नर्सिङ

मैले भुल्न नसकेको ती दुई घटना

 

इन्जिनियर बन्ने सपना थियो तर परिवारको इच्छा अनुसार नर्स बनिन्, टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालकी नर्सिङ निरीक्षक बेली पौडेल। चितवनमा जन्मिएकी पौडेलले वीरगन्ज नर्सिङ कलेजबाट पढाइ सकिन्। त्यसपछि कहिले प्रोजेक्टमा त कहिले अस्पतालमा काम गर्दै थिइन्। यही क्रममा २०५१ सालमा उनले लोकसेवा पास गरिन्। त्यसयता उनी सरकारी नर्स भएर सेवा गरिरहेकी छन्। सेवाको दौरानमा उनले भोगेका अनुभव स्वास्थ्य खबरपत्रिकाकी सिर्जना खत्रीसँग यसरी सुनाइन् :


सरकारी नर्स भएर बिरामीको सेवा गर्न लागेको २४ वर्ष भयो। यतिका वर्षमा थुप्रै बिरामीको सेवा गरिसकेकी छु। बिरामीको संख्या त गनिएको छैन तर हजारौं पुगे होलान्। सेवाका क्रममा कोही बिरामी निको भएपछि खुसी हँुदै घर फर्किएर जान्छन् र पछि पनि बेलाबेलामा भेट्न आउने गर्छन्। तर, कतिपय बिरामी यस्ता हुन्छन्, जो जति राम्रो सेवा दिए पनि कहिले पनि खुसी हुँदैनन्। 

सरकारी सेवामा प्रवेश गरेपछि मेरो पोस्टिङ वीरगन्जस्थित नारायणी अस्पतालमा भएको थियो। त्यतिबेला छोरो आठ महिनाको मात्र थियो। हामी काठमाडौंमै बस्थ्यौं। काखेछोरालाई छाडेर बिरामीको सेवाका लागि जानुपर्दा निकै गाह्रो लागेको थियो। अहिलेको जस्तो मोबाइल थिएन। कुराकानी गर्न समस्या थियो। अस्पतालमा ड्युटी सकेपछि छोराको सम्झनाले सताउँथे। कति रात त काखेछोरा सम्झेर रुँदै बसेँ। तर, मेरो तीन महिनामा नै सरुवा भयो। निकै खुसी लाग्यो। 

त्यसपछि मैले कान्ति बाल अस्पतालमा सेवा सुरु गरेँ। २४ वर्षअघि हामी दुई जना नर्सले ५० भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था थियो। २५ जना बिरामीलाई औषधि दिने लगायतका अन्य नर्सिङ सेवा पुर्‍याउनुपथ्र्यो। जटिलदेखि सामान्य समस्याका बिरामी हुन्थे। अभिभावकले समयमा नै उपचारका लागि नल्याउँदा बिरामी निकै गम्भीर अवस्थामा आइपुग्थे।  त्यस्तो बेला एक पटकमा २५ जना हेर्न निकै कठिन पथ्र्यो। 

एक जना  ८/९ वर्षको बच्ची टाइफाइड भएर अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई नसाबाट औषधि दिनुपर्ने थियो। हातमा लगाइएको क्यानुलाबाट उनलाई ४५ मिनेट लगाएर सिफ्रन औषधि दिनुपर्ने थियो। मैले नियम अनुसारै औषधि दिएँ र अन्य बिरामीतिर लागेँ।

केही समयपछि ती बालिकाको क्यानुलाबाट थोरै रगत देखिएछ। त्यही निहुँमा बच्चीका बुबाले मालई धेरै गाली गरे। भन्नु÷नभन्नु भने। यो नर्सलाई औषधि दिन आउने रहेनछ, सिकारु नर्स रहिछ भन्दै गाली गरे। मैले उनलाई सम्झाउने प्रयास गरेँ। उक्त औषधि त्यसैगरी दिने हो भन्दा पनि सुन्न चाहेनन्। यो क्रममा क्यानुलामा थोरै रगत देखिनु सामान्य हो, रगत देखिँदैमा आत्तिनु पर्दैन भनेर सम्झाएँ। तर विश्वासै गरेनन्।

बच्चीका बुबाले अस्पतालका सबै स्टाफलाई गाली गरे। उनी पहुँच भएको मानिस भनेर अरु बोल्न डराए। तर, म डराइनँ। गलत गरेको भए पो डराउनु। सही काम गरेपछि के को डर ? तर ती व्यक्तिले ठूलै अपराध गरेझैं गाली मात्र गरिरहे। त्यसपछि मैले म गलत भएको प्रमाण लिएर आउनुस् भनेँ। त्यसपछि ती व्यक्तिले अरूसँग सोधपुछ गरेछन्। सबैले मेरो काममा गल्ती छैन भनेछन्। त्यसपछि ती व्यक्ति मेरो अगाडि परेर बोल्ने आँट गरेनन्। सायद आफ्नो गल्तीको पछुतो लाग्यो होला। पछि उनकी श्रीमतीले माफी मागिन्। म उनको छोरीलाई औषधि खुवाउन जाने समय हुँदा उनी आफै उठेर बाहिर जान्थे। छोरी निको भएर घर लैजाँदा समेत आएनन्। 

नर्स भएर काम गर्दा कुनै बेला बिरामीका आफन्तले यसरी दुःख दिन्छन्। हरेक परिस्थितिमा तयार हुनुपर्छ र आफूले गल्ती नगरेपछि डराउनु हुँदैन भन्ने कुरा सिकायो त्यो घटनाले। 

सेवाकै दौरान सरुवा रोग अस्पतालमा आएका अर्का एक बिरामीको पनि अझै सम्झना छ। म उक्त अस्पतालमा २०५५ सालमा सरुवा भएर आएको थिएँ। एक दिन १९/२० वर्षको टिटानास भएको बिरामी अस्पतालमा भर्ना भएका थिए। टिटानासका बिरामी छिनछिनमा मुर्छा पर्छन्। बिरामीको चाप उस्तै थियो। एक्लैले २५ देखि ३० जना बिरामी हेर्नुपर्ने अवस्था थियो। बिहान सबै बिरामीहरूलाई औषधि खुवाएर उनीहरूलाई हेरेर आफ्नो क्याबिनमा आएर बिरामीको फाइल हेर्दै थिएँ।

त्यही क्रममा ती बिरामीलाई पुनः हेर्नुपर्यो‍  भन्दै गए। बाँकी काम छाडेर गएँ। म पुग्दा त बिरामीको मुटुको चाल नै बन्द भइसकेको रहेछ। छिटोछिटो डाक्टरलाई बोलाएँ। त्यसपछि आफै मुटुको चाल फर्काउन सिपिआर गरेँ। सिपिआरको बारेमा पहिला नै तालिम लिइसकेका कारण मैले त्यो गर्न सफल भएँ। ती बिरामीको मुटुको चाल फर्कियो। डाक्टरहरू आएपछि उनको उपचार गरे। त्यो बेलामा चनाखो भएर काम नगरेको भए बिरामीको ज्यान जाने थियो। पछि उनी डिस्चार्ज भएर गए। यो घटनाले पनि मलाई जटिल अवस्थाका बिरामीलाई नियमित हेर्ने समयभन्दा पनि थप समयमा चेकजाँच गरिरहनुपर्छ र चनाखो भइरहनुपर्छ भन्ने ज्ञान सिकायो। 

सेवाका क्रममा हामीले धेरै कुरा सिकिरहेका हुन्छौं। हरेक बिरामीबाट नयाँ कुरा जान्ने मौका पाउँछौं। उनीहरूबाट रोग र समस्याका बारेमा मात्र नभई समाज र जीवनसँग जोडिएका धेरै कुरा सिक्ने मौका मिल्छ। त्यसकारण हामीले काममा बढी लगाव दिनुपर्छ। काममा झर्को मान्ने वा वेवास्ता गर्ने गर्नुहुँदैन।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने