डक्टर्स आर्टिकल

जोर्नी प्रत्यारोपण कसले र किन गराउने ? डा सुमनबाबु मरहठ्ठालाई ८ प्रश्न

 

डा. सुमन बाबु मरहठ्ठा, हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण विज्ञ हुन्। उनी विगत ६ वर्षदेखि जोर्नी प्रत्यारोपण विशेषज्ञका रुपमा सानेपास्थित स्टार अस्पताल र निजामती कर्मचारी अस्पताल वानेश्वरमा कार्यरत छन् । उनी आफू आगामी दिनमा जोर्नी प्रत्यारोपणमै सक्रिय हुने बताउँछन्। जोर्नी प्रत्यारोपणका विषयमा उनीसँग गरिएको कुराकानी :

जोर्नी प्रत्यारोपण के हो ?
विभिन्न कारणले हाम्रा शरिरका जोर्नीहरु बिग्रेर नियमित काम गर्न अप्ठ्यारो हुनसक्छ। यस्तो अवस्थामा शरिरको बिग्रिएका जोर्नीहरु विशेष गरी (घुँडा र हिप)लाई शल्यक्रियाको सहायताले कृत्रिम जोर्नी राख्ने कार्यलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। यसले बिरामीलाई पुनः नियमित कार्यका लागि सहज बनाउँछ।

जोर्नी बिग्रनुका कारण र लक्षणहरु के– के हुन् ?
जोर्नी बिग्रनुको प्रमुख कारण भनेको उमेर बढ्दै गएर हड्डी खिइनु हो। यसलाई ओस्टेरियाअर्थराइटिस वा जोर्नी खिइने समस्या भनिन्छ । यसका अलावा पहिले जोर्नीमा संक्रमण भएर, जोर्नीमा चोट लागेर, बाथरोग, युरिक एसिड आदिका कारढा पनि जोर्नी खिइने समस्या आउन सक्छ । हाम्रो व्यस्त जीवनशैली, खनपानको समस्या, मोटोपना र नियमित शारीरिक व्यायामको कमिले पनि जोर्नी बिग्रिन सक्छ।            
जुनसुकै कारणले गर्दा जोर्नी बिग्रेको भएपनि त्यसको मुख्य लक्षण भनेको दुखाई हो । सुरुसुरुमा बिरामीलाई पलेँटी कसेर बस्दा, हिँडडुल गर्दा वा भर्‍याङ्ग ओर्लदा समस्या आउँछ । पछि गएर हर समय दुखाइ हुने र कालान्तारमा राति सुत्न पनि अफ्ठ्यारो हुने गरी  जोर्नी दुख्ने गर्दछ । यसका साथै खुट्टा बाङ्गो हुने, जोर्नी सुनिने जस्ता समस्या पनि देखा पर्न सक्छन्।

जोर्नी प्रत्यारोपण सफल नै हुने सम्भावना कति रहन्छ ?
जोर्नी प्रत्यारोपण अर्थोपेडिक्स विषयको एउटा छुट्टै विधा हो। यो संसारभर गरिने एक उत्कृष्ट र सफल शल्यक्रिया हो। यति हुँदा पनि यसको बारेमा बिरामीहरुमा विभिन्न प्रकारका भ्रमहरु रहेका छन् । यसको शल्यक्रिया गरेपछि बिरामीहरुलाई हिँडडुल गर्न झन् गाह्रो हुन्छ भन्ने भ्रम मैले धेरैमा देखेको छु । जुन विलकुल गलत हो । बिरामीको दुखाई कम गर्न र उसलाई पुनः आफ्नो नियमित जीवनमा फर्काउन यसले ठूलो भूमिका खेल्दछ। 

त्यसो भए नेपालमा यो अपरेशन कहाँ र कति भइरहेको छ ?
नेपालको परिप्रेक्ष्यमा यकिन तथ्यांक नभए पनि जोर्नी दुखाई भई हस्पिटल आउने बिरामीको संख्याका आधारमा अनुमानित करिब एक लाख मानिसहरुको जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था छ भनेर भन्न सकिन्छ । यसमा ५० प्रतिशत भन्दा बढी मानिस दुरदराजमा रहेका छन् र उनीहरुले न्यूनतम स्वास्थ्य सेवा पनि प्राप्त गर्न सकिरहेका छैनन् । हाल नेपालमा वर्षमा सालाखाला ५ सय देखि ६ सयसम्मको जोर्नी प्रत्यारोपण भइरहेको छ। जुन आवश्यक संख्या भन्दा एकदमै न्युन हो । नेपालमा योे सेवा सिभिल हस्पिटल, टिचिङ्ग हस्पिटल, नेपाल अर्थपेडिक हस्पटललगायत सरकारी, केही निजी अस्पतालमा र काठमाण्डौँ बाहिरका केह िअस्पतालमा समेत यो सेवा उपलब्ध छ।

