प्रोफाइल

नेपालमा एनअाइसियुको जग बसाउने डाक्टर

डिबी खड्का

नेपाली चिकित्साका ऐतिहासिक अग्रज व्यक्तित्वको कथा उनिने स्वास्थ्य खबरको स्तम्भ ‘आत्मवृत्तान्त’का लागि डा रणेन्द्रप्रकाश बहादुर श्रेष्ठलाई सम्पर्क गर्दा उनको जवाफ थियो, ‘मैले त्यस्तो के गरेको छु र ?’ 

आफ्नो सामान्य कामलाई समेत असामान्य तरिकाले बजारीकरण गर्ने दुनियाँमा यी फरक पात्रको कथा उतार्नु नै थियो । किनकि इच्छाशक्तिकै बलमा नवजात शिशु उपचारमा नेपाललाई नयाँ युगमा प्रवेश गराउने श्रेष्ठको कर्मसंघर्ष धेरैका लागि प्रेरणा हुन सक्छ । स्रोत र साधनको अभावमा पनि २०४० भदौ १ गते कान्ति बाल अस्पतालमा नवजात शिशुका लागि विशेष उपचार सेवाको नेतृत्व उनैले गरेका थिए । त्यो समय उनी बालरोग विशेषज्ञका रुपमा कार्यरत थिए।

साउन १७ गतेदेखि उमेरले ७० पार गरिसके पनि उनमा जोसजाँगर घटिसकेको छैन । नेपाली चिकित्सामा ठूलो योगदान पुर्‍याएका उनी त्यसलाई स्वभाविक कर्म र व्यवसायिक धर्म ठान्छन् । त्यसैले उनी आफ्नो र आफ्ना कामको चर्चा उति रुचाउँदैनन्। 

तर, उनीसँगै काम समेत गरेका डा मणिन्द्ररञ्जन बराल र उनका चेला डा राजेन्द्र कोजु श्रेष्ठको कामको तारिफ गरेर थाक्दैनन् । 
उनले चर्चा नचाहँदा पनि बाल उपचार सेवा सुनौलो इतिहासमा अंकित भइसकेको छ। 

नवजात शिशुका रक्षाका लागि अहिले एनआइसियु अनिवार्य भइसकेको छ । हाल जिल्ला स्तरसम्म विस्तार भइसकेको यो सेवा २०४० सालअघि नेपालमा उपलब्ध थिएन । जन्मिनेबित्तिकै श्वास लिन गाह्रो हुने समस्या भएका धेरै नवजात शिशुले अकालमा ज्यान गुमाउँथे । बेलायतबाट बालरोगमा विशेषज्ञता हासिल गरेर फर्केका उनले उपकरणभन्दा आफ्नो अध्ययन र अनुभवलाई प्रयोग गरेर धेरै नवजात शिशुलाई जीवनदान दिए । नेपालमा बाल मुटुरोगको पहिचान गर्न सुरु गर्ने पनि उनै हुन्।

कान्ति अस्पतालमा उनले दुई दशकभन्दा बढी समय काम गरे । त्यहाँ रहँदा अर्को निजी अस्पतालमा संलग्न हुन चाहेनन् । ओपिडी सेवा क्लिनिकबाट दिए पनि खर्चिलो उपचार सेवाका लागि भने बिरामीहरुलाई आफू कार्यरत अस्पतालमै बोलाउँथे । नेपालका निजी अस्पतालले बिरामीसँग गर्ने आर्थिक व्यवहारप्रति उनको दृष्टिकोण सुरुदेखि नै वक्र थियो । 

कान्तिबाट २०६१ सालमा अवकाश प्राप्त गरेका उनलाई धेरै निजी अस्पतालले अफर गरे । उनी त्यसबेला चिकित्सकीय जीवनबाट विश्राम लिने मनस्थितिमा पुगिसकेका थिए । उनका चेलाहरूले सक्रिय जीवन टुंग्याउन दिएनन् । उनको ज्ञान र अनुभव हाल धुलिखेल अस्पतालले उपयोग गरिरहेको छ । केही वर्षअघि त्यहाँको एनआइसियु ‘सेटअप’ गर्न पुगेका डा श्रेष्ठ अहिले पनि हप्ताको दुई दिन सेवा दिन्छन् । 

बिग्रेको इन्क्युभेटर बनाएर शिशुको उपचार

बेलायतबाट बालरोगमा विशेषज्ञता हासिल गरेर आएका थिए, डा श्रेष्ठ । विशेषज्ञता हासिल गरेपछि केही समय त्यहीँ उपचार सेवा दिएका उनले नवजात शिशुको नयाँ तरिका र प्रविधिमा उपचार गरे । जब कान्ति बाल अस्पतालबाट सेवा दिन थाले, उपकरण र उपचार प्रणालीको अभावमा शिशुको ज्यान गइरहेको देखे । यसले उनलाई आफूले जानेको उपचार प्रणालीको विकास गर्न हौस्यायो । तर, भरखरै बालरोग विशेषज्ञका रूपमा अस्पताल प्रवेश पाएका उनका कुरालाई ग्रहण गर्ने कोही थिएन । कोही भए पनि उनले पहिचान गरिसकेका थिएनन्। 

यही क्रममा एकदिन तत्कालिन शाही नेपाली सेनाका एक चिकित्सकका नातिलाई उपचारका लागि ल्याइयो । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा मणिन्द्ररञ्जन बरालले बच्चाको अवस्था ‘सिरियस’ रहेको भन्दै उनलाई हेर्न भने । तर, डा श्रेष्ठले उपचारका क्रममा महसुस गरे– अब त यस्तो तालले हुँदैन। 

उपचारकै क्रममा एक जापानी स्वयंसेवकले अस्पताललाई इन्क्युभेटर दिएको तर बिग्रेर स्टोरमा थन्किएको जानकारी पाए । उनलाई त्यसलाई झिक्न लगाए । उक्त उपकरणको स्वीच सिस्टममा समस्या रहेछ । मर्मत गरेर इन्क्युभेटरको सहायताले ती शिशुको उपचार भयो । त्यहीबेला डा श्रेष्ठले मेसु डा बरालकहाँ प्रस्ताव लगे, ‘यस्ता खालका समस्या भएका नवजात शिशुको एउटा छुट्टै कोठामा उपचार गर्ने व्यवस्था गरौं।’ 

डा बराल राजी भएपछि २०४० भदौ १ गते सानो कोठामा चार बेडको नवजात शिशु उपचार युनिटको स्थापना भयो । उक्त युनिटमा दुई जना नर्स खटाइएको थियो । डा श्रेष्ठ सम्झिन्छन्, ‘उनीहरू हरेकले १२ घन्टा ड्युटी गर्थे । म २४ घन्टा जस्तो हुनुपथ्र्यो।’

एनआइसियु स्थापना गर्दा उल्टै विरोध
नयाँ उपचार प्रणालीको विकास गर्न डा श्रेष्ठलाई प्राविधिक रूपमा पनि मुस्किल थियो । उनलाई स्थापनामा प्राविधिक सहयोग गर्ने डाक्टर नभए पनि सैद्धान्तिक सहयोग मेसु डा बरालको निरन्तर रह्यो । ठूलो सोच र न्युन स्रोतसाधनमा थालिएको उक्त युनिटको उपचार सेवा भने प्रभावकारी बन्दै गयो। 

जापानिज राजनीतिज्ञ रियोतारो हसिमोतो त्यो समय नेपाल भ्रमणका लागि पटकपटक आइरहन्थे (जो पछि दुईपल्ट जापानको प्रधानमन्त्री बने) । होटेल शंकरमा बस्थे उनी  । उक्त होटेलका सञ्चालक रामशंकर श्रेष्ठ  कान्तिका अस्पताल विकास समितिका अध्यक्षसमेत थिए । हसिमोतो नेपाल आएका बेला अध्यक्ष श्रेष्ठ र मेसु डा बरालले अस्पतालको समेत भ्रमण गराए । ‘जुगाड गरेर नवजात शिशु उपचार युनिट खडा गरेको कुराले हसिमोतोलाई घत परेछ,’ डा श्रेष्ठ सम्झिन्छन्, ‘जापान फर्केपछि आफूले सहयोगका लागि पहल गर्ने वचन दिएर फर्किए।’

जापान पुगेपछि उनले वाचा पूरा गरे । जापान सरकारलाई सहयोगका लागि राजी गराएपछि कान्तिका लागि रकम आउने भयो । एनआइसियु र पिआइसियुका लागि चाहिने सामग्रीको सूची बनाउने काम डा श्रेष्ठको भागमा प¥यो । सोही अनुसार जापान सरकारलाई सहयोगका लागि आग्रह भयो तर अस्पतालमा कार्यरत अरू डाक्टरको भने यो प्रयासको विपक्षमा उभिए । डा श्रेष्ठ सम्झिन्छन्, ‘दुई–चार जना नवजात शिशुका लािग धेरै खर्च गरियो । महँगा सामान लिएर आइयो, जुन बिग्रेमा नेपालमा बनाउने मान्छे नै छैनन् भन्ने उहाँहरूले तर्क राखेर ‘द राइजिङ नेपाल’मा छपाउनुभयो ।’ 

विरोधका बाबजुद पनि मेसु डा बरालको समर्थनका कारण २०४२ सालमा कान्ति अस्पतालमा सुविधासम्पन्न एनआइसियु स्थापना भइछाड्यो । सुरुमा धेरै डाक्टरले एनआइसियुमा ड्युटी गर्न मानेनन् । उनलाई डा प्रकाशसुन्दर श्रेष्ठलाई साथ दिएपछि एनआइसियु सञ्चालनमा आयो। 

एनआइसियुको जिम्मा आफ्नो काँधमाथि आएपछि उनी त्यसैमा केन्द्रित भए । पेडियाट्रिक इन्सेटिभ केयर युनिट (पिआइसियु) निर्माण प्रक्रिया छुट्यो । त्यसका लागि आवश्यक उपकरण भने एनआइसियुसँगै आइसकेको थियो । ‘२०४८ सालतिर जापानिज संसदमा विश्वका विभिन्न ठाउँमा दिइएको सहयोग उपयोगमा नआएको विषयमा बहस भयो । जसले त्यसको उपयोग गर्न सकेको छैन, त्यसको सामान फिर्ता गरेर अर्कोलाई दिने निर्णय ग¥यो,’ डा श्रेष्ठले भने, ‘कान्तिमा पनि उनीहरू आएर रिसाउँदै दुई महिनाभित्र नबनाए अर्को सेन्टरलाई दिएर जाने बताए।’

कान्ति अस्पतालमा बैठक भयो । फिर्ता गए बेइज्जत हुने भन्ने सबै डाक्टरले बताए पनि पिआइसियु सेटअप गरेर सञ्चालन गर्न कोही अघि सरेनन् । त्यसपछि अस्पतालमै कार्यरत डा ज्योत्सना मास्केले डा श्रेष्ठलाई भनिन्, ‘तिमी नै यसको जिम्मा किन लिँदैनौ ?’ त्यसपछि बैठकले पिआइसियु बनाउने जिम्मा डा श्रेष्ठलाई दियो । उनले एक महिना नसकिँदै पिआइसियु सेटअप गरेर देखाइदिए । एनआइसियु र पिआइसियुपछि उपचारमा पाएको सफलताले अरू डाक्टरसमेत हौसिए । कुनै समय एनआइसियु र पिआइसियु बनाउनु खर्च मात्रै बढाउनु हो भनेर उनको विपक्षमा उभिएका डाक्टर समेत ‘हामीलाई पनि त्यहाँ काम गर्न दिनु’ भन्दै हाकिम गुहार्न थाले । धेरैलाई उनले एनआएसियु र पिआइसियुमा उपचार प्रक्रियाबारे सिकाए । तीमध्ये धेरै विदेश बसेको उनी बताउँछन् । 

नेपालमा बाल मुटुरोगको उपचार थालनी
एनआइसियु र पिआइसियुमा काम गर्न अन्य चिकित्सक पनि लालायित भएपछि उनको ध्यान बच्चाको मुटुतिर गयो । जन्मजात मुटुको समस्या रहेका बच्चाहरूको समस्या निदान नभएर यताउति भइरहेको धेरै देखे उनले । धेरैले यसरी दुःख पाइरहेको उनले टुलुटुलु हेरिबस्न उनको मनले दिएन । जापान सरकारले पहिलोपल्ट सहयोग गर्दा इको–कार्डियोग्राफी मेसिनसमेत दिएको थियो । त्यो कसैले चलाउन नसकेर यत्तिकै थन्किएको थियो। 

उक्त मेसिन झिकेर उनले चलाउन सुरु गरे । बच्चाको मुटु र टाउकोमा उनले इको गर्न सुरु भएपछि धेरैको समस्याको निदान भयो । कान्तिमा उनले बच्चाको मुटुको समस्याका लागि कार्डियो ओपिडी सुरु गरे । त्यो बाल मुटुरोगमा नेपालकै पहिलो थियो । गंगालाल हृदय केन्द्र सुरु भएपछि यहाँ समस्या पत्ता लागेकाहरूलाई त्यहाँ रिफर गर्न थालियो । यसलाई विस्तार गरेर पछि मुटु रोगी बच्चालाई भर्ना गरेर उपचार गर्नेसम्मको अवस्था डा श्रेष्ठको अगुवाइमा सिर्जना भयो। 

२०६१ सालमा कान्ति बाल अस्पतालबाट रिटायर्ड हुनुअघि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको बालरोग क्षेत्रको संयोजकका रुपमा काम गरे।

मुटुरोग विशेषज्ञ बन्न सरकार बन्यो तगारो
काठमाडौंको शान्ति निकुञ्ज हाइस्कुलबाट एसएलसी र पब्लिक सर्भिस कलेजबाट आइएसी गरेका श्रेष्ठले सन् १९६५ मा कोलोम्बो प्लान अन्तर्गत भारत, भुपालको गान्धी मेडिकल कलेजमा एमबिबिएस पढेका हुन् । पढ्ने क्रममा उनलाई मुटुरोगमा विशेषज्ञता हासिल गर्ने रहर जागेको थियो । एमबिबिएसपछि उनले त्यहीँ चिकित्सकीय अभ्यास सुरु गरेर पोस्ट ग्य्राजुएट गर्ने मनसाय बनाए । 
यही क्रममा एकदिन कलेजका डिनलाई तत्कालीन श्री ५ को सरकारले एउटा पत्र लेख्यो । पत्रमा व्यहोरा थियो, ‘हाम्रो विद्यार्थीको पढाइ सकिएर पनि त्यहाँ किन राखेको ?’ 

उनलाई चिन्ने कसैले शत्रुतापूर्ण व्यवहार गरेर उक्त पत्र लेख्न लगाएको थियो । पत्र प्राप्त भएपछि डिनले डा श्रेष्ठलाई विशेषज्ञ पढाउन असमर्थ भएको जनाउँदै दिँदै भने, ‘सरकारबाट ‘त्यहीँ बसेर विशेषज्ञता गरे पनि हामीलाई कुनै आपत्ति छैन’ भन्ने आसयको पत्र लिएर आएमा मात्रै पढाउन सकिन्छ।’

सरकारलाई डाक्टर आवश्यक रहेकाले त्यो आफूबाट पूरा गराउन खोजेको ठानेर उनी फर्किए । तर, नेपाल फर्केको सात महिनासम्म उनले जागिर पाएनन् । बल्लतल्ल टिबी प्रोजेक्टमा काम दिइयो । दुई वर्ष प्रोजेक्ट अन्तर्गत रही काम गरे । स्वास्थ्य सेवाका तत्कालीन महानिर्देशक गौरीशंकर लाल दासले कुष्ठरोग अन्तर्गत पोस्टिङ गरिदिए । तर, त्यहाँका हाकिमसँग उनी खुसी हुन सकेनन् ।
त्यहाँबाट उनलाई सरुवा गरेर सुदूरपश्चिमको डोटी जिल्ला अस्पतालमा जान भनियो । यो २०२७ सालतिरको कुरा हो । ‘काठमाडौंबाट जहाज चढेर धनगढी गएँ । त्यहाँबाट डोटी पुग्न ६ दिन लाग्थ्यो,’ उनले सम्झिए, ‘चामल ढुवानीका लागि डोटी गएका एक सैनिक जवानको सहयोगमा मात्र सजिलो तरिकाले पुग्न सकियो।’

डोटीका स्थानीयवासीमा स्वास्थ्य सम्बन्धी चेतनास्तर एकदमै न्युन रहेको उनले सुरुवाती चरणमै महसुस गरे । ‘त्यहाँका मान्छेहरू ट्याब्लेटलाई औषधि नै ठान्दा रहेनछन् । हरेक रोगको उपचारमा सुई लगाउनुपर्ने धारणा बनेको रहेछ । हामीले दिएको ट्याब्लेट त अस्पतालको चौरमै फालेर जान्थे,’ डा श्रेष्ठलाई सम्झना छ। 

त्यहाँ पनि उनले बन्द कोठामा थन्किएको एक्स–रे मेसिन सुचारु गरेर सेवा दिए । जापानिजहरू क्याम्प गर्न पुग्दा अस्पताललाई दिएको मेसिनको माइक्रोस्कोप बिग्रिएको थियो । उनले त्यसलाई बनाए । पछि उनी काठमाडौं जेल अस्पतालमा सरुवा भएर आए ।

गए डिसिएचका लागि, फर्किए एमआरसिपी गरेर 

यही बेला थप अध्ययनका लागि आवेदन खुल्यो । एमबिबिएस सकेको लामो समय भइसकेकाले उनमा जुन विषयमा भए पनि पढ्ने भन्ने मनसाय बनिसकेको थियो । उनले इंगल्यान्ड डिप्लोमा इन चाइल्ड (डिसिएच) हेल्थ गर्ने मौका पाए। 

जुन विषयमा पनि आफूलाई अब्बल प्रमाणित गर्ने उनको स्वभाव थियो । उनका  सिनियरहरू भन्थे, ‘डिसिएच तीन वर्षमा पास गर्न मुस्किल छ ।’ तीनवर्षे डिसिएच उनको लगावका कारण डेढ वर्षमै पूरा भयो । त्यसपछि उनले चाइल्ड ट्रपिकल हेल्थमा पनि डिप्लोमा गरे । यही क्रममा उनलाई लाग्यो– एमआरसिपी पनि ट्राई किन नगर्ने ? उनको प्रयास सफल भयो । उनले बेलायतबाट एमआरसिपी गर्ने मौका पाए। 

यही क्रममा उनले लन्डनभन्दा केही दुरीमा रहेको अस्पतालमा कम गरे । जहाँ उनको विकेन्ड ड्युटी धेरै लामो हुन्थ्यो । त्यो समय वरिष्ठ चिकित्सकहरू सबै विदामा बस्थे । वरिष्ठ चिकित्सक भएका अवसथमा पनि उक्त अस्पतालमा क्रिटिकल केयर चाहिने बच्चा लन्डन रिफर गर्ने प्रचलन थियो । एकपल्ट उनी चार वटा त्यस्ता बच्चाको उपचार गर्न सफल भएपछि अस्पताल आफैंले क्रिटिकल केयर युनिट सुरु गरेको उनी बताउँछन् । ‘म विकेन्ड ड्युटीमा थिएँ । चार वटा बिरामी बच्चा आएपछि रिफर गर्ने समय नै पाइनँ । सिनियरलाई फोन गरेर यहीँ उपचार थालेको बताएँ । उनले ‘हेरेर गर’ भनेपछि रिफर गरिनँ।’ 

त्यसअघि रिफर गरिने खालका केसको त्यहीँ उपचार हुने भएपछि अस्पतालले सेवा विस्तार ग¥यो । उनलाई क्रिटिकल अवस्थामा पुगेका शिशुको उपचार गर्ने अनुभवसमेत हासिल गरेपछि नेपाल फर्किए  । 

विशेषज्ञ बनेर फर्केपछि बेरोजगार
नवजात शिशुको उपचारका लागि चाहिने विज्ञता र अनुभव हासिल गरेका उनको सपना नवजात शिशुको उपचार केन्द्र स्थापना थियो । सरकारको छात्रवृत्तिमा पढेका कारण त्यस्तो सेवा सुरु गर्न सकिने अस्पतालमा आफ्नो पोस्टिङ होओस् भन्ने उनको चाहना थियो । उनले स्वास्थ्य मन्त्रालय पुगेर आफूले सिकेको सिप र देखेको सपना सुनाए । तर, उनको कुरामा कसैले वास्ता गरेनन् । उनी पढिरहेकै बेला उदयपुर सरुवा गरिएको थियो । ‘फर्केपछि हाजिर हुनै नदिएर आठ महिनाजति बेरोजगार बस्नुप¥यो,’ उनी भन्छन्, ‘म डाक्टर नै होइन कि जस्तो हुन थालिसकेको थियो ।’
उनले स्वास्थ्य सेवा विभागमा पुगेर विवाद नै गरेपछि कायममुकायम मेसु बनाएर सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइयो । मेसुका रूपमा प्रशासकीय काममा व्यस्त हुन थालेपछि उनलाई आफूले पढेको सिप प्रयोगमा नआएकोमा थकथकी भयो । ११ महिना त्यहाँ बसेपछि उनलाई कान्ति बाल अस्पताल सरुवा गरियो तर विशेषज्ञ चिकित्सकका रूपमा नभई मेडिकल अफिसरका रुपमा । केही महिनापछि विशेषज्ञमा बढुवा भए । त्यही अस्पतालबाट अवकाश लिए।

उनका चेलाहरूका अनुसार ‘जो बच्चा भए पनि आफ्नै ठानेर उपचार गर्नुपर्छ’ भन्ने उनको मूलमन्त्र हुन्थ्यो । चिकित्सकको मुख्य धर्म सेवा दिनुलाई मान्ने उनले कहिल्यै प्रशासकीय पदको लोभ गरेनन् । आफ्नो सिप ज्ञानलाई उपयोग गर्नु पहिलो धर्म बनाए । यसले उनको सार्वजनिक चर्चा कहिल्यै भएन तर चिकित्सा क्षेत्रमा नवजात शिशुको रक्षकका रूपमा उनको प्रशंसा सधैं भइरहन्छ । 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live