टिप्स/जानकारी

दत्तिवनको औषधीय महत्व

 अच्युत शाली घिमिरे

हिन्दु परम्परा अनुसार भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीलाई महिलाहरुले विशेष रुपमा मनाउने गरेका छन्। विवाहित तथा  अविवाहित मासिक धर्म अवलम्बन गरेका नारीहरुले व्रत बसेर, चार वेदका रचयिता सप्तऋषिको पूजाआजा गरेर आज हरितालिका तीजको तेस्रो दिन ऋषिपञ्चमी मनाइरहेका छन्। यस पर्वमा नारीहरुले दत्तिवनको ३६५ वटा डाँठले दाँत माझ्ने र यसकै पात चढाएर पूजाआजा गर्ने प्रचलन छ।

आयुर्वेदमा दत्तिवन (एकाइरैन्थस एस्पेरा) लाई महत्वपूर्ण जडिबुटीका रुपमा चिनिन्छ। 'अमरैन्टेसी' कुल अन्तर्गत पर्ने दत्तिवनलाई संस्कृतमा 'अपमार्ग' र अंग्रेजीमा 'प्रिकली चाफ फ्लावर' भनिन्छ। यसको गुण- लघु, रुक्ष र तीक्ष्ण; रस-कटु, तिक्त; विपाक-कटु ; वीर्य -उष्ण हुन्छ। यसको दोषकर्म -कफवातशामक तथा कफपित्त संशोधन रहन्छ।

द्रव्यगुण विज्ञान अनुसार दत्तिवन अरुचि, छर्दी, अग्निमांध, शूल, उदररोग, आध्मान, अर्श, पित्ताश्मरी र कृमिरोगमा प्रयोग हुन्छ। यो विशेषगरी हृदयरोग, रक्तविकार, पाण्डु, गण्डमाला, आमवात र शोथरोगमा समेत उपयोगी रहन्छ।साथै यो रक्ताम्लता, बस्तिशोथ, वृक्कशोथ, अश्मरी, कुष्ठ, वर्णविकार, चर्मरोग आदिमा समेत लाभदायक रहन्छ।

शोथवेदनायुक्त विकारमा र सर्पको दंशस्थानमा यसको लेप लगाइन्छ भने कास रोगमा यसको क्षार कफ निकाल्नका लागि प्रयोग गरिन्छ। व्रणमा यसको स्वरस लगाइन्छ भने कर्णशूलमा यसको क्षारद्वारा सिद्ध तेल हालिन्छ। दत्तिवनको प्रयोज्य अंगमा मूल, पत्र, तण्डुल, पञ्चांग पर्दछन् भने मात्रामा स्वरस (१०-२० मिलि); क्षार(१/२-२ ग्राम) आवश्यक पर्दछ।

सन्दर्भ सामग्री : द्रव्यगुण विज्ञान (प्रियव्रत शर्मा)

अच्युत शाली घिमिरे जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने