फिचर

परिवार नियोजनको पर्यायवाची


नेपाली शब्दकोषमा ‘कन्डम’को एउटा अर्थ ‘ढाल’ लेखिएको छ । त्यसैगरी ‘ढाल’को अर्थ खोज्दा पनि एउटा विकल्पमा ‘कन्डम’ छ । यसबाट पनि थाहा हुन्छ– ढालको चर्चा, लोकप्रियता र सर्वउपलब्धता। 

नेपालीमाझ चिरपरिचित परिवार नियोजनको साधन ढालका साथै प्यान्थर र डिजाएर, संगिनी सुई, आकस्मिक गर्भनिरोधक पिल्स इकोन, सुनौलो गुलाफ र निलोकन ह्वाइट, झाडापखालाका लागि नवजीवन र सुत्केरी सामग्री नेपाल सिआरएस कम्पनीका सामग्री हुन्। 
 
‘सोसियल हर्ट विथ बिजनेस माइन्ड’लाई आधारभूत सिद्धान्त बनाएर ४० वर्षदेखि नेपालका दुर्गम क्षेत्रमा यी सामाग्री पुर्याइरहेको छ सिआरएसले । नेपालको सन्दर्भमा उत्कृष्ट सामाजिक बजारीकरणको नमुनाका रुपमा यसलाई लिन सकिन्छ। ढाल अर्थात् रक्षकका रुपमा ब्रान्डिङ भएको कन्डमलाई युद्धको समयमा जोगिन प्रयोग गरिने ढालको नाम दिइएको हो । कम्पनीका बजार निर्देशक राजेश भगत ढाल नाम रहनुको कथा यसरी प्रस्तुत गर्छन्, ‘कन्डमको नेपाली नामका लागि सार्वजनिक आह्वान गरिएको थियो । यही क्रममा विभिन्न नाम आएका थिए । तीमध्ये एकजना झापाको र अर्को दाङको मान्छेले ढाल सुझाएका थिए । यस्तो नाम सुझाएबापत् उनीहरुलाई त्यो समय २ सय ५० रुपैयाँका दरले नगद पुरस्कार दिइएको थियो।’

कम्पनीले विशेषगरी परिवार नियोजन र यौनरोग नियन्त्रणका क्षेत्रमा प्रभावकारी भूमिका खेलिरहेको छ । उत्पादन लागत भन्दा निकै कममा उपभोक्ताको दैलोसम्म परिवार नियोजनका अस्थायी सामाग्रीहरु उपलब्ध गराइरहेको छ । सँगै सर्वसाधरणलाई महसुस गराइरहेको छ, यो निःशुल्क होइन । ‘थोरै भए पनि पैसा परेको कुरालाई महत्व दिइने भएकाले यस्तो तरिका अपनाइएको हो,’ कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेल भन्छन् । उनका अनुसार नेपाल सरकारका निःशुल्क कार्यक्रम प्रभावकारी नहुनुको एउटा कारण यसलाई महसुस गरेर सिआरएसले थोरै रुपैयाँमा किनाउने रणनीति लिएको हो।

बजारमा उपलब्ध ढालको लागत ८ रुपैयाँ ६८ पैसा भए पनि उपभोक्तासँग रु १ मात्रै लिने गरेको छ । हालसम्म सिआरएसले कन्डम मात्रै ३२ करोड ८० लाख २८ हजार ४ वटा बेचिसकेको छ । यसको अर्थ त्यतिपल्ट जोडीलाई अनिच्छित गर्भ रहन र यौनजन्य रोगको संक्रमणबाट जोगाएको छ भन्ने अर्थ लाग्छ । यसैगरी पिल्स २६ करोड ८८ लाख ८ हजार ४ सय २४, संगिनी ८५ लाख ८० हजार ९२, आइयुसिडी ३५ हजार ९ सय ६२, इम्प्लान्ट १८ ४ सय ८२ र ई–कोन ३७ लाख २१ हजार ७ सय २० बिक्री–वितरण गरिसकेको छ । यसबाहेक यौनजन्य रोग, परिवार नियोजनलगायतका विषयमा जनचेतना फैलाउने काम समेत यसले गर्दै आएको छ।

