काठमाडौं– लाइसेन्स परीक्षा पास नभएका एक व्यक्तिलार्इ सरकारले चिकित्सकको दर्जामा विभूषित गर्ने निर्णय गरेको छ। चिकित्सकीय अभ्यास अनुमति (लाइसेन्स) परीक्षामा उत्तीर्ण हुन नसकेका राम थापा क्षेत्रीलाई सरकारले प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गर्ने निर्णय गरेको हो।
लाइसेन्स परीक्षामा पटक–पटक सामेल भए पनि उनी अनुत्तीर्ण रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। तर क्षेत्रीले पदक भने ‘चिकित्सक’कै दर्जामा पाएका हुन्। सरकारले पदक पाउने दर्जा तोक्दा उनलाई चिकित्सक उल्लेख गरेको छ।
क्षेत्रीलाई धादिङ पुनःनिर्माण प्राधिकरणले पदकका लागि सिफारिस गरेको हो। चिकित्सकका रुपमा पदक पाउने क्षेत्री कानुनअनुसार चिकित्सकीय अभ्यास गर्न भने पाउँदैनन्। सोही मुद्दा उठाएर चिकित्सकहरुले विरोध गरेका छन्।
उनले चिकित्सकीय सेवा दिएकै कारण सम्मानित गरेको उल्लेख गर्दै युवराज सेढाईं नामका एक डाक्टरले फेसबुकमा लेखेका छन्, ‘लाइसेन्स नलिई बिरामी जाँच्नु गैरकानुनी हो कि होइन? गैरकानूनी हो भने चोरलाई चौतारो साधुलाई सुली?’
लाइसेन्स परीक्षा समेत उत्तीर्ण नभएका चिकित्सकलाई राजनीतिक तजबिजीका आधारमा पदक दिइएको भन्दै अन्य चिकित्सहरुले समेत विरोध जनाइरहेका छन्।
आफूलाई माओवादी निकट भएका कारण पदक पाएको आरोप लगाइएको क्षेत्रीले फेसबुकमा पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूले विभूषित गर्नुहुने घोषणा भएको पदक म माओवादी निकट भएका कारण पाएको भनेर समेत आरोप लगाए। त्यो पनि अरु कसैले होइन, मेरै चिकित्सा क्षेत्रका वरिष्ठ डाक्टरसाबहरुले।’
यसपल्टको मानपदवी पाउनेमा दुर्गममा डटिरहेका कुनै डाक्टर, नर्स र स्वास्थ्यकर्मी समेटिएका छैनन्। सिफारिस गर्नेहरुले योगदानका अाधारमा भन्दा पनि पहुँचका अाधारमा मानपदवी वितरण गरेको भन्दै विरोध भइरहेको छ।
क्षेत्रीले भने आफू ‘नेपालमा लिइने लाइसेन्स परीक्षामा असफल भएपनि शैक्षिक डिग्री डाक्टर टाइटल हासिल गरेको’ बताएका छन् । उनले भने, ‘मैले बंगलादेशको राजशाही विश्वविद्यालयबाट एमबिबिएस डिग्री हासिल गरेर डाक्टरको उपाधि प्राप्त गरेको हुँ । नेपालमा लिइने लाइसेन्स परीक्षामा असफल भएपनि शैक्षिक डिग्री डाक्टर टाइटल हासिल गरेको छु । स्वतन्त्र रुपमा बिरामीको जाँच उपचार नगरेको भएपनि सिनियर लाइलेन्स प्राप्त चिकित्सकको निगरानीमा घाइते बिरामीको उपचार व्यवस्थापन मात्र गरेका हुँ ।’
‘नेपाल मेडिकल काउन्सिल ऐन, २०२०( मिति २०७४ साल पौष मसान्तसम्म भएका संशोधन समेत मिलाइएको)’ले पनि एमबिबिएस पास गरेकालाई चिकित्सक भन्न नमिल्ने जनाएको छ ।
उक्त ऐनमा भनिएको छ, ‘चिकित्सक भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातकोपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ।’
काउन्सिलका एक अधिकारी यसलाई स्पष्ट पार्दै भन्छन्– व्यवसायमा लागेको व्यक्ति भन्नुको अर्थ लाइसेन्स लिएर काम थालेको भन्ने हुन्छ । काम थाल्नका लागि चिकित्सकीय अभ्यास लाइसेन्स परीक्षा पास गरेको हुनुपर्छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण धादिङका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेन्द्र केसीले क्षेत्रीलाई चिकित्सकीय योगदानका कारण पदकका लागि सिफारिस नगरिएको उनले स्पष्ट पारेका छन् । केसीले भने, ‘कसले कहाँ नियुक्त गरेर के काम गर्नुभयो मलाई थाहा छैन । सिफारिस गरिदिनु भनेर दुईचारवटा पेपर राखेर ल्याउनुभयो । त्यसैका आधारमा सिफारिस गरिदिएको हुँ । तर चिकित्सकीय सेवा दिए बाफत सिफारिस गरिएको होइन।’