जोर्नी प्रत्यारोपण कम हुनुको प्रमुख कारण हके हो ?
जोर्नी प्रत्यारोपण कम हुनुको प्रमुख कारण भनेको गरिबी र यस सम्बन्धी जनचेतनाको कमी नै हो । यसमा सरकारी तवरबाट कुनै छुट नभएको र कृत्रिम जोर्नी बिरामीले आफँै किन्नुपर्ने भएकाले सम्पूर्ण नेपालीको आर्थिक अवस्थाले यो सेवा लिन पुग्दैन । यसका साथै धेरै मानिसहरुमा यसबारे चेतना छैन । यसका साथै प्रशस्त दक्ष जनशक्तिको अभाव, उपयुक्त जोर्नी प्रत्यारोपणको सेन्टरको अभाव र यस सेवाका बारेमा रहेको गलत भ्रमका कारणले पनि प्रत्यारोपण कम भइरहेको छ ।

प्रत्यारोपणबाट बिरामीलाई के–के फाइदा छ ?
जोर्नी प्रत्यारोपणको मुख्य फाइदा भनेको नै दुखाई कम हुनु हो । जसलाई हिँडडुल र आफ्ना नियमित कार्य गर्न अफ्ठ्यारो भएको थियो उनीहरु पहिले जस्तै हिँडडुल गर्न सक्छन् । निश्चित समय पश्चात गाडी चलाउने, साइकल चलाउने, पौडी खेल्ने जस्ता सम्पूर्ण नियमित कार्य गर्न सक्छन् । तर शल्यक्रियापछि बिरामीलाई भुँइमा पलेँटी कसेर बस्न र गहु्रङ्गो काम गर्न सल्लाह दिइँदैन।

प्रत्यारोपण पछि बिरामीले के–के गर्नुपर्छ ?
यो एउटा जटिल शल्यक्रिया भएकाले बिरामीको सम्पूर्ण जाँच गरेर मात्र शल्यक्रिया गरिन्छ । सफल शल्यक्रिया ३–४ दिनमा नै बिरामीलाई वैशाखीको साहरामा हिँडडुल गर्न लगाइन्छ । यसका साथै ७–१० दिनसम्म हस्पिटलमा राखी उपचार र फिजियोथेरापी गराइन्छ । पूर्ण रुपमा बिरामी ठिक हुन २–३ महिना लाग्छ । शल्यक्रिया पश्चात नियमित फिजियोथेरापी गर्नु पर्दछ।

यो सेवालाई आवश्यक व्यक्ति सम्म पुर्‍याउन के गर्नु पर्छ ?
यो सेवा कम हुनुको प्रमुख कारण गरिबी र चेतनाको अभाव हो । यसका साथै समाजमा बुढेशकालमा जोर्नी दुख्ने समस्या सामान्य कुरा हो भन्ने गरिन्छ। यो निको पार्न सकिँदैन भन्ने गलत धारणा छ । यो सेवा धेरै मानिसको पहुँचमा पुर्‍याउन पहिलो कुरा यसबारे उचित जनचेतना जरुरी छ । यसका साथै सरकारी तवरबाट पनि यो सेवालाई विस्तार गर्न पहल गर्नुपर्दछ । यसका अलावा यो बुढेशकालको रोग भएकाले किन शल्यक्रिया गर्ने भन्ने बिरामीको बुझाई पनि परिवर्तन गर्नु जरुरी छ । यसका साथै स्वास्थ्य बिमाको व्यवस्था भएमा निकै विपन्न व्यक्तिले पनि सुविधा प्राप्त गर्न सक्दछन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Subas Dhakal: जानकारीको धन्यवाद . नेपाल सरकार ले ब लेख्नुहुन्छ भदौ २०, २०७५ बुधवार १६:१०:२४
जानकारी को लागि धय्न्याबाद. नेपाल सरकार ले यों कुरा बुझोस् र तेही अनुसार को योजना तयार गरि स्वय्स्थ्ये सेवा दिनु राम्रो होला
nabaraj ghimire लेख्नुहुन्छ भदौ १५, २०७५ शुक्रवार ०८:५८:०३
How much cost is needed to transplant the joins of nees?

यसमा तपाइको मत




पढ्नै पर्ने