जीवनशैली

नायिका पूजा शर्मा : एपेन्डिक्सले थलिएपछि खानपानमा सचेत

मनोज न्यौपाने

नेपाली सिने बजारकी हट नायिका पूजा शर्मा पछिल्लो समय निकै चर्चामा छिन् । फिल्म मधुमासबाट अभिनयलाई पेसाका रूपमा अँगाल्दै आएकी पूजा विशेषगरी फिल्म ‘प्रेम गीत’बाट भने दर्शक तथा फिल्मकर्मीका आँखामा रुचाइएकी अभिनेत्री हुन् । उनी पछिल्लो समय अभिनेत्री मात्र नरहेर निर्मात्रीका रूपमा पनि परिचित छिन् । फिल्म ‘म यस्तो गीत गाँउछु’ र ‘राम काहानी’की उनी निर्मात्री हुन्।

पूजाको अभिनय तथा निर्माणमा बनेको पछिल्लो फिल्म राम काहानी आउँदो भदौ २२ बाट प्रदर्शनको तयारीमा छ।

नेपाली फिल्म उद्योगमा आफ्नो उपस्थिति जीवन्त राख्न अभिनय सँगसँगै निर्माणमा हात हालेको बताउने पूजाका सुन्दरताको पनि उत्तिकै चर्चा हुने गरेको छ । दर्शक, फ्यान फलोअर्सबाट सुन्दरताको तारिफ आए पनि आफुभने सुन्दरतामा कहिल्यै ध्यान नदिने बताउँछिन् उनी। 

बाहिरी आवरणभन्दा भित्री रूप बढी सुन्दर हुनुपर्ने मत राख्ने पूजा आफ्नो अनुहारमा पिम्पल आउने समस्याले भने केही तनावमा छिन् । तर फिल्म सुटिङको समयमा भने यो समस्याले उनलाई कहिलै अप्ठ्यारो बनाएको छैन । भन्छिन्, ‘प्रायः मेरो अनुहारमा पिम्पल देखिइरहन्छ, तर म आफै अचम्मित हुन्छु कि फिल्म सुटको बेला यो समस्या आफै गायब हुन्छ, त्यसपछि फेरि उस्तै।’

समस्याबाट पार पाउन उनी कोरियाको स्किन हस्पिटलसम्म पुगिन् । अनुहारमा देखिने पिम्पल हटाउनकै लागि उनले ८० हजारभन्दा बढी रकम खर्चिएकी छन् । जुनसुकै उपचार गरे पनि परिणाम शून्य भएपछि अहिले पिम्पलको बारेमा पूजाले सोच्नै छोडेकी छन् । भन्छिन्, ‘अब त पिम्पलबारे चिन्ता लिनै छोडेकी छु, जे छु त्यसैमा सन्तुष्ट छु।’

अभिनयका मामलामा कलाकारको अनुहारसँगै शारीरिक बनावट पनि उत्तिकै आकर्षक हुन आवश्यक छ । अझ फिल्मीशैलीमा भन्ने हो भने ‘हट एन्ड सेक्सी’ देखिन जरुरी मानिन्छ । पूजा यस्तै छिन्, यसमा दुईमत छैन। 

कसरी सम्भव छ त यस्तो लुक्स कायम राखिराख्न ? यो प्रश्न सुन्नसाथ पूजा मज्जाले हाँसिन् । उनले आफ्नो हाँसोसँगै आफ्नो शारीरिक फिटनेसको राज पनि खुलाइन्। 

उनी समय मिलेसम्म फिटनेस (जिम) क्लास जाने गर्दिरहिछन् । उनको घरपायक पर्ने फ्लेक्स फिटनेस सेन्टर उनको शारीरिक सुन्दरता कायम राख्न सहयोेगी बनेको छ। 

फिल्म मधुमासमा अभिनय गर्न थालेदेखि निरन्तर फिटनेस क्लास गइरहेको बताउने पूजाको दैनिकी बिहान ८ बजेदेखि १० या ११ बजेसम्म फिटनेस सेन्टरमै बित्छ । यससँगै उनी आफ्नो शारीरिक सुन्दरता र अभिनयमा प्रखरता कायम राख्न डान्स क्लास पनि छुटाउँदिनन्। प्रायः साँझ ४ बजेपछि उनी डान्स क्लासमा व्यस्त रहन्छिन्।

भन्छिन्, ‘म जिमभन्दा डान्स बढी रुचाउँछु । यसले शारीरिक कसरतसँगै अभिनयमा पनि सहयोग पुर्‍याउँछ।’ 

सुन्दर रहन खानपिनमा पनि उत्तिकै ध्यान दिनुपर्ने तर्क छ पूजाको। अझ सेलिब्रिटी भएपछि त झनै सचेत हुन जरुरी छ। तर उनी भने कहिलै खानपानमा ध्यान दिन्नन् । यसकै कारण कक्षा ११ मा अध्ययन गर्दैगर्दा एक महिना अल्का हस्पिटलमा बस्नुपरेको उनले सम्झिइन्।

‘त्यसबेला कम खाना खाने, भोकै बस्ने गर्दथेँ। एकदिन पेट धेरैनै दुख्यो र कलेजमै बेहोस भएछु,’ उनले सुनाइन्, ‘होस आउँदा हस्पिटलको बेडमा थिएँ। मलाई त एपेन्डिसाइटिस पो भएको रहेछ।’

धन्न, उनको एपेन्डिक्सको उपचार अपरेसनबिनै औषधिले नै ठिक भएको थियो। त्यसयता भने पूजा आफ्नो खानपानमा ध्यान पुर्‍याउन थालेकी छन्, त्यो पनि परिवारको करकापमा।

अहिले पूजामा अर्को स्वास्थ्य समस्या थपिएको छ । उनी केही समयदेखि टाउकोको बिरामी रहिछन् । विशेषगरी धेरै हाँस्दा, बोल्दा र कम्प्युटर स्क्रिनमा हेर्दा उनको टाउको दुख्ने समस्या छ।

डाक्टरको सल्लाह बमोजिम कुनै औषधि प्रयोग नगरी चस्मा लगाउन थालेपछि यो समस्या निकै कम भएको छ। यही कारण आजकाल पूजाको अनुहारमा आई ग्लास पनि पनि अडिएको हुन्छ।

शारीरिक तन्दुरुस्ती र अनुहारमा चमक देखाउन शरीरलाई भरपुर आराम गर्ने समय उपलब्ध गराउनुपर्छ भन्ने मान्यता पूजाको छ। त्यसैले उनी करिब ७ देखी ८ घन्टा नियमित सुत्ने गर्छिन्।

‘शरीरलाई पर्याप्त आराम चाहिन्छ,’ उनी भन्छिन्, ‘नियमित शारीरिक व्यायाम र टन्न पानी पिउनाले सुन्दर र स्वस्थ्य शरीर बनाउन सकिन्छ।’

हेयर डिजाइनिङ, कलरिङ, थ्रेडिङका लागि मात्र ब्युटीपार्लर पुग्ने गरेकी पूजा नियमित स्वास्थ्य परीक्षणका लागि ६–६ महिनामा हस्पिटल पुग्छिन् । स्वस्थ शरीर र स्वस्थ मानसिकताका साथ जीवनभर कलाकारितामै आबद्ध रहने मनसाय बोकेकी उनले भनिन्, ‘नेपाली फिल्म उद्योग पनि स्वस्थ रूपमा अगाडि बढोस्, कुनै रोग नलागोस्।’ 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live