काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक र कर्मचारी बीचको विवाद थप जटिल बनेको छ । निर्देशक डा हरिश चन्द्र उप्रेतीले नियमित वृत्ति विकासको फाइल रोकेको विषयको विवाद बढ्दै जाँदा निर्देशक विरुद्ध कर्मचारी एकबद्ध भएका छन्।
निर्देशक डा उप्रेतीले लामो समयदेखि कार्यसम्पादन फाइल रोकेर कर्मचारीको वृत्तिविकासमा बाधा पु¥याउन खोजेका कारण आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेको कर्मचारीले बताएका छन्।
कार्यसम्पादन फाइल अघि नबढ्दा केही कर्मचारीको बढुवा नै रोकिने भएका कारण निर्देशक डा उप्रेतीकहाँ आफूहरु गुनासो गर्न पुगेको एक कर्मचारीले बताए । उनले भने, ‘हामीले कार्यकक्षमा ताला लगाएर आन्दोलन गर्न मात्रै खोजेका थियौं।’
आफूमाथि आक्रमण भएको बिहीबार डा उप्रेतिले बताएका थिए । कर्मचारीले कार्यसम्पादन फाइलमा आफूखुशी नम्बर भरेर ल्याएर सही गर्न दबाब दिएपनि आफूले नमानेपछि आक्रमण भएको उनको भनाइ थियो।
प्रयोगशालामा ६५ जना कर्मचारी कार्यरत छन् । तीमध्ये चारजनाको कार्यसम्पादन फाइल अघि नबढेका कारण बढुवामा असर पर्ने अवस्था सिर्जना भएको प्रयोगशालाका एक कर्मचारीले बताए ।
साउनमै अघि बढ्नुपर्ने फाइल डा उप्रेती निर्देशक भएर आएको दुई महिनासम्म थन्किएपछि कर्मचारीहरु आक्रोशित भएका हुन् । एक वर्षभित्र सवैका कार्यसम्पादन फाइल अघि बढ्नुपर्ने हुन्छ । अहिले फाइल अघि बढ्नुपर्ने कर्मचारीहरुलाई रोकेर राखेपछि सवै कर्मचारी निर्देशकको विरुद्ध उत्रिएका छन्।
कर्मचारीले निर्देशक डा उप्रेतिमाथि पैसा असुलीका लागि फाइल अड्काउनेदेखि करार म्याद नथप्नेसम्म गरिरहेको आरोप लगाएका छन् ।