काठमाडौँ – किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले २६ पल्ट अप्रेसन गरेर भएपनि एक महिालको हात जोगाइदिएको छ। कुसुन्ती निवासी ४० वर्षीय मैया श्रेष्ठको हात यसरी जोगाइएको हो ।
गत वैशाख ४ गते टिकाथलीस्थित माइतिबाट घर फर्किने क्रममा उनी एक्सिडेन्टमा परेकी थिइन् । १८ जना बोकेको बस केहीबेर गुड्न नपाउदैँ पल्टियो। सवै यात्रु घाइते भए, तीमध्ये ४ जना गम्भीर घाइते भए । गम्भीर घाइते हुनेमा मैया पनि एक हुन्।
उनले त्यो दुर्घटनामा झन्डै गुमाउन पुगेकी दाहिने हात चिकित्सकको अथक प्रयासले जोगिएको छ । उनले भनिन्, ‘दुर्घटनामा परिसकेपछि बसबाट निस्किने क्रममा मेले दाहिने हात नै नभएको जस्तो महशुस गरेकी थिएँ।’
अस्पतालमा ल्याइपुर्याउदा मैयाको हात निकै ड्यामेज अवस्थामा रहेको किस्ट मेडिकल अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा सुरज ब्रजाचार्यले बताए।
उनले भने ‘बिरामी अस्पतालमा आउँदा उहाँको हातमा निकै चोट लागेको थियो । थियो सुरुमा त हामीले बिरामीको ज्यान बचाउनु पर्ने भएकाले परिवारसँग सल्लाह गरेर इमर्जेन्सी थिएटरमा अप्रेसन गरेर रगत बग्न रोक्यौं ।’ त्यसपछि हात जोगाउन मुश्किल रहेको आफूहरुलाई महशुस भएको उनले बताए।
उनका परिवार र उनले देखाएको विश्वासका कारण आफूहरुले प्रयास गर्दा सफल भएको डा ब्रजाचाय बताउँछन्। उनले भने ‘अहिलेसम्मको करियरमा यस्तो चुनौतिपुर्ण काम गरिएको थिएन र नेपालमा पनि सम्भवता पहिलो घटना होला।’
हातको अप्रेसन भने पटक–पटक गर्नुपरेको उनी बताउँछन् । भन्छन्, ‘१५ औँ अप्रेसनबाट उहाँको हात सुधार हुदैँ गएको थियो। बिरामीको हातको छाला पुरै नष्ट भएकाले घाउमा बिरामीको पेट र तिघ्राबाट छाला निकालेर हाल्यौं । हातको हड्डी ठाउँ–ठाउँमा भाचिएकोले २६ औँ पटक अपरेसन गरेर नटको माध्यमबाट हड्डी जोड्ने काम गरियो।’
अहिलेसम्म मैयाको डाक्टरहरुले आफूलाई हात मात्रै होइन, नयाँ जीवन दिएको अनुभव भएको बताउँछिन्। डा ब्रजाचार्यका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेकाले चाँडै डिस्चार्ज गरिनेछ । हात छिटो चलाउनका लागि फिजीयोथेरापी केही समय गर्न जरुरी रहेको उनले बताए।