प्रोफाइल

फाटेको मन सिउने डाक्टर


पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
    त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
         यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?

राजेन्द्र थापाको शब्दमा अरुणा लामाले गाएको यो गीत सुन्दा धेरैलाई लाग्छ– हो त, मन नै फाटेपछि सिउने कुनै उपाय नै छैन ! तर, अहिले चिकित्सा विज्ञानले फाटेको मन सिउने प्रणालीको विकास विकास गरिसकेको छ । फाटेको मन सिउने अर्थात् बिग्रिएको मनस्थितिको उपचार प्रणाली। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा दैनिक ५० भन्दा बढी फाटेका मन सिलाइरहेको छ, डा रवि शाक्यको टिम । यो कर्ममा दुई दशकदेखि सक्रिय छन्, प्रतिष्ठानका मानसिक रोग विभाग प्रमुख डा शाक्य।

नेपालमा सेवा दिइरहेका अब्बल मनोचिकित्सकमध्ये उनी एक हुन् । उनी जति क्षमतावान्, सक्रिय र सफल छन्, यस हिसाबले चिकित्साकै अरू विधामा भए ‘सेलिब्रिटी डाक्टर’ भइसक्थे । तर, उनी मानसिक रोगको उपचार गर्छन्। मानसिक उपचार पाएर निको भएको बिरामीले कहिल्यै अरूलाई भन्दैन– फलानो डाक्टर राम्रो छ। मलाई निको पार्‍यो। आफूले मानसिक समस्याको समाधान खोजेको कुरा सकेसम्म ऊ गोप्य राख्न चाहन्छ।

‘उपचारकै अरू विधामा रहेका मेरा साथीका बिरामीले अस्पतालको शय्यामा लडेको तस्बिर राखेर मलाई उपचार गर्ने डा फलानोलाई धन्यवाद भन्छन्,’ डा शाक्यको अनुभव छ, ‘हामीले उपचार गरेका बिरामी त सकेसम्म लुकाउँछन्।’

मानसिक रोगीलाई हेर्ने नेपाली दृष्टि अझै सोझो र सजिलो छैन । सर्वसाधारणमाझ मात्रै होइन, डाक्टरकै समाजमा पनि विभेद खपेका छन्, डा शाक्यले । कुनै बेला उनको टोली बिरामीको राउन्डमा जाँदा अरू डाक्टरले भनेको उनले सुनेका छन्, ‘पगला ग्रुप आयो ।’ यो विभेद खप्न नसकेरै मानसिक रोगका दुई तिहाइ नेपाली डाक्टर विदेशिएको तथ्यांक उनीसँग छ । तर, उनी यहीँ डटिरहेका छन् । उनको स्वभाव नै हट्ने होइन, डटी लड्ने खालको छ।

विशेषज्ञताका लागि साइक्याट्रिक रोज्दा उनलाई चिन्नेजान्ने, आफन्त र साथीभाई उल्टो सम्झाउँथे । उनीहरू भन्थे, ‘किन यही विषय गर्नुप¥यो । अरू विषयमा नाम निस्किहाल्छ नि ।’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कलिलो एक डाक्टरले ‘बौलाहा विद्या’ रोजेको हल्ला त्यस वरपर पनि फैलिएको उनी सम्झिन्छन्, ‘मान्छेहरू हेर्न आउँथे मलाई । अचम्ममा पर्थें।’

मनोचिकित्सा सिर्जनशील विधा लाग्थ्यो उनलाई । भन्छन्, ‘अरू सबैमा घोक्नुपर्छ । तर, यसमा आफ्नो सिर्जनशील दिमागको प्रयोग पनि गर्नुपर्छ ।’ वनस्थली स्कुलमा पढेका उनले कहिल्यै घोकेनन्, सिर्जनशील सिपको प्रयोग नै सधैं प्रथम स्थानका लागि सहयोगी भइदियो । अब्बल विद्यार्थीले कि इन्जिनियरिङ कि चिकित्सा रोज्नुपर्ने हुन्थ्यो । उनले डाक्टर बन्ने लक्ष्य लिए।

मेडिकल कलेजको संरचना, पढाइ र भव्यताको एउटा सुन्दर तस्बिर थियो उनको दिमागमा । बंगलादेशको राजशाही मेडिकल कलेजमा पुगेपछि त्यो भव्य सपनाको तस्बिर विपनामा कुरूप भेटियो। न कलेजको भौतिक संरचना उनले सोचे अनुसारको थियो, न पढाइ नै नियमित । ‘विद्यार्थी राजनीतिले आक्रान्त कलेज कुन बेला बन्द हुन्छ भन्ने नै थाहा हुँदैनथ्यो । म त परीक्षा नै नदिई भाग्ने मनस्थितिमा पुगेँ,’ उनले भने । उनका अग्रजले भाग्न दिएनन्, पहिलो वर्षको परीक्षामा पनि कान समातेर बसाएको उनी सम्झिन्छन् । यसले उनलाई डिप्रेसन भयो । बिस्तारै यथार्थ पचाउन थाले। अग्रज र संगीतको सहयोगले डिप्रेसनबाट बाहिर आए, र एमबिबिएस पूरा गरे।

उनकै एक साथीलाई कडा खालको मानसिक रोग सिजेफ्रेनिया भयो । उनी सम्झिन्छन्, ‘हामीलाई मार्न आउँछन् भन्दै खुकुरी समाएर बस्थ्यो कोठामा ।’ तिनलाई त्यसबाट उन्मुक्ति दिलाउन उनले प्रत्यक्ष सहयोग गरे । यसले मानसिक समस्यासँग जुध्न सिकायो । एमबिबिएसमा जब मानसिक रोगको च्याप्टर आयो, उनलाई पढ्न रहर लाग्यो । त्यसपछि त्यही बेला तय गरे, ‘भविष्यमा मैले रोज्ने विधा यही हो । किनभने अरू विधामा घोक्नु मात्रै पर्छ, यहाँ सिर्जनशीलताको प्रयोग गर्न सकिन्छ।’

संसारमा यो समस्या बढ्दो भए पनि यसलाई रोज्ने कमै भेटे उनले । केही गरेर देखाउन सकिने आत्मबलका साथ उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्तिमा भारतको अल इन्डिया मेडिकल इन्स्टिच्युटबाट साइक्याट्रिकमा विशेषज्ञता हासिल गरे । फर्केर आएपछि सात वर्ष धरानमै सेवा दिए । त्यसपछि डेढ वर्ष ललितपुरमा रहेको पाटन अस्पताल र सन् २०११ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिँदै आइरहेका छन्। 

पाटन अस्पतालले सुरुमा उनीबाट मानसिक रोगका बिरामीको उपचार गराउन नियुक्त गरेको थिएन । एमबिबिएस पढाउनका लागि एक मनोरोग विशेषज्ञ जरुरी भएकाले डाक्टरभन्दा पनि पूर्वाधार पूरा गर्न लिइएको थियो । उनी सम्झिन्छन्, ‘मलाई नियुक्त गरेर एउटा कोठा दिएपछि भनियो– मानसिक रोग विभागका लागि केही वर्ष यही कोठाले पुग्छ।’

आफूलाई त्यहीँ सीमित गर्न चाहन्नथे उनी । केही गर्ने हुटहुटीले उनलाई बिरामीमाझ चाँडै लोकप्रिय डाक्टर बनायो । त्यही वर्ष मानसिक रोग विभागका लागि थप दुई कोठा थप्ने अवस्था सिर्जना भयो । प्रतिष्ठानमा मानसिक उपचारको जग हाल्न आइपुगेका उनले पछिल्ला सात वर्षमा छुट्टै विभागका रूपमा विकास गर्न सफल भएका छन् । उपचारका हिसाबले उनीसहित छ जनाको टोलीले प्रतिदिन ५० बिरामी ओपिडीमा हेर्छन् भने २५ बेडको वार्ड कहिल्यै बिरामीले खाली हुँदैन । तथ्यांक केलाउने हो भने सँगै रहेको मानसिक अस्पतालकै हाराहारीका मनोरोगीहरूको यो अस्पतालमा उपचार भइरहेको छ। 

अस्पतालमा मानसिक रोग उपचार केन्द्र बनाउने सपना केही समयपहिले नै पूरा भइसक्यो । प्रतिष्ठानमा मानसिक रोग विषयमा पढाउने सपना यही वर्षबाट पूरा हुँदैछ । मानसिक रोग विभाग प्रमुख डा शाक्य केही समयअघि मात्रै प्रोफेसरमा बढुवा भएका छन् । चिकित्सा क्षेत्रमा उनी ‘युवा प्रोफेसर’ कहलिएका छन्। 

मानसिक रोगभन्दा यसप्रति आमजनको धारणासँग लड्न बढी चुनौतीपूर्ण लागिरहेको छ, डा शाक्यलाई । ‘सर्वसाधारणको के कुरा गर्नु, डाक्टर र स्वास्थ्यकर्मी नै बिरामीलाई मानोचिकित्सककहाँ रिफर गर्दैनन् । बिरामी रिसाउला भनेर भनिदिन्छन्– केही भएको छैन ठिक हुन्छ।’ 

विश्व स्वास्थ्य संगठनले सम्पूर्ण जनसंख्याको २५ प्रतिशत मानसिक रोगी रहेको जनाएको छ । नेपालमा एकदमै न्यून मात्रै उपचारको पहुँचमा पुगेका छन् । सबैलाई उपचारको पहुँचमा ल्याउन ठूलो कसरत चाहिने देखेका छन्, उनले।

मानसिक रोगको उपचार गर्ने चिकित्सकको समेत अभाव छ । नेपालमा मानसिक रोगलाई मात्रै होइन, यसका डाक्टरलाई हेरिने वक्रदृष्टिका कारण धेरै विदेश पलायन भएको डा शाक्य बताउँछन् । मनोचिकित्सकहरूको संगठनको उपाध्यक्षसमेत रहेका उनी भन्छन्, ‘नेपालमा हामी एक सय ४७ जना छौं । विदेशमा तीन सयभन्दा धेरै नेपाली चिकित्सक हुनुहुन्छ।’ 

अर्थोआर्जनका दृष्टिले पनि नेपालमा मनोरोग विशेषज्ञलाई मुस्किल छ । ‘दिमागको उपचार दिमागै लगाएर गर्नुपर्छ । यो रोग जाँच्ने उपकरण भने पनि दिमाग हो, उपचार गर्ने प्रविधि भने पनि दिमाग नै । तर, बिरामीहरू प्रेसर पनि जाँचेको छैन, गफ गरेको त हो नि भनेर शुल्क तिर्न मान्दैनन्,’ उनको दुखेसो छ।

केही बिरामीको उपचारका लागि १२ पल्ट अमेरिका पुगिसकेका उनलाई फर्काउने एउटै कुरा छ । त्यो हो, ‘नेपालमा कमाउन नसके पनि हरेक दिन ५० परिवारको जीवनमा परिवर्तन ल्याउन पाइएको छ।’ 

चुनौती नै चुनौतीको दबदबे हिलो रहेको नेपालको मानसिक रोगको उपचार क्षेत्रमा केही सपनाका कमल फुलाइरहेका छन्, डा शाक्य । अहिले नेपालमा मदिराको कुलत मानसिक स्वास्थ्यका लागि सबैभन्दा ठूलो चुनौतीका  रूपमा देखिएको छ । यसका लागि उपचार केन्द्रहरू खोलेर समाधान निकाल्ने उनको सपना छ । आमाजनमा रहेको यसप्रतिको गलत धारणा र भ्रमहरु चिर्न लागिपर्ने चाहना छ। 

चेतना, सामाजिक भावना र आफ्नै मनको शान्तिका लागि उनले संगीतको सहारा लिइरहेका छन्, अहिले । मानसिक रोगको उपचारका लागि नेपालमा संगीत थेरापीको विकास गर्ने लक्ष्य पनि लिएका छन् । विद्यार्थीकालमा उनी आफै डिप्रेसनको सिकार हुँदा संगीत र संगतले उनलाई जोगाएको थियो । आफै गीत लेख्ने, संगीत भर्ने, गाउने र वाद्यवादनसमेत गर्ने उनी यसका लागि आफ्ना तर्फबाट कदम चालिरहेका छन्।

आफ्नो क्षेत्रमा डटी लड्ने शाक्य जस्तै केही डाक्टर छन्, जो फाटेका नेपाली मनहरू सिइरहेका छन्; टालिइरहेका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने