काठमाडौं— संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति नियम निर्माण, परिमार्जन, कर्मचारीको व्यवस्थापन लगायतका थुप्रै कामहरु गर्न बाँकी छ।
नयाँ सरकार गठन भएसँगै स्वास्थ्यका नीतिगत कामले गति लिने अपेक्षा कर्मचारीहरुले लिएका थिए।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गर्न आइपुगेका उपप्रधान मन्त्री उपेन्द्र यादवको कार्यशैलीले कर्मचारीहरुको उक्त अपेक्षामा निराशा ल्याउन थालेको छ।
जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान भने मन्त्रालयको काममा भन्दा विदेश भ्रमणमै बढी देखिएको छ।
यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीतिनियम परिमार्जनलगायतका सबै काम कछुवाको गतिमा अघि बढेको छ।
मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्याण्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन। बरु झन् निरन्तर बढ्दै छ।
भाद्र ११ र १२ गते भियतनामको हनोई सहरमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भाद्र १८ गते 11 संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे।
त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सकेनन्।
अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कार्यक्रममा जान नपाएका हुन्।
मन्त्री भएको करिब चार महिनाको अवधिभित्रको कार्यक्रममध्ये अमेरिकको भ्रमण रद्द भए पनि असोज अन्तिम सातादेखि मंसीरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भइसकेको छ।
तय भएका आगामी कार्यक्रम
यही असोज २३, र २४ मा लण्डन (अक्टोबर ८ र १० )
असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म टर्कीको आनटल्या ( १७ अक्टोबर देखि १९ अक्टोबर )
कार्तिक ८ र ९ मा काजकास्तानको अस्तानामा ( अक्टोबर २५ देखि २६ )
कार्तिक १३ देखि १५ मा जेनेभा (अक्टोबर ३० देखि सेप्टेम्बर १)
मंसीर २६ र २७ गते ( डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धीका विभिन्न कार्यक्रममा सहभागी हुने उनका कार्यक्रम तय भएका छन् ।
विदेश भम्रणमा राखेजस्तो दिलचस्पी मन्त्रालयका काममा नदिदाँ काम प्रभावित हुदैँ गएको कर्मचारीको भनाई छ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्, उहाँलाई निम्तो आएका हुन् तर एकै महिनामा २-३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका सबै काम प्रभावित भइरहेका छन्। यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्नेजस्ता महत्वपूर्ण काम सबै बाँकी नै छन्।’
संघीयतमा स्वास्थ्यका संरचना परिवर्तन भई बनेका नयाँ संरचनामा व्यवस्थापन गरिएका कर्मचारीले दशैं नजिकिसक्दा समेत तलब पाएका छैनन्। अर्थ मन्त्रालयसँग समन्वयकारी भूमिकामा उनी सक्रिय देखिएको छैन।
मन्त्रीलाई नै निमन्त्रण आएको भएपनि उनले आफ्ना प्रतिनिधीलाई पठाएर मन्त्रालयका अधुरा काममा तिव्रता दिनुपर्ने कर्मचारीको भनाई छ।
आफुकहाँ समस्या लिएर आउने स्वास्थ्यका कर्मचारीहरुलाई टेक्निलक कुरा नबुझ्ने भएकाले राज्यमन्त्रीलाई भेट्न जानु भन्ने जवाफ दिने गरेका छन्।
केही दिन अघि एचए र सिहेवको विवादमा उनले समस्यासहितको ज्ञापनपत्र बुझाउन गएका हेल्थ असिस्टेन्टहरुलाई आफुलाई टेक्निकल कुरा नबुझ्ने भएकाले राज्य मन्त्रीलाई भेट्न निर्देशन दिएका थिए।
राज्यमन्त्रीबाट समस्या सभाधान नभएपछि फेरि उनीहरु मन्त्रीलाई ध्यानाकर्षण गराउँन जाँदा उनले भेट्नै मानेनन्। उक्त समय स्वास्थ्यखबरकर्मी त्यही हुदाँ उनले राज्यमन्त्रीले जेजे भनेका छन् त्यसैमै सहमति मलाई भेटिरहनुपर्दैन भन्ने जवाफ निजि सचिवमार्फत पठाएका थिए।
मन्त्रालयका काम राज्यमन्त्रीको काँधमा थुपारे आफु भने विदेश भ्रमणमा जाँदा कर्मचारी काम अड्कीएर चिन्तित बनेका छन्।
स्वास्थ्यका विषयमा उठिरहेका विवाद, विषयमा समेत उनी मौन छन् । डा गोविन्द केसीको १५औँ अनसन होस् वा मुलुकी ऐनमा आपत्ति जनाउदैँ चिकित्सकले गरेको आन्दोलन होस् स्वास्थ्य मन्त्रीका हैसियतले उनले कुनैपनि आधारिक धारणा दिएनन्।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले अन्य राजनीतिक घटना सन्दर्भमा पनि यस्तो कुनै प्रतिक्रिया नदिई मौन बस्नुले सबैलाई चकित बनाएको छ।
मन्त्रालयका कर्मचारीसमेत सहभागी हुन मिल्ने कार्यक्रममा समेत आफै जाँदा मन्त्रालयको काम शून्य देखिएको छ भने आफ्ना मान्छेलाई काखी च्याप्दा उनका विभिन्न नियुक्ती, सरुवाका विषय विवादित बनेका छन्।
कर्मचारीलाई विदेश भ्रमणमा कडाई गर्न निर्देशिका ल्याएको सरकारले मन्त्रीको विदेश मोहलाई भने रोक्न नसकेको भन्दै मन्त्रालयमा सरकारको समेत आलोचना हुन थालेको छ।