काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेज तथा डेण्टल कलेजहरुमा एमबिबिएस र बिडिएसका लागि यो शैक्षिक सत्रमा नयाँ विद्यार्थी भर्नाका लागि सिट संख्या सिफारिस भएको छ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले त्रिविमा सिट संख्या सिफारिस गरेको हो। आइओएमको २८ भदौमा बसेको फ्याकल्टी बोर्डले नेपाल मेडिकल कान्सिलमा सिफारिस गरेको हो। काउन्सिलको शुक्रबार बस्ने बैठकले उक्त विषयमा निर्णय गर्ने बताइएको छ।
आइओएमले यो वर्ष विवादमा आइरहेको जनकपुरस्थित जानकी मेडिकल कलेजको सिट निर्धारण गरेको छैन। उक्त कलेजको सिटको विषयलाई आइओएमले विचाराधीन अवस्थामा राखेको छ। यस्तै केडिया डेण्टल कलेजको सिट पनि विचाराधीन अवस्थामा राखिएको छ।
आइओएमले महाराजगन्ज चिकित्सा क्याम्पसमा यो वर्षदेखि बिडिएसका लागि पनि सिट सिफारिस गरेको छ। आइओएमले गत वर्ष नै उक्त कलेजमा बिडिएस अध्यापन गराउने तयारी गरेको थियो। तर, पूर्वाधार लगायतका कुरा नपुगेपछि अन्तिम समयमा निर्णय फिर्ता भएको थियो। यो वर्ष भने महाराजगन्ज क्याम्पसलाई बिडिएसमा २५ सिट सिफारिस गरिएको छ।
आइओएमले गत वर्षको तुलनामा यो वर्ष चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजको सिट संख्या थप सिफारिस गरेको छ। गतवर्ष तीनवटै कलेजले ९० वटा सिट पाएका थिए। यस वर्ष गण्डकीलाई ९५ र बाँकी दुईलाई भने एक सय सिट सिफारिस गरिएको छ।
बिडिएस तर्फ चितवन, किष्ट र युनिभर्सलको सिट संख्या भने घटाएर सिफारिस गरिएको छ। गत वर्ष यी तीनवटै कलेजले ५० वटा सिट पाएका थिए। यस वर्ष सबैलाई ४० सिट सिफारिस गरिएको छ।
कुन कलेजलाई कति सिट सिफारिस ?
१. महारागजन्ज क्याम्पस - एमबिबिएस ७६, बिडिएस २५
२. किष्ट मेडिकल कलेज - एमबिबिएस ९०, बिडिएस ४०
३. गण्डकी मेडिकल कलेज - एमबिबिएस ९५, बिडिएस २५
४. चितवन मेडिकल कलेज - एमबिबिएस १००, बिडिएस ४०
५. नेशनल मेडिकल कलेज - एमबिबिएस १००
६. नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान - एमबिबिएस १००
७. युनिभर्सल मेडिकल कलेज - एमबिबिएस १००, बिडिएस ४०
८. जानकी मेडिकल कलेज - एमबिबिएस बिचाराधिन
९. केडिया डेन्टल कलेज - बिडिएस बिचाराधिन
१०. पिपुल्स डेन्टल कलेज - बिडिएस ५०