सुर्खेत- मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ।
लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए। जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताए। डा खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो।
सङ्घीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई रु तीन करोड ५० लाखको उपकरण प्राप्त भएको छ। अस्पतालले सामबारदेखि उक्त सेवा शुरु गरेको छ।
बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा खड्काले जानकारी दिए। 'अब नागरिकले महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन,' उनले भने। रासस