विचार/ब्लग

स्वास्थ्य क्षेत्रमा प्रतिकूल घटना र सेवाग्राहीको सुरक्षा

 डा. बच्चुकैलाश कैनी

‘चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गयो। चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरे। स्वास्थ्यकर्मीलाई दोष लगाउँदै बिरामीका आफन्तद्वारा  अस्पताल तोडफोड।’ यस्ता समाचार सञ्चारमाध्यमहरुमा बारम्बार आइरहन्छन्। आखिर किन हुन्छन् यस्ता घटना? के यस्ता घटना रोक्न सकिंदैन? यस्ता घटनामा को–को दोषी हुन्छन्? सम्बन्धित निकाय र सरकारले रोक्न सक्दैनन्? यी प्रश्नहरु निकै मननयोग्य छन्।

मानिस जतिसुकै योग्य, दक्ष, अनुभवी र तालिमप्राप्त किन नहोस्, ऊबाट केही न केही गल्ती हुन्छ। त्यसैले स्वभाविक रुपमा स्वास्थ्यकर्मीबाट पनि गल्ती हुन्छ। कुनै गल्ती नजानेर हुन्छ भने कुनै गल्ती नियतवश। कतिपयले आर्थिक प्रलोभनमा परेर पनि गल्ती गर्न सक्छन्।

मानवीय गल्तीको कुरा गर्ने हो भने धेरै थकान, एकाग्रता भंग, कम जनशक्ति, धेरै काम गर्नुपर्ने अवस्था, उचित तालिम र ज्ञानको अभाव आदिका कारण गल्ती हुन सक्छन्। साथै, कतिपय गल्तीहरु जनशक्ति, उपकरण, स्रोत र साधनको अभावले पनि हुन सक्छन्। 

कतिपय स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर सेवाग्राहीलाई चाहिने भन्दा धेरै औषधि दिने, धेरै जाँच गर्न लगाउने, धेरै समय अस्पतालमा भर्ना गरिदिने, नचाहिने सर्जरी वा उपचार गरिदिने कारण पनि मानिसको स्वास्थ्यमा प्रतिकूल घटना हुन्छन्। जस्तै चाहिने भन्दा धेरै मात्रामा औषधि लिंदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने, धेरै अस्पताल बस्दा इन्फेक्सन हुने आदि यसका उदाहरणहरु हुन्।
स्वास्थ्य एउटा संवेदनशील क्षेत्र हो। स्वास्थ्य उपचारमा सामान्य गल्ती हुँदा पनि बिरामीको ज्यानै जान सक्छ। कतिपय अवस्थामा सावधानी अपनाउँदा वा सानो प्रयासले स्वास्थ्य क्षेत्रमा हुने प्रतिकूल घटनालाई रोक्न पनि सकिन्छ। त्यसैले स्वास्थ्य क्षेत्रमा हुने अप्रिय घटना रोक्न र पेशालाई मर्यादित बनाउन सबै क्षेत्रका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीका पेशागत संगठन, सम्बन्धित काउन्सिल तथा सरकारी र गैरसरकारी निकायहरुको सामूहिक प्रयास जरूरी छ।

विश्वका हरेक मुलुकमा स्वास्थ्य सेवा उपलब्ध गराउँदा प्रतिकूल घटनाहरु हुन्छन्। फरक यत्ति हो, विकसित मुलुकमा त्यस्ता घटना कम हुन्छन् भने विकासोन्मुख मुलुकहरुमा बढी हुन्छन्। स्वास्थ्य सेवा उपलब्ध गराउँदा जनशक्ति, प्रविधि, उपकरण, औषधि लगायतका धेरै स्रोत र साधनको उपयोग गर्नुपर्ने हुन्छ। यीमध्ये कुनै एक पक्षमा समस्या आउँदा मानव स्वास्थ्य र उपचारमा प्रतिकूल घटना हुन पुग्छन्।

विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको न्यून र मध्यम आय भएका २६ मुलुकमा गरिएको अध्ययन प्रतिवेदनअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउँदा करिब ८ प्रतिशत प्रतिकूल घटना भएको पाइएको छ। जसमध्ये ८६ प्रतिशत रोक्न सकिने घटना हुन्छन् भने करिब ३० प्रतिशत घटनामा बिरामी वा स्वास्थ्य सेवाग्राहीको ज्यान गएको पाइएको छ  विश्व स्वास्थ्य संगठनले युरोपियन युनियनको सदस्य राष्ट्रहरुमा गरेको अध्ययनअनुसार अस्पताल भर्ना भएकामध्ये करिब ८ देखि १२ प्रतिशतसम्म प्रतिकूल घटना भएको पाइएको छ  यी तथ्यांकले पनि स्वास्थ्य क्षेत्रका प्रतिकूल घटना विश्वव्यापी रुपमै ठूलै समस्या बनेको देखाउँछ।

स्वास्थ्य सेवा उपलब्ध गराउँदा सबैभन्दा धेरै प्रतिकूल घटना औषधिसँग सम्बन्धित हुन्छन्। चिकित्सकले औषधि लेख्दा, फर्मासिस्टले औषधि दिंदा, बिरामीले औषधि खाँदा, औषधि भण्डारण गर्दा, स्वास्थ्यकर्मीले औषधि प्रयोग गर्दा धेरै तह र व्यक्तिबाट अनेकन गल्ती हुन सक्छन्।  साथै म्याद नाघेका औषधि प्रयोग पनि अर्को समस्या हो । जसका कारण धेरै प्रतिकूल घटना हुन सक्छन्। बेलायतमा गत वर्ष प्रकाशित प्रतिवेदनअनुसार औषधिसँग सम्बन्धित गल्तीका कारण हरेक वर्ष करिब २२ हजार ३ सय मानिसको ज्यान गएको उल्लेख गरिएको थियो।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार स्वास्थ्य संस्थाहरुमा जाँदा वा कुनै असावधानीका कारण करिब १४ प्रतिशत मानिस संक्रमणको शिकार हुन्छन्। त्यस्ता संक्रमणका कारण बिरामीले थप उपचार गर्नुपर्ने, स्वास्थ्य संस्था र बिरामीलाई थप आर्थिक भार पर्ने र कतिपय अवस्थामा बिरामीको ज्यान नै गएका घटना पनि छन्। साथै, अनुपयुक्त उपकरण र संक्रमित औजारहरुको प्रयोगले पनि स्वास्थ्य सेवामा बिरामी र सेवाग्राहीहरू असुरक्षित हुन्छन्। 

अस्पतालमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले राम्रोसँग हात नधुनाले, अस्पतालको वातावरण सफा र सुरक्षित नहुनाले बिरामी र सेवाग्राहीको सुरक्षामा प्रतिकूल असर गर्छ। तसर्थ यस्ता सानासाना गल्तीहरुले समेत गम्भीर समस्याहरु आउन सक्छन्। बेलायतमा अहिले पनि अस्पतालका सबै कर्मचारी र स्वास्थ्यकर्मीहरुले हरेक वर्ष हात कसरी धुने भन्ने विषयमा अनिवार्य तालिम लिनुपर्ने नियम छ। हरेक कर्मचारी र स्वास्थ्यकर्मीले बिरामीको सुरक्षाको बारेमा अनिवार्य तालिम लिनुपर्ने नियम छ। साथै, अस्पतालका सबै प्रतिकूल घटनाहरु रेकर्ड गराउनुपर्ने र छानविन गर्नुपर्ने हुन्छ। हरेक घटनाबाट कर्मचारी, स्वास्थ्य सेवा  र संस्थाले के पाठ सिक्ने भन्ने कुरामा जोड दिने गरिन्छ।

नेपालमा अहिले पनि स्वास्थ्य सेवामा आधारभूत सेवाको पहुँच पुर्‍याउने एवं सेवा र सुविधाको विस्तार गर्ने कुरामा मात्रै सरकारको ध्यान केन्द्रित भएको छ। गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, अनुगमन गर्ने र नियमन गर्ने काममा सरकारको त्यति ध्यान पुगेको छैन। तर, जहाँ स्वास्थ्य सेवा उपलब्ध हुन्छ त्यहाँ सेवाग्राही र बिरामीको सुरक्षाको कुरा उठ्छ, चाहे प्राथमिक स्वास्थ्य सेवा उपलब्ध हुने संस्था होस् वा विशेषज्ञ सेवा दिने उच्च प्रविधियुक्त स्वास्थ्य संस्था नै किन नहुन्। 

प्रविधि, उपकरण  र दक्षताको हिसाबले स्वास्थ्य सेवा गतिशील हुन्छ । हरेक वर्ष नयाँ प्रविधि, सिप र उपकरणको आविष्कार हुन्छ । नेपालको सन्दर्भमा अहिले पनि सबै स्वास्थ्य सेवाको लागि तालिमप्राप्त योग्य, दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरु उपलब्ध छैनन्। जति छन्, जस्तो अनुभव र योग्यता हासिल गरेका छन् तिनीहरुले नै सेवा दिनुपर्ने अवस्था छ।  बेलायतलगायत विश्वका धेरै मुलुकमा स्वास्थ्यकर्मीहरु सम्बन्धित काउन्सिलमा एक पटक दर्ता भइसकेपछि एक निश्चित अवधिपछि अनुभव र तालिमको आधारमा उनीहरुको दर्ता प्रमाणीकरण गर्ने प्रचलन हुन्छ। तर, नेपालमा भने एक पटक दर्ता भएपछि चाहिं काम गरोस् वा नगरोस् सधैं मान्यताप्राप्त स्वास्थ्यकर्मी हुन पाइन्छ र कानुनी रुपमा नै काम गर्न पाइन्छ। 

बिरामी र स्वास्थ्य सेवाग्राहीको सुरक्षाको सन्दर्भमा नेपालमा जनचेतनाको अभाव छ। अहिले पनि अधिकांश बिरामी वा सेवाग्राहीलाई एक्सरे मेसिनको अगाडि उभिएर एक्सरे गर्दा रेडिएसनले गर्ने खराबीको बारेमा थाहा छैन। औषधिको अनुचित उपभोगले गर्ने खराबीको बारेमा अहिले पनि धेरै सर्वसाधारण अनभिज्ञ छन् भने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले पनि आवश्यक जनचेतना जगाउन सकेका छैनन्। तसर्थ पनि बिरामी र सेवाग्राहीको सुरक्षामा थप चुनौती थपिएको छ।

स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरु दर्ता गर्ने, नियमन र अनुगमन गर्ने छुट्टै स्वन्तन्त्र निकाय नहुनु पनि एउटा समस्या हो। अहिले पनि नेपालमा अधिकांश स्वास्थ्य सेवा सरकारी संस्थाहरुबाट नै उपलब्ध हुँदैछन्। सरकारी निकायबाट नै त्यस्ता निकायहरु दर्ता गर्ने, नियमन गर्ने र अनुगमन गर्ने प्रचलन छ । सरकारी निकायमा चाहिने जति जनशक्ति, स्रोत र साधन छैनन्। त्यसैले पनि निजी क्षेत्रबाट स्थापित भएका संस्थाहरुमा राम्रो अनुगमन र सुपरिवेक्षण हुन सकेको छैन र स्वास्थ्य सेवामा चाहेजति गुणस्तर कायम गर्न सकिएको छैन। तसर्थ, बिरामी र सेवाग्राहीको सुरक्षामा यसले पनि थप समस्या देखिएको छ। 

रामी र स्वास्थ्य सेवाग्राहीहरुको सुरक्षाका लागि हरेक सरकारी निकाय, सम्बन्धित काउन्सिल र स्वास्थ्यकर्मीहरुले आ–आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाह गर्नु जरुरी छ । यो सन्दर्भमा गैरसरकारी निकायहरुको भूमिका पनि उल्लेखनीय हुन्छ । जनचेतना बढाउने, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने, उचित स्रोत र साधनको व्यवस्था गर्ने काम संघीय, प्रादेशिक र स्थानीय सरकारको पनि हो। सेवाग्राही र बिरामीको सुरक्षामा ध्यान नदिने र लापरबाही गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले  सेवाग्राही र बिरामीलाई कुनै हानि–नोक्सानी गरेमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न बीमालगायत संस्थागत पूर्वाधारको विकास र विस्तार गर्नु जरुरी छ।

बिरामी र स्वास्थ्य सेवाग्राहीहरुले पनि स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरुबाट कुनै कमी–कमजोरी भए त्यसको सत्यतथ्य बुझ्न विशेषज्ञसमेत संलग्न समूहले छानविन गरी सत्यतथ्य बुझ्ने र बुझाउने मौका दिनुपर्छ। हचुवाको भरमा घटना हुनेबित्तिकै कसैलाई प्रहार गर्दा वा भौतिक सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइदा हुँदैन। कानुनी राज्य स्थापित गर्ने हो भने सबैलाई कानुनबमोजिम काम गर्न पाउनुपर्छ भने कसैले गल्ती गरे त्यस्ता व्यक्ति, संस्था र निकायलाई कारबाही पनि गर्नुपर्छ। स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीबाट कुनै गल्ती भएमा उनीहरुलाई कानुनबमोजिम कारबाही पनि गर्नुपर्छ । साथै, त्यस्ता गल्तीबाट सबैले सिक्ने मौका पनि पाउनुपर्छ। अनि मात्रै सबैको भलो हुन्छ ।

(लेखक डा. कैनी अस्पताल व्यपस्थापन विज्ञ हुन्। उनी हाल क्विन एलिजाबेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापकको रुपमा कार्यरत छन्।)  

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने