काठमाडौं– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा हरीशचन्द्र उप्रेतीमाथि हातपात भएको छ। डा उप्रेतीमाथि प्रयोगशालाकै कर्मचारीहरुले हातपात र दुव्र्यवहार गरेका हुन्।
कर्मचारीहरुले निर्देशक उप्रेतीलाई कार्यसम्पादन मुल्यांकन फारममा आफूने भने अनुसारको नम्बर राख्न दबाब दिँदै आइरहेका थिए। डा उप्रेतीले दबाबको भरमा नम्बर नराख्ने बताएपछि कर्मचारीले आज दिउसो ३ बजे आक्रमण गरेका हुन्।
डा उप्रेतीका अनुसार कर्मचारीहरुले आफूखुसी कार्यसम्पादन मुल्यांकन फारममा नम्बर भरेर हस्ताक्षर गर्न भनिरहेका थिए। तर, नमानेपछि आक्रमण गरेका हुन्। डा उप्रेतीलाई कार्यकक्षमा नै कर्मचारीले थुनेपछि प्रहरी बोलाइएको थियो। प्रहरी आएको खबर पाएपछि आक्रमणकारी भागेका थिए।