विचार/ब्लग

नयाँ संरचना बहास : राज्यले नचिनेको बायोमेडिकल टेक्निसियन

 रामकुमार दाहाल

स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न समूहमा रहेका कर्मचारीको समायोजन तथा सांगठनिक संरचना पुनर्गठन गर्ने कार्य अहिले भैरहेको छ। पहिले बनाएको संरचनामा त्रुटि भयो भनेर विभिन्न स्वास्थ्यकर्मी संघ–संगठनले विरोध गरेपछि स्वास्थ्य मन्त्रालयले विज्ञ टोली बनायो र उक्त टोलीले सुझावसहित नयाँ संरचना पनि सिफारिस गर्‍यो। उक्त प्रक्रियामा स्वास्थ्य सेवाअन्तर्गत नै रहेका बायोमेडिकल टेक्निसियन भने कुनै पनि कार्यालयको सांगठनिक संरचनामा नरहेको देख्दा राष्ट्रले सो पदको अवमूल्यन गरेको जस्तो लग्यो।

अरु स्वास्थ्यकर्मीहरुको जस्तो बायोमेडिकल टेक्निसियनको कुनै युनियन वा संघ छैन। जसका कारण उनीहरुको आवाज सरोकारवालासम्म पुग्न सकिरहेको छैन। हाल सरकारी स्वास्थ्य सेवाअन्तर्गत स्थायी रुपमा १० जना बायोमेडिकल टेक्निसियन कार्यरत छन्। जसको उपस्थितिले उपकरण बिग्रिएर स्वास्थ्य सेवामा हुने अवरोध न्यूनीकरण भएको छ। ती कार्यरत टेक्निसियनहरु आफू कार्यरत कार्यालयमा मात्र नभएर नजिकै रहेका अन्य स्वास्थ्य संस्थाहरुमा पनि सेवा दिन पुग्छन्।

नेपाल जस्तो मुलुकमा हुम्ला, बाजुरा, डोल्पा जस्ता क्षेत्रमा स्वास्थ्यसम्बन्धी उपकरणको एउटा फ्युज पनि उक्त उपकरण मर्मतको निम्ति राजधानी पुग्नुपर्ने अवस्था छ। त्यस्तै अहिलेको राज्य संरचनामा स्थानीय सरकारले पनि बायोमेडिकल उपकरण खरिद गर्ने गरेको देखिन्छ। तर, यसको असर भने गुणस्तरहीन उपकरण आएपछि देखिन्छ।

यस्तो परिस्थितिमा यदि जिल्लास्तर वा तत्कालका लागि प्रादेशिक स्तरमा एउटा बायोमेडिकल टेक्निसियन भए सो समस्या समाधानका लागि राजधानीसम्म धाउनै पर्दैनथ्यो।

त्यस्तै राजधानीकै कान्ति बाल अस्पताल (करारमा रहेको), मानव अंग प्रत्यारोपण केन्द्र (करारमा रहेको), वीर अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्रलगायतका अस्पतालमा समेत न बायोमेडिकल इन्जिनियर पद छ न बायोमेडिकल टेक्निसियन नै। अझ भक्तपुर अस्पतालमा त मेकानिकल इन्जिनियर पद छ, त्यो अस्पतालमा मेकानिकल इन्जिनियरको आवश्यकता हो कि बायोमेडिकलको ? यी त केही उदाहरण मात्र हुन्। त्यसैले राज्यले अहिले नै बियोमेडिकल टेक्निसियनलाई पनि सांगठनिक संरचनामा ल्याउनुपर्ने देखिन्छ।

सरकारले नै ल्याएको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका– २०७० मा पनि अस्पतालको शैया संख्याको आधारमा बायोमेडिकल इन्जिनियर र टेक्निसियनको संख्या निर्धारण गरेको छ। त्यो मापदण्डलाई पनि कुल्चिएर अहिलेको सांगठनिक संरचना बनेको छ।

बायोमेडिकल टेक्निसियनको अनुपस्थितिमा कति सरकारी स्वास्थ्य संस्थामा त काम गरिरहेका उपकरण पनि लिलामी गरेका धेरै उदाहरण छन्। अनि उपकरण स्पेसिफिकेसनविना नै घरको डाडु–पन्यु किनेजसरी किन्ने चलन पनि छ। तसर्थ अहिले बन्न लागेको संरचनामा जिल्ला स्वास्थ्य कार्यालयमा कम्तीमा एउटा बायोमेडिकल टेक्निसियन, प्रादेशिक सामाजिक मन्त्रालयमा एउटा बायोमेडिकल इन्जिनियर हुँदा स्वास्थ्य सेवा प्रवाहमा टेवा पुग्ने थियो।

अन्य केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल अस्पतालहरुमा पनि शैया संख्या, उपकरणको जटिलता र संख्याको आधार बायोमेडिकल इन्जिनियर र बायोमेडिकल टेक्निसियनको संख्या निर्धारण गर्नुपर्ने देखिन्छ।

-(दाहाल उपक्षेत्रीय अस्पताल, डडेलधुरामा बायोमेडिकल टेक्निसियनका रुपमा कार्यरत छन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

sangita k c लेख्नुहुन्छ भदौ ३०, २०७५ शनिवार १०:५५:३५
एकदम सहि कुरा
Dipak Mahat लेख्नुहुन्छ भदौ २९, २०७५ शुक्रवार २०:३७:०५
कुरो गजबै उठान गर्नुभयो। लेखक प्रिय दाजुप्रति आभार।

यसमा तपाइको मत




पढ्नै पर्ने