेकी थिइन् । तर, सुनुवाइ नै भएन । तत्कालीन सचिवको ‘कमन सेन्स’ले महिला डाक्टर महिलाकै उपचारमा ठिक हुने ठहर्‍यायो । दुई वर्ष उनले प्रसूति गृहमा बिताइन्। उनी त्यो क्षण सम्झिन्छिन्, ‘प्रसूति तथा स्त्री रोगका विषयमा एमबिबिएस पढ्दा केही च्याप्टर पढेकी थिएँ तर काम नै त्यहीँ गर्नुपर्ने भएपछि थप जानकारी हासिल गर्नुपर्‍यो।’

उनले प्रसूतिमै रहँदा यो रोगका थप विषयमा पढिन् । आफूभन्दा वरिष्ठ र सोही रोगका विशेषसँग एक विद्यार्थीका रूपमा सिकिन् र त्यहाँबाट निस्किँदा उनी प्रसूति तथा स्त्री रोगमा विशेषज्ञसरह नै जान्ने भइसकेकी थिइन् । उनले भनिन्, ‘सिक्दै जाँदा सर्जरी गरेर प्रसूति (सिजेरियन सेक्सन) गराउनेसम्म भइसकेकी थिएँ । त्यहाँ जानेको कुरा मलाई भक्तपुर अस्पतालमा सरुवा भएर जाँदा काम लाग्यो ।’ दुई वर्ष भक्तपुर अस्पतालमा उनले प्रसूति तथा स्त्री रोगमै सेवा दिइन्। 

भक्तपुरबाट उनको वीर अस्पतालमा सरुवा भयो । वीरमा पनि केही वर्ष उनलाई जनरल सर्जरी र प्रसूति तथा स्त्री रोगकै युनिटमा राखियो। 

क्यान्सर उपचारको नेपाली इतिहास 
केही वर्ष यसरी बिताएपछि उनले वीरबाट क्यान्सरका बिरामी हेर्ने र केमोथेरापी दिने गर्न थालिन्। ‘नेपालमा क्यान्सरको उपचार हुने ठाउँ नभएकाले सक्नेहरू भारत लगायतका देश जान्थे, कहीँ जान नसक्ने चाहिँ वीरमा आउँथे,’ उनले भनिन्, ‘धेरै अन्तिम अवस्थामा पुगिसकेपछि आउने भएकाले दुखाइ कम गर्ने औषधि दिएर मात्रै पठाउनुपथ्र्यो।’ 

केही वर्षमा नेपालमै क्यान्सर रोग विशेषज्ञ रहेको बिरामीले थाहा पाउन थाले । पहिलो, दोस्रो र तेस्रो स्टेजमा आएका बिरामीलाई केमोथेरापी सेवा दिन उनले सुरु गरिन् । २०४८ सालमा क्यान्सर उपचारका लागि नेपालले एउटा इतिहास बनायो अर्थात् वीर अस्पतालका तत्कालीन प्रमुख डा ताराबहादुर खत्रीले नेपालमै क्यान्सर उपचार थाल्नुपर्छ भन्दै रेडियसन मेसिनका लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालमा क्यान्सर रेडियसनका लागि कोबाल्ट मेसिन आइपुग्यो। अन्को रेडियोलोजीमा विशेषज्ञता हासिल गरेकी डा ताराले त्यसलाई जडान गर्नेदेखि सेवा दिनेसम्मका काममा खटिनुपर्‍यो। २०४८ साल फागुनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उक्त रेडियसन मेसिन उद्घाटन गरे। क्यान्सर उपचारको नेपाली इतिहास बन्यो यो मिति।

किन पढिन् क्यान्सरबारे?
रेडियसनबाट क्यान्सरको उपचार गर्ने उपकरण वीरमा जडान भएपछि उनले गरेका संघर्षका कथा धेरै छन् । त्यसअघि उनले विशेषज्ञता हासिल गर्दा किन क्यान्सर रोजिन् भन्ने कुरा उल्लेख गर्नु सान्दर्भिक हुन्छ।

उनले तीन चरणका कारण छन्, पहिलो चरणमा नेपालमा क्यान्सर विशेषज्ञ नभएकाले त्यो अभाव पूर्ति गर्ने लक्ष्य लिएकी थिइन् । दोस्रो चरणमा उनी एमबिबिएस पढ्दा रेडियो अन्कोलोजीमा एमडी गरिरहेका एक भारतीय डाक्टरले उक्त विषय राम्रो भएकाले पढ्न हौस्याइदिए।  

क्यान्सर नै पढ्ने अन्तिम चरणको निर्णयका पछाडि भने भावुक कथा छ। 

उनकि आमाको मृत्यु क्यान्सरकै कारण भयो । उनी एमबिबिएस सकाएर इन्टर्न गरिरहेका बेला आमाको बेस्सरी पेट दुख्यो। परिवारले उपचारका लागि वीर अस्पताल भर्ना गराए । डाक्टरले ‘सिए’ भएको भने। परिवारले सिए भनेको क्यान्सर भनेर बुझेनन् । त्यसपछि उनका बुवा–छोरी पढिरहेकै कलेज बनारसमा उपचारका लागि आमालाई लगियो । उनले आफ्नो प्रोफेसर डा एनएन खन्नालाई देखाइन् ।  खन्नाले अप्रेसन गरिदिए । तर, ड्युडेनलको लिपोमा (क्यान्सर) भइसकेको रहेछ । उनले भनिन्, ‘चाँडै बढ्ने खालको क्यान्सर थियो । एक वर्षजति बाँच्नुभयो ।’

उनी भन्छिन्, ‘क्यान्सर पत्ता नलागेर वा जोगाउने सकिने चरणमा पत्ता लागेर नेपालमा उपचार नभएका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर यही विषय रोज्न बल पुग्यो । नयाँ विषयमा विशेषज्ञता गर्ने चाहना पनि पूरा भयो ।’

नेपाल सरकारको छात्रवृत्तिमा उनी सहित डा लता बज्राचार्य र पुष्पा मल्ल त्यहाँ पढ्न पुगेका थिए । तीमध्ये डा बज्राचार्य एमबिबिएस सकेर नेपाल फर्किइन् । पछि स्त्री रोगमा विशेषज्ञ गर्न गइन् भने डा मानन्धर र मल्लले सोही अस्पतालबाट विशेषज्ञता हासिल गरेर मात्रै नेपाल फर्किए।

२० वर्ष चलाइन् वीरको रेडियसन मेसिन 
क्यान्सर उपचारका लागि नेपालमै पहिलोपल्ट रेडियसन मेसिन वीर अस्पतालमा ल्याइएको हो २०४८ सालमा। त्यो बेला अन्को रेडियसनमा एमडी गरेकी उनी एक्लै थिइन्। तर, २० वर्षसम्म वीरमा उक्त मेसिन चलाइन् उनले। बीचमा केही समय डा आरती साह आए पनि बाँकी सबै समय क्यान्सरको ओपिडी, केमोथेरापी र रेडियसन उनी एक्लैले धानिन्। उनले भनिन्, ‘बिरामीको चाप निकै भएपछि एक जना एचएलाई सिकाएर सहयोग लिएँ।’

२०६८ सालमा उनी सेवाबाट रिटायर्ड भइन् र नेपालको सवैभन्दा पुरानो रेडियसन मेसिन २०७२ सालबाट ‘रिटायर्ड’ भयो । अर्थात्, तीन वर्षदेखि वीर अस्पतालको क्यान्सर विभाग रेडियसन मेसिनविहीन छ । 

गरिबको भरोसा बनेको र पहिलो क्यान्सर उपचार केन्द्रको पहिचान बनाएको वीर अस्पतालको यो अवस्था सुन्दा डा मानन्धरको मन दुख्छ । क्यान्सर उपचारका लागि आफूले गरेको संघर्ष सम्झिन्छिन् र सहज अवस्थामा पनि मेसिन आउन नसक्नुलाई मूल्यांकन गर्छिन् । किन मेसिन आइरहेको छैन ? उनी त्यतातिर जाँदिनन् । उनको शुभेच्छा र चाहना छ– चाँडै वीर अस्पतालबाट क्यान्सरका बिरामीले रेडियोथेरापी उपचार पाएको सुन्न पाइयोस् ।

डा मानन्धरकै छत्रछायाँमा चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) बाट क्यान्सरमै विशेषज्ञता हासिल गरेकी डा सन्ध्या चापागाईंलाई २४ वर्षदेखि निरन्तर दिइरहेको सेवा अवरुद्ध हुँदा दुःख लागेको छ । हाल न्याम्समै एसोसिएट प्रोफेसरका रूपमा सेवारत उनी भन्छिन्, ‘त्यस्तो अप्ठ्यारो समयमा उहाँले मेसिन ल्याउन सफल हुनुभयो र सेवा आरम्भ गर्नुभयो । तर, अहिले ‘सेवा छैन’ भनेर दिनदिनै बिरामी फर्काउनु पर्दा चित्त दुखिरहेको छ ।’

डा मानन्धरले गरेको सुरुवात र मेहनतसँगै सरकारले समेत वीरलाई उपकरणयुक्त बनाउन जोड दिनुपर्ने डा चापागाईं बताउँछिन् । भन्छिन्, ‘त्यस्तो गाह्रो गरेर सुरुवात गर्नुभयो । क्यान्सर उपचार हुने अस्पतालका रुपमा चिनाउनुभयो । पढाइ हुने ठाउँका रुपमा विकास गर्नुभयो । तर, सरकारले उपकरणमा ध्यान नदिँदा यतिबेला हामी समस्यामा छौं ।’

सुरु हुनुअघि नै बिरामीको लाइन
क्यान्सर सम्बन्धी प्रशस्त जनचेतना र नेपालमा उपचार सुरु नभएका कारण सुरुमा बिरामी अभाव हुन सक्ने डा मानन्धरको अनुमान थियो । तर, रेडियसन मेसिन जडान गर्न थालेदेखि नै बिरामीको लाइन लाग्न थाल्यो । हरेक दिन रेडियसन थेरापी लिने नै ३० देखि ४० जना पुग्न थाले । उनले भनिन्, ‘बिरामीको चाप यति धेरै भयो कि मलाई उपचारका लागि भ्याइनभ्याइ हुन थाल्यो ।’

आफ्नो समयभन्दा बिरामीको सेवालाई उनले प्राथमिकतामा राखिन् । त्यही अनुसार अस्पताल प्रशासनले सघायो । केही समयपछि ‘पेइङ क्लिनिक’ भनेर थप केही समय उपचार सेवा दिने योजना बन्यो । यसरी एकैदिन ६० देखि ७० जनाले वीरबाट रेडियसन थेरापी सेवा पाउन थाले । उनी भन्छिन्, ‘पछि अरू क्यान्सर सेन्टर पनि खुल्न थाले । रेडियसन मेसिन आउन थाले । तर, हामीकहाँ भएको बिरामीको भिड कहिल्यै कम भएन ।’

न्याम्समा क्यान्सरको विशेषज्ञता सुरुवात
नेपालमा क्यान्सर सम्बन्धी विशेषज्ञता पढाइ हुने एक मात्रै ठाउँ न्याम्स हो । यसको सुरुवात डा मानन्धरकै नेतृत्वमा भएको हो । डा मानन्धर विभागीय प्रमुख रहेको समय २०६० सालबाट अन्कोलोजीको पढाइ सुरु भयो । हालसम्म ३० जनाभन्दा बढी क्यान्सर विशेषज्ञ उत्पादन गर्न सफल भइसकेको छ न्याम्स । देशभरिकै क्यान्सर उपचार केन्द्रमा छरिएका न्याम्स उत्पादन अब्बलसमेत ठहरिएका छन् । गर्वसाथ सुनाउँछिन् उनी, ‘मेरा विद्यार्थी अहिले राम्रा डाक्टर छन् । प्रायः सबै क्यान्सर उपचार केन्द्रमा छन् । यो मेरो जीवनको ठूलो उपलब्धि हो ।’

डा मानन्धरले सुरुवात गरेको क्यान्सर पठनपाठन वीर अस्पतालमा अहिले पनि निरन्तर चलिरहेको छ । उनी रिटायर्ड त भइन् तर आफूले जानेको सिप र हासिल गरेको अनुभव बाँड्न अझै छाडेकी छैनन् । भिजिटिङ प्रोफेसरका रूपमा उनी अहिले पनि न्याम्समा पुगिरहेकी हुन्छिन् । यसैगरी काठमाडौंका अन्य क्यान्सर सेन्टरमा पनि उनी आफ्ना ज्ञानसिप दिइरहेकी हुन्छिन् । 

बिरामीले हुन दिँदैनन् रिटायर्ड
उमरेले ६७ वर्ष पुगिन् मानन्धर । कुनै समय धेरैभन्दा धेरै बिरामीको सेवामा खट्ने उनी यतिबेला केही फुर्सद लिएर आराम गर्न चाहन्छिन् । सरकारी सेवाबाट रिटायर्ड उनलाई बिरामीले उपचार सेवाबाट अवकाश दिएका छैनन् । उनले भनिन्, ‘मैले धेरै वर्षपहिले उपचार सेवा दिएकाहरू मेरो नम्बर खोजेर फोन गर्दै फलोअपमा आउँछन् । आफूले हेरेका बिरामीको माया लाग्छ र हेरिदिन्छु।’

कतिपय १७–१८ वर्षदेखि फलोअपमा रहेको उनी बताउँछिन् । पहिलो र दोस्रो चरणमै क्यान्सर पत्ता लागेकाहरू निको भएका छन् । त्यसैले उनीहरू कहिलेकाहीँ अवस्थाका बारेमा जानकारी लिन फलोअपमा आउने गरेका छन् उनीकहाँ । त्यसमा केही ठूला नेता र मिडिया पर्सनालिटीका आफन्तहरू पनि छन् । उनीहरू सम्मेलनहरूमा सहभागी हुन्छन् । जनचेतना फैलाउनसमेत लागिपरेका भेटिन्छन् । 

निको भएका बिरामीले दिन्छन् खुसी
उनले थुप्रै क्यान्सरका बिरामीलाई उपचार दिइन् । कति निको पनि भए । तिनीहरूको पुनर्जीवनको सहयात्री हुन पाएकोमा उनलाई गर्व लाग्छ । केही त्यस्ता बिरामी सम्झिइन् उनले । तीमध्ये एक बिरामीका बारेमा उनले भनिन्, ‘ब्रेस्ट क्यान्सर भएकी एक युवती उपचारका लागि मकहाँ आएकी थिइन् । उनी निराश थिइन् । ठिक हुन्छ भनेर उपचार गर्दै हौसला दिएँ । ठिक भएर विवाह गरिछन् र बच्चा पनि पाइछन् । दोस्रो बच्चा पेटमा भएका बेला भेटेकी थिइन्।’

एक जना पद्मकन्या क्याम्पसकी लेक्चररको क्यान्सर उनले उपचार गरेकी थिइन् । लामो समय सम्पर्कमै आइनन् । उनलाई लाग्यो– ठिक पो भएन कि ? तर, १६–१७ वर्षपछि फेरि एक दिन वीर अस्पतालको ओपिडीमा नियमित जाँचका लागि आइपुगिन् । डा मानन्धरलाई लाग्यो, ‘यो अनुहार कहीँ देखेकी छु ।’  डा मानन्धरले चिनेको बताउँदा ती लेक्चरर १६ वर्षअघि उपचार सेवा लिएको सम्झाइन् । आफू ठिक रहेको बताइन् ।

धेरै बिरामीहरू यस्तै लामो समयपछि उनको फोन नम्बर खोजेर एकपल्ट अवस्था हेरिदिन आग्रह गर्छन् । उनी भन्छिन्, ‘हुँदैन भन्नुभएन । हेरेर पठाउने गरेकी छु।’

यसरी बनिन् डाक्टर 
कसरी अब्बल डाक्टर बन्ने र धेरै बिरामीलाई सेवा दिने भन्नेमै लामो समय गुज्रियो । त्यसैले कहिल्यै कसरी डाक्टर बनियो ? भन्ने प्रश्न दिमाग आएन । उनलाई एक्कासि यही प्रश्न गर्दा मात्रै चिकित्सकीय जीवन उत्तराद्र्धमा उनी आफू डाक्टर बन्नुको कारणबारे गमिन् । एकछिन गमेपछि उनले बाल्यकालका केही दृश्य सम्झिएर भनिन्, ‘सानोमा हामी बिरामी पर्दा उपचारका लागि घरमै डाक्टर आउनुहुन्थ्यो । उहाँकै व्यक्तित्वबाट प्रभावित भएर होला।’

विराटनगरको जोगबनीमा जन्मेहुर्केकी हुन् उनी । उनको बुवा त्यहाँका जमिनदार थिए र काठमाडौंमा पनि उनीहरूको घर थियो । विराटनगरकै बालिका विद्यालयमा ८ सम्म पढेपछि थप अध्ययनका लाथि काठमाडौं आइन् । सन् १९६७ मा उनले काठमाडौंको कान्ति ईश्वरी माध्यामिक विद्यालयबाट पहिलो श्रेणीमै एसएलसी पास गरिन् । डाक्टर बन्ने लक्ष्य लिइसकेकाले उनले अमृत साइन्स क्याम्पसबाट आइएससी गरिन्।

सन् १९६९ मै आइएससी पास गरे पनि त्यो वर्षको छात्रवृत्ति कोटामा उनी छानिइन् । १९७० मा उनी छानिएर उमबिबिएस पढ्न बनारस हिन्दु युनिभर्सिटी पुगेकी हुन्। 

एमडी गरेर काम थालेपछि डा किरण मानन्धरसँग प्रेम विवाह गरेकी हुन् । प्रसूति गृहमै काम थालेपछि त्यहीँ मेडिकल अफिसरका रूपमा कार्यतर डा किरणसँग उनको चिनजान भयो, प्रेम बस्यो र विवाह गरे । एक छोरा र एक छोरी छन् डा मानन्धर दम्पतीका । दुवैले आफ्ना बुवाआमाको क्षेत्र रोजेनन् । उनकी छोरीले इलेक्ट्रिकल इन्जिनियरिङ र छोराले इन्फरमेसन टेक्नोलोजी पढे।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने