मुख्य समाचार

सेप्सिस दिवसमा र्‍याली : धेरैको ज्यान लिन सक्ने सेप्सिस के हो?


काठमाडौं- आज विश्व सेप्सिस दिवस काठमाडौंमा पनि मनाइएको छ। दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट र्‍याली निकालिएको थियो। सेप्सिसको विषयमा जानकारी दिन अस्पताल परिसरबाट नारायणगोपाल चोकसम्म र्‍याली निकालेर पुन अस्पतालमा फर्किएको थियो। 

र्‍यालीमा डाक्टर, मेडिकल विद्यार्थी, नर्स लगायत सहभागी थिए। 

डाक्टर सुवास आचार्यका अनुसार क्यान्सर र एड्स भन्दा भयावह र तीव्र गतिमा फैलिरहेको सेप्सिसले विश्वमा हरेक ३ देखि ४ सेकेन्डमा एउटा बिरामीको ज्यान लिन्छ। सेप्सिस के हो? मेडिकल शिक्षा पाएका कति चिकित्सकले समेत यो विषयमा जानकारी प्राप्त गर्न सकेका हुँदैनन्। आम जनतामाझ त यो झन् ‘के हो, के हो?’ जस्तो भएको छ।

के हो सेप्सिस ?

शरीरको कुनै अंगमा संक्रमण भयो र त्यो संक्रमण त्यही ठाउँमा मात्र सीमित नभएर शरीरका अरु महत्वपूर्ण अंगमा असर पुर्‍यायो भने त्यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। सेप्सिसलाई 'लाइफ थ्रेटनिङ अर्गान डिस्फक्सन' पनि भनिन्छ।

संक्रमण हुँदैमा सेप्सिस नै हुन्छ भन्ने हुँदैन। छाती दुख्नु, खोकी लाग्नु, निमोनिया हुनुजस्ता समस्या भएमा समयमै उपचार गराई चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरे निको हुन्छ।

तर, सही समयमा उपचार हुन सकेन र संक्रमणले शरीरका अन्य अंगको कामलाई असर पुर्‍याउन थाल्यो भने, त्यो अवस्थालाई सेप्सिस भनिन्छ। जस्तै, छातीमा असर पर्न गयो भने अक्सिजनको सन्तुलन बिग्रिएर भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्ने हुन सक्छ। मुटुमा असर परेर ब्लड प्रेसर कम हुँदा मेडिकल सपोर्ट लिएर ब्लड प्रेसरको सन्तुलन मिलाउनुपर्ने हुन सक्छ। संक्रमणकै कारण किड्नीमा असर परेर पिसाब कम हुने र डायलाइसिस गर्नुपर्ने, रगतमा असर परेर शरीरमा रगत बन्ने प्रक्रियामा कमी आउने, लिभरमा असर परेर लिभरले राम्रोसँग काम नगर्ने, दिमागमा असर गरेर दिमागले राम्रोसँग काम नगर्ने आदि समस्या आउन सक्छ। सेप्सिस संक्रमण जति बल्झिँदै गयो त्यति जटिल बन्दै जाने समस्या हो। यो नवजात शिशुदेखि वृद्धवृद्धा जोसुकैलाई पनि हुन सक्छ।

सेप्सिस हुने सम्भावना बालबालिका र वृद्धवृद्धालाई बढी हुन्छ। यो उमेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुन्छ। त्यसैगरी, पहिले नै कुनै रोगका कारण शरीरमा रोग प्रतिरोधी शक्ति घटेको बिरामीलाई सेप्सिस हुने सम्भावना धेरै हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका बिरामी, जसले इम्युन पावर घटाउने औषधि सेवन गरिरहेका हुन्छन्, उनीहरुलाई सेप्सिसको खतरा बढी हुन्छ। कुनै दुर्घटनामा परी वा अन्य रोगका कारण आइसियूमा उपचार गराइसकेका वा गराइरहेका बिरामीलाई पनि सेप्सिस हुने सम्भावना बढी हुन्छ। सेप्सिस एउटै कारणले मात्र नभई जुनसुकै प्रकारका संक्रमणले हुन सक्छ।

सेप्सिसलाई 'मेडिकल इमर्जेन्सी' भनेर बुझ्ने गरिन्छ। विकसित देशमा भन्दा हाम्रोजस्तो अविकसित देशमा सेप्सिसको जोखिम उच्च हुने गर्छ। जहाँ बिरामी उपचारका लागि समयमा अस्पताल पुग्दैनन् त्यहाँ सेप्सिसको समस्या बढी देखिने गर्छ। हाम्रो स्वास्थ्य सेवा प्रणाली अझै पनि तल्लो तहमा रहेका जनताको सहज पहुँचमा छैन। जसले गर्दा अधिकांश बिरामी सेप्सिस भइसकेपछि मात्र अस्पताल पुग्ने गरेको पाइन्छ। जुन निकै ढिलो भइसकेको हुन्छ। नेपालका विकट र दुर्गम ठाउँका बिरामीमा यो समस्या बढी नै हुने गर्छ।

