नर्सिङ

होम डेलिभरी सेवा दिन नमान्ने रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै पाँच नर्स प्रहरी चौकीमा

नर्स मीरा  धिताल

काठमाडौं– होम डेलिभरिका लागि घर नआएको निहुँमा स्थानीयले पटक–पटक आक्रमण गर्न खोजेको भन्दै सुरक्षाका लागि पाँच जना नर्स गरुडा प्रहरी कार्यालय, रौतहट पुगेका छन् । केही समयअघि घरमै प्रसूती सेवा दिन इन्कार गरेको निहु बनाएर स्थानीय हरिनारायण गुप्ता लगायतको समूह आक्रमण गर्न आएको भन्दै रौतहटको गरुडा नगरपालिका अन्तर्गत कार्यरत नर्स मीरा धिताल लगायतका ४ जना सुरक्षा माग गर्दै बुधबार बिहानैदेखि प्रहरी चौकी पुगेका छन्। 

महम्मदपुर स्वास्थ्य चौकी वर्थिङ सेन्टरमा कार्यरत नर्स धितालले स्थानीय समुदाय र स्वास्थ्यकर्मीले आफूलाई सुरुदेखि नै होम डेलिभरीका लागि दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘घरमै सुत्केरी गराइदिन मलाई प्रलोभन देखाउनेदेखि धम्क्याउनेसम्म गरिन्थ्यो । स्वास्थ्य संस्थामै दिनहुँ ९\१० जना प्रसूति आउने र सरकारको होम डेलिभरी न्युनिकरण नीति विपरित काम भएकाले मानेकी थिइनँ ।’

मंगलबार पनि ९ जना डेलिभरीका लागि आएको तर आफू एक्लै भएकाले गम्भीरताका आधारमा सुत्केरी गराइरहे पनि बिरामी नहेरेको आरोपमा आक्रमण गर्न खोजिएको उनले  बताइन् । उनले भनिन्, ‘बढी गम्भीर बिरामी हेर्दै थिएँ । कम गम्भीरलार्इ कुर्ने भनेकी थिएँ । तर, उनीहरु घरतिर गएछन् । एक घन्टापछि बाटामै डेलिभरी भएर साल अड्किएको थाहा पाएपछि म गएर साल निकालेर सुत्करीको ज्यान जोगाएँ । तर स्थानीय हरिनारायण गुप्ता र उनका छोराले साेही विषयलार्इ लिएर लापरबाही भएको भन्दै आक्रमण गर्न लखेटे । म भागेर ज्यान जोगाउन सफल भएँ।’

गुप्ताले केही समयअघि आफ्नी बुहारीको होम डेलिभरी गरिदिन उनलाई भनेका थिए । तर, जटिल केस भएको भन्दै उनले स्वास्थ्य संस्थामै डेलिभरी गराउन सुझाएको बताइन्। 

असुरक्षा बढेको भन्दै स्वास्थ्य चौकी इन्चार्ज र नर्स धिताल जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । आफूले मात्रै नभइ रौतहटमा कार्यरत अरु नर्सले पनि उनले जस्तै दुव्र्यवहार, धम्की र  आक्रमण जस्ता घटना खेप्नु परेको उनले बताइन् । उनले भनिन्, ‘अरुले पनि काम असहज भएको गुनासो गरिरहनुभएको थियो । अहिले सुरक्षा बिना काम गर्न नसक्ने अवस्थामा पुगेका छौं।’

नर्सले अाशिकाले लेखेकाे निवेदन


मोहम्मदपुर स्वास्थ्यचौकीबाट मात्रै हरेक महिना एक सय भन्दा बढीले प्रसूति सेवा लिने गरेका छन् । २०७० सालदेखि उक्त स्वास्थ्य चौकीमा कार्यरत धितालले दिनरात नभनेर सेवा दिएको भन्दै २०७२\०७३ सालमा निजामति सेवा पुरस्कार दिइएको थियो। 

एक महिनाअघि रातैहटकै अर्को स्वास्थ्य चौकी रामपुरखापकी नर्स आशिका चर्मकारले स्वास्थ्य चौकीका ईन्चार्ज मो. अताउल्लाहले होम डेलिभरीका लागि दबाब दिएको भन्दै नगपालिकलाई निवेदन लेखेकी थिइन् । उनले फेसबुकमै पोष्ट गरेको उक्त निवेदनमा लेखेकी थिइन्, ‘मैले होम डेलिभरी सेवा दिन इन्कार गर्दा समितिका मान्छे बोलाएर दुव्र्यबहार गरियो । मान्छे ल्याएर कुटपिट गर्छु भन्दै धम्की दिइयो । सुरक्षा पाउँ।’

नर्स धितालले पनि कमिसन दिने प्रलोभन देखाउँदै एक ग्रास्वाकाले केही समयअघि डेलिभरी केस भए खबर गर्न भनेको धितालले बताइन् । उनले भनिन्, ‘आर्थिकोपार्जनका लागि यहाँका केही स्वास्थ्यकर्मीले घरमै प्रसूति सेवा दिने गरेका छन् । स्थानीय पनि सकेसम्म वर्थिङ सेन्टरमा आउन चाहदैनन् । यसले गर्दा हामी समस्यामा परिरहेका छौं ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Narendra bahadur thyayat लेख्नुहुन्छ असोज ४, २०७५ बिहिवार ०९:१०:५९
यस्ता कमिसन खोर incharge र धम्की दिने मानिस लाई कडा कर्बहिको साथै इमान्दार सच्चा देश भक्त नर्स लाई लोलुत छ यकजना नुर्से ले दैनिक 9/10जना delivery गराउनु भनेको चानचुने कुरा होइन तेस्तो सेवा गर्नेलाइ प्रोत्सान दिनु त कता हो कता उल्तै धम्काकाउने तेस्ता खाते धोती हरुको नातक हो यो सरकार ले करमचारी लाई सुरक्षाको ब्याबस्था गर्नु पर्छ

यसमा तपाइको मत




पढ्नै पर्ने