सिआरएसले कन्डम तीन प्रकारका उत्पादन गरिरहेको छ । त्यसमध्ये ढाल  ग्रामीण भेगलाई केन्द्रित गरेर वितरण गरिन्छ । जसको मूल्य एकदमै कम राखिएको छ । अर्धसहरी बस्तीलाई लक्ष्य गरेर प्यान्थर र सहरी क्षेत्रका लागि डिजाएर बनाइएको छ । यसैगरी ग्रामीण क्षेत्रका लागि सुनौलो गुलाफ र शहरी क्षेत्रका लागि निलोकन ह्वाइट छन् । यसको गुणस्तरका हिसाबले भन्दा पनि कम रुपैयाँले कमसल नै सामान आउने सोचका लागि फरक उत्पादन गरिएको बजार निर्देशक भगत बताउँछन्।

छुट्टै पहिचान सहितको निजी स्वास्थ्य क्षेत्रको अग्रणी कम्पनीका रुपमा आफूलाई स्थापित गरेको सिआरएस १९७८ प्रोजेक्टका लागि सुरु भएको हो । सुरुका कार्यक्रम नेपाल सरकारकै मातहत रहेर गरेको थियो । तर, सन् १९८३ मा गैरनाफामूलक निजी कम्पनीमा दर्ता भयो । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसआइडीले परिवार नियोजनका क्षेत्रमा यसलाई सहयोग ग¥यो । सन् १९९४ ढाल र गुलाफको उत्पादन थाल्यो । पछि गएर त्यो सुनौलो गुलाफ भयो। 

त्यसपछि डिपो प्रोभेरालाई संगिनी सुईका रुपमा यसले वितरण थाल्यो । यो सुई गुणस्तरका लागि ढुक्क पार्दै निजी क्षेत्रमा विश्वमै पहिलोचोटी वितरण गरिएको थियो । काठमाडौंबाट सुरु भएको संगिनी सुई सेवा अहिले नेपालका ७७ जिल्लामा उपलब्ध छ । तालिमप्राप्त स्वास्थ्यकर्मीले यो सुई दिने गरेका छन् । तालिम पनि सिआरएसले नै दिने गरेको छ।  

सन् १९९७ मा नवजीवन र गुलाफमा लाग्ने खर्च जर्मन विकास बैंकले बेहोर्‍यो । नाम सुनौलो गुलाफ रह्यो।
 
सुरुमा युएसएआडीसँग सिआरएसले सहयोगी संस्थाका रुपमा करारमा काम गरेको थियो । युएसआइडीले योजना बनाउने र त्यसलाई सिआरएसले लागू गर्ने गथ्र्यो तर सन् २०१० मा सिआरएसले घरघरमा स्वास्थ्य (जिजिएमएस) कार्यक्रम नै जित्यो । त्यसपछि भने सहयोगी होइन, कार्यक्रमको हिस्सेदारकै रुपमा सिआरएसले काम गरिरहेको छ। 

बजार निर्देशक भगत भन्छन्, ‘त्यसपछि हामीले कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याउने र त्यसका लागि आवश्यक रकम युएसआइडीले उपलब्ध गराउने सम्झौता भयो ।’ सन् २०१५ सम्मका लागि रहेको यो कार्यक्रम सिआरएसले प्रभावकारी रुपमा सञ्चालन गरेकाले थप पाँच वर्ष थपिएर सन् २०२० सम्म पुगेको छ। 

जहाँ नाफामुखी संस्थाहरु पुग्दैनन्, त्यहाँ पुगेर सेवा दिनु नै सिआएरसको मुख्य उद्देश्य रहेको प्रबन्ध निर्देशक पोखरेल बताउँछन् । उनी भन्छन्, ‘९ रुपैयाँ पर्ने सामान त्यहाँ पु¥याउन १० हजार खर्च हुन सक्छ । तर, हामी पु¥याउँछौं ।’ पुग्न मुस्किल ठाउँमै सेवा पु¥याउने भएर सिआरएस निरन्तर लोकप्रियताको ग्राफमा उकालो चढिरहेको छ। 

सजिलै पुग्न नसकिने हिमाल–पहाडका गाउँमा मात्रै होइन, रीति–संस्कृतिका कारण परिवार नियोजनका साधनको प्रयोग गर्न हिच्किचाउने तराईका बस्तीहरुमा सिआरएसले पहुँच बनाएको छ । आमा समूह गठन गरेर, तालिम दिएर वा विभिन्न  शिक्षामूलक कार्यक्रम गरेर होस्, परिवार नियोजनसम्बन्धी चेतना फैलाइरहेको छ। 

नेपाल डेमोग्राफिक सर्वे– २०१६ अनुसार समग्र कन्डम खपतको ४५ प्रतिशत हिस्सा सिआरएसका उत्पादनले ओगटेका छन् । तर, यो कन्डम ग्रामीण इलाकामा पु¥याउन निकै सकस परेको थियो सिआरएसलाई । झण्डै ३० वर्षदेखि सिआरएसमा सेवा दिइरहेकी इन्दिरा चित्रकार पसलेले कन्डम राख्न नमान्नेदेखि कन्डम राख्नेमाथि हेर्ने गलत दृष्टिकोणकी साक्षी हुन् । 
रिसेप्सनिस्टका रुपमा सिआरएसमा प्रवेश गरेकी उनलाई समेत ‘ढालवाली’ भनेर जिस्क्याइन्थ्यो त्यो समय । उनी सम्झिन्छिन्, ‘एकपल्ट हाम्रो अफिसको सामग्री छपाइको अर्डर लिन प्रेसका मान्छे आएका थिए । मैले उनीहरुलाई अर्डर दिएर पठाएँ । बेलुकी भोटाहिटी हुँदै घर फर्किंदा ‘ढालवाली’ भनेर जिस्क्याए । लामो समय म त्यो बाटो नै हिडिनँ।’

नेपाल डेमोग्राफिक हेल्थ सर्वेअनुसार नेपालमा खपत हुने पिल्सको ५८.३  प्रतिशत सिआरएसको छ । त्यसैगरी ४५ प्रतिशत कन्डम र सुई लगाउनेमध्ये २५ प्रतिशतले संगिनी सुई लगाउँछन् ।
सिआरस कम्पनीको सेयर पनि छुट्टै प्रकारको छ । जहाँ स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाको २४.५ प्रतिशत, निजी क्षेत्र (भाजुरत्न इञ्जिनियरिङ एन्ड सेल्स, नेबिको प्रालि, सिजी फुड्स र नेपोथन प्रालि) को २७.४ प्रतिशत, पेसागत संगठन (नेपाल मेडिकल एसोसिएसन, नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन र नेपाल एअरलाइन्स) को २०.५५ प्रतिशत,   सामाजिक संगठनहरु (परिवार नियोजन संघ, समाज कल्याण परिषद्, नेपाल फर्टिलिटी केयर सेन्टर) को २०.५५ र नेपाल सिआरएस कम्पनीको प्रबन्ध निर्देशकको ७ प्रतिशत सेयर छ। 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Dharmpal Prasad Raman लेख्नुहुन्छ असोज १७, २०७५ बुधवार १३:५२:३१
सि आर एस लाई बधाई. लामो यात्रा र गुणस्तरीय कामको परिणाम हो यो. पहुँच कठिन भएको समुदाय र ठाउँमा समेत सेवा पुर्याउने लक्ष्य सफल होस्.

यसमा तपाइको मत




पढ्नै पर्ने