संक्रमण हुँदा उपचारमा ढिलाइ गर्नु भनेकै सेप्सिस निम्त्याउनु हो। समयमै उपचार गरेमा सामान्य औषधि-उपचारबाट निको हुने यो समस्या हेलचेक्र्याइँ गर्दा जटिल बनिदिन्छ। संक्रमण शरीरका अन्य अंगमा फैलिएर सेप्सिस भएमा आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ। यसले गर्दा एकातिर ठूलो धनराशि खर्च हुन पुग्छ भने अर्कोतर्फ बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्छ। त्यसकारण कुनै पनि किसिमको स्वास्थ्य सामस्यालाई सामान्य रुपमा नलिई समयमै उपचारतर्फ लाग्नु वुद्धीमानी कुरा हो।

सेप्सिसका लक्षण

१. उच्च ज्वरो आउने।

२. कहिलेकाहीँ काम ज्वरो पनि आउने।

३. मुटुको चाल एकदम तीव्र हुने।

४. छिटोछिटो सास फेर्न थाल्ने।

५. बिरामीको होस कम हुने।

६. बारम्बार दोधारमा पर्ने।

७. पिसाब पोल्ने

८. खोकी लाग्नु, खकार आउनु, पिसाब पोल्नु, पेट दुख्नु, घाउ पाक्नु, पिप आउनु आदि समस्या हुँदा समयमै उपचार नगरे सेप्सिस हुने सम्भावना उच्च हुन्छ।

चुनौती र समाधान

जनमानसमा सेप्सिसबारे खासै जानकारी छैन। सेप्सिस के हो? कसरी हुन्छ? यसको जोखिम कुन हदसम्म हुन्छ? भन्नेबारे धेरैलाई थाहा छैन। सबैभन्दा ठूलो चुनौती नै यही हो। रोगको उपचार समयमै गरेमा सेप्सिस हुनबाट बच्न सकिन्छ भन्ने कुरा हामीले बुझाउनै सकेका छैनौँ।

संक्रमणको कुनै लक्षण देखिँदा औषधि पसलमा गएर आफैँ औषधि किनेर खाने र उपचार गराउन वास्ता नगर्ने कारणले पनि सेप्सिसजस्तो जटिल समस्या खेप्नुपर्छ।  सेप्सिस हुने सम्भावना सहरमा भन्दा पनि ग्रामीण भेगमा बढी हुन्छ। बिरामी पर्दा तत्काल उपचारका लागि जान सक्ने कसैको अवस्था हुँदैन भने कसैले स्वास्थ्य चौकी टाढा भएका कारण जान आनाकानी गरेर बसिदिन्छन्। अझ कतिपय त धामीझाँक्रीको भरमा ढुक्क भएर बस्छन्। जसले गर्दा संक्रमण शरीरका अन्य भागमा फैलिएर सेप्सिस हुनेगर्छ।

सेप्सिस आफैँमा जटिल र खर्चिलो समस्या भएका कारण विभिन्न माध्यमबाट सेप्सिसबारे जनचेतनामूलक अभियान चलाउन सकियो भने धेरै हदसम्म सेप्सिसको जोखिम कम गर्न सकिन्छ।

विशेष गरी विकट र दुर्गम ठाउँ, जहाँ राम्रो स्वास्थ्य सेवा प्रणालीको विकास भएको हुँदैन त्यहाँका मानिसलाई सेप्सिसबारे सचेत गराउन आवश्यक छ। त्यसैगरी गाउँका स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई समेत सेप्सिसबारे यथेष्ठ जानकारी हुँदैन। विकट र दुर्गमका बिरामी पहिलो पटक उपचारका लागि जाने भनेकै प्राथामिक स्वास्थ्य चौकीमा हो। त्यहाँ भर्खर एमबिबिएस पास गरेका गएका डाक्टरहरु हुन्छन्। उनीहरुलाई समेत सेप्सिसबारे प्रसस्त जानकारी नहुने गरेको एक अध्ययनले देखाएको छ। नेपालमा प्राथामिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकी र दुर्गममा काम गर्ने अधिकांश चिकित्सकहरुमा सेप्सिसबारे राम्रो ज्ञान नभएको एउटा सर्भेक्षणले देखाएको थियो। ती चिकित्सकलाई विशेष तालिम दिनुपर्ने आवश्यकता छ। अझ भन्ने हो भने एमबिबिएसको कोर्समा नै सेप्सिसबारे पढाइ हुनु जरुरी छ। बिरामीलाई सेप्सिस भएको छ या छैन चिकित्सकले शंका गर्नुपर्‍यो र त्यसको  जाँच गर्नुपर्‍यो। बिरामीलाई सेप्सिसबाट बचाउन सबैभन्दा पहिला चिकित्सकहरु आफैँ यसबारे सचेत हुनुपर्छ।

हामीसँग सुविधा सम्पन्न ल्याब र दक्ष जनशक्तिको अभाव छ। सेप्सिसको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा जस्तो आइसियू कम्तिमा प्रत्येक अञ्चलमा हुन जरुरी छ। किनकि सेप्सिस भएका बिरामीलाई यथाशीघ्र आइसियूमा राखेर उपचार गरिएन भने ज्यानै जाने खतरा हुन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने