नर्सिङ

अपरेसन गरेको बिरामी होसमा आएर चिया पिएको देख्दा आनन्द लाग्छ

सिर्जना खत्री

जया शर्मालाई कक्षा ९ मा अध्ययन गर्दादेखि नै सेतो पहिरन लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने रहर पलाएको थियो।

नर्स बन्नको लागि साइन्स पढ्नुपर्छ भन्ने थाहा पाएपछि मेहनतका साथ पढ्न थालिन्।

बुवा शिक्षक भएकाले पनि उनलाई सपना पूरा गर्न परिवारको साथ सदा रह्यो। बच्चैदेखिको सपना पूरा भएकाले सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्न पाउँदा अहिले पनि उस्तै खुसी लाग्ने उनी बताउँछिन्।

हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज 4 निरीक्षक हुन् उनी। 

आफूलाई दुःख परेपनि बिरामीको सेवामा तल्लिन हुँदा सवै भुलिने उनी बताउँछिन् र सेवामै  रमाउँछिन्।

उनलाई २०५१ सालदेखि अहिलेसम्म सबै विभागमा बिरामीको सेवा गर्ने मौका मिलेको छ। हार्ट सर्जरीमा ओटी नर्स भएर काम गर्न पाउँदा उनलाई रमाइलो लाग्छ। 

पोखरामा जन्मिएकी जयाले  २०५१ सालमा पोखरबाटै  पिसिएल 4 पास गरेकी हुन्। पास भएकै वर्ष काठमाडौँ आएर टिचिङ अस्पतालमा काम गर्न सुरु गरिन्। उनले १० वर्ष टिचिङ अस्पतालको अप्रेशन थिएटरमा काम गर्ने अवसर पाएकी थिइन्। 

लामो समयसम्म बिरामीको सेवा गर्दा थुप्रै खालका बिरामीहरुसँग संगत गरिन्।  उनलाई कुनै पनि बिरामीले कहिले नराम्रो व्यवहार गरेका छैनन्। सबै बिरामीहरुले माया गर्छन्। कुनै बेला धेरै बिरामी हेर्नु पर्दा कसैलाई समय दिन पाइएन होला।  उनले भनिन्, ‘ठुलो स्वरले बोलिएको होला तर  कुनै पनि बिरामी सेवा गर्दा भेदभाव गर्न गरेकी छैन। त्यसो गर्न मन लाग्दैन।’ 

अप्रेशन गरेको बिरामी होसमा आउँदा धेरै खुसी लाग्छ। त्यसैले त्यहि दृश्य हेर्नकै लागि भनेर घरबाट ड्युटीमा आउन साथ अप्रेशन गरेका बिरामी हेर्न पुग्छिन् उनी। 

भन्छिन् ‘अप्रेशन गरेका बिरामी होसमा आएर बिहान चिया पिएको देख्दा आनन्द लाग्छ।’

सबै भन्दा नरमाइलो क्षण भनेको उनको लागि अपरेसन गर्नु भन्दा पहिला बिरामीहरु धेरै डराउँछन्, बच्चालाई जस्तै गर्छन्। त्यसैले बच्चालाई जस्तै गरेर सम्झाउनु पर्छ। जति ठूला भएपनि त्यतिबेला नर्स भइसकेपछि बिरामीको मनस्थित बुझेर सम्झाउनु पर्दा आफूलाई नराम्रो लाग्छ, त्यो नै सबैभन्दा मुश्किल काम लाग्छ उनलाई।  

भन्छिन् ‘बिरामीहरु अपरेसन थिएटरमा लैजाँदा रुन्छन् बिरामी सँगसँगै रुन मन लाग्छ उनीहरुको अगाडी रुनु भएन। त्यसैले  कहिलेकाहिँ आफूलाई पनि नरमाइलो लाग्दा बाथरुममा गएर रुन्छु।’ अस्पतालमा  थुप्रै बच्चाहरु  घाँटीमा सिक्का अड्कीएर आउने गर्छन्। आउँदा स्वस्थ बच्चाहरु सिक्काकै कारणले गर्दा मृत्यु हुने गर्छ। त्यो सबैभन्दा नराम्रो क्षण हो उनको लागि। 

हेर्दाहेर्दै साना बच्चाको मृत्यु हुँदा दिनै अँध्यारो भएको जस्तो लाग्छ उनलाई। त्यसैले साना बच्चा भएका आमालाई सधैं भन्ने गर्छिन्, ‘साना बच्चा पुग्ने ठाउँमा सिक्का ब्याट्री, औषधि राख्नु हुँदैन।’ 

केही समयअघि मात्र ओपन हार्ट सर्जरी गरेको बिरामीबाट स्वस्थ बच्चा अपरेसन गरेर बचाउन सफल भएको घटना उनको २० वर्ष भन्दा लामो करियरकै बिर्सन नसक्ने घटना हो। यस्तो अवस्थामा बचाउन सफल हुँदा निकै खुसी लागेको थियो उनलाई